ट्रम्पविरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसद, तर ट्रम्प भन्छन्– म निर्दोष व्यक्ति हुँ

ट्रम्पविरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसद, तर ट्रम्प भन्छन्– म निर्दोष व्यक्ति हुँ


अमेरिकी सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियरसहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरूले औपचारिक छानबिन गर्न लागेका हुन् ।

अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्गसमेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिए ।

संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यसमेत रहेका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अवरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताए । हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मूलरको समितिले पनि छानबिन गरिरहेको छ ।

धेरैजसो विश्लेषकहरूले राष्ट्रपति ट्रम्पविरुद्ध धेरैवटा संघीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउकोदुखाइको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरू खासगरी ट्रम्पका व्यवसायहरू तथा परोपकारी कार्यहरूका साथै कर छलीमा केन्द्रित भएका छन् ।

तर, ट्रम्पले लगातार संघर्ष गरिरहेका छन् र ट्विटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहेका छन् । ‘म निर्दोष व्यक्ति हुँ, तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरूद्वारा मविरुद्ध अत्याचार गरिएको छ,’ उनले ट्विट गर्दै पटकपटक भनेका छन् ।

ट्रम्पका पूर्व निजी वकिल माइकल कोहेनले पनि बुधबार संसदीय समितिसमक्ष लामो बयान दिएका छन् । सांसदहरूले हालसम्म सार्वजनिक नभएका अरू तथ्यहरू बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए ।

सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अवरोध गरेको देखिएको बताए । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नताबारे आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) समक्ष स्वीकारेका थिए ।

ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए ।

‘कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरू उजागर गर्नुभएको छ । यी कार्यहरू राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्,’ नाड्लरले बताए । ‘तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर, हामीहरू उपयुक्त अनुसन्धान प्रारम्भ गर्दै छौँ ।’