राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवंगत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्त रूपमा दागबत्ती दिएका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए ।

नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले स्वर्गीय अधिकारीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौंको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जली दिएका थिए ।

जनताका मोहन अर्थात् भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । ०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचको एकीकरणमा उनले अहं भूमिका निर्वाह गरेका थिए । नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो । नेता अधिकारीले अर्थमन्त्री हुँदा ल्याएको ‘आफ्नो गाउँ आफँै बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।