पाकिस्तान-भारत रेल सेवा पुनः सुरु

पाकिस्तान-भारत रेल सेवा पुनः सुरु


भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि पुनः सुरु भएको छ ।

दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको सम्बद्ध अधिकारीहरूले जानकारी दिएका हुन् ।

पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार विहान ११ः३० बजे अत्तारी रेल स्टेशन पुगेको सिन्ह्वाले जनाएको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको जनाएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।

सामान्यतया सोमबार र बिहिबार दुई देशबीचमा रेल सेवा संचालन हुँदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।

तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।