ब्रेक अप र क्याप्टेनबीच प्रतिस्पर्धा

ब्रेक अप र क्याप्टेनबीच प्रतिस्पर्धा


फागुन १७ गते शुक्रबारदेखि नेपाली फिल्मीबजारमा दुई नयाँ चलचित्र रिलिज भएका छन् । चलचित्र क्याप्टेन र ब्रेक अफ एकसाथ शुक्रबारबाट नेपाली चलचित्र बजारमा आएका हुन् ।

अल्लारे उमेरमा हुने प्रेम र आपसमा मनमुटावपछि हुने विछोडलाई मुख्य विषय बनाएर उजागर गरिएको चलचित्र ब्रेक अपमा आसिरमानदेशराज जोशी नायकका रूपमा रहेका छन् भने नायिकाको रूपमा शिल्पा मास्के छिन् ।

रूपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक हेमराज बीसीको संयुक्त लगानी रहेको उक्त चलचित्रमा सरोज खनाल, रेसदास श्रेष्ठ, इच्छा कार्कीलगायतलाई पनि देख्न सकिनेछ । नरेन्द्र मैनालीको छायांकन तथा सुरेन्द्र पौडलको सम्पादन रहेको सो चलचित्रका अधिकांश दृश्य अस्टे«लियामा खिचिएका हुन् ।

यसैगरी शुक्रबारबाटै बजारमा आएको चलचित्र क्याप्टेनमा खेलकुलकै माध्यमबाटै पनि परिवार र देशको नाम राख्न सकिन्छ भन्ने विषयलाई उजागर गरिएको छ । क्याप्टेनमा अहिलेका नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीलाई नायिकाद्वय उपसना ठकुरी र प्रियंका एमभीले साथ दिएका छन् । जीवनमा कहिल्यै फुटबल नखेलेको बताउने नायक अनमोलले चलचित्रलाई सफल बनाउनकै लागि डेढ महिना फुटबलको अभ्यास गरेका थिए ।

सामीप्यराज तिमल्सिनाको पटकथा र सुदीप बरालको छायांकन रहेको क्याप्टेनमा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राईको पनि अभिनय देख्न पाइनेछ । चलचित्र क्याप्टेनको अझ मजबुत पक्ष भनेको कुनै समय चलचित्र क्षेत्रमा राज गरेका नायक–नायिका भुवन केसी र निरुता सिंहको पनि अभिनय रहेको छ ।

बजारमा दुवै चलचित्रले प्रतिस्पर्धा गरिरहेको बताए पनि कुन चलचित्र कति दिनमा हलबाट उत्रनेछ र कुन चलचित्र कति दिन हलमा टिक्नेछ त्यसका लागि केही समय भने प्रतीक्षा गर्नैपर्नेछ ।