दुई अमेरिकी विमान नेपाल आउँदै

दुई अमेरिकी विमान नेपाल आउँदै


अमेरिकाले नेपाललाई दुईवटा नयाँ ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउने भएको छ । अमेरिकी रक्षा विभागले जनाएअनुसार नेपाललाई उक्त स्काई ट्रक उपलब्ध गराउन ‘विगेष्ट पोलिस एयरक्राफ्टस’सँग सम्झौता गरिएको छ ।

१८.९ मिलियन अमेरिकी डलर (लगभग २ अर्ब १५ करोड) को उक्त सम्झौताबारे पेण्टागनले गत शुक्रबार (१ मे, २०१९) खुलासा गरेको हो ।

केही समयअघि नै भएको सम्झौताअनुसार अमेरिकाले दुईवटा विमान तत्काल उपलब्ध गराउन लागेको हो । बताइएअनुसार आगामी डिसेम्बर २० (पुष ५, २०७५) सम्ममा नेपाललाई विमान उपलब्ध भइसक्ने छ ।

नेपाली सेनाको प्रयोजनको निम्ति चारवटा विमान झिकाइने भनिए पनि तत्काल दुईवटा उपलब्ध गराइन लागिएको स्रोत बताउँछ । यसबारे नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेको छैन ।

डबल इञ्जिन भएको तथा पूरै धातुनिर्मित एम-२८ विमान ‘डबल भर्टिकल टेल’ र ‘रेअर क्लामसेल डोर’युक्त ‘कन्टिलिभर मोनोप्लेन’ हो । मिसन क्षमता, भारवहन शक्ति, सुरक्षा, स्वरुपलगायतमा अब्बल विशेषता भएको यो विमान गर्मी वा चिसो, वर्षात, जङ्गल, पहाड–मैदान जस्तोसुकै परिवेशको निम्ति उपयुक्त मानिन्छ । खासगरी नेपालजस्तो उच्च पहाडी भूभागका लागि यसको सेवा अनुकुल हुने बताइन्छ ।