हालै गएको महाप्रलयकारी भूकम्पले राष्ट्र जबर्जस्ती पुनर्निर्माणको बाटोमा धकेलिएको छ । यतिबेला पुनर्निर्माण, नवनिर्माण वा कतैकतै त नयाँ नेपाल बनाउनेसम्मका गफ पनि निकै सुनिँदै छ । तर, नेपालका राजनीतिक दल र नेताहरू काममा भन्दा गफमा बढी रमाउँछन् भन्ने त नेपाली जनताले बुझिसकेका छन् । बाध्यता के छ भने काम गरे पनि नगरे पनि आखिरी जिम्मेवारी तिनीहरूकै हात छ, त्यसैले झिनो भए पनि त्यतैतिर फर्कन पर्ने स्थिति विद्यमान छ ।
कहालीलाग्दो धनजनको क्षतिलाई सम्झेर मात्रै भविष्यको गन्तव्य तय गर्न सकिँदैन । त्यसका लागि प्राथमिकताको आधारमा पुनर्निर्माणको गतिलाई तीव्रता दिनैपर्छ । विनाशकारी भूकम्पबाट प्रभावितहरूलाई ओत लाग्ने व्यवस्था सुनिश्चित हुन नसक्दा सबै पिरलोमा परेका छन् । यस्तो परिस्थितिलाई राज्यले कसरी सम्बोधन गर्ने हो त्यो पनि एउटा चिन्ताको विषय बनेको छ । महाविपत्तिको मौका छोपेर व्यापारीहरूले बजार भाउ अत्यधिक बढाएको समाचार दिनदिनै सुनिँदै छ । प्राकृतिक विपत्तिमा परेकोलाई आहत होइन राहत पु-याउने गरी आश्वस्त पार्नु जोकोहीको मानवीय दायित्व हो । त्यसैले फेरि पनि भन्नैपर्ने हुन्छ– विपत्तिको बेला कसैले लाभहानिको दृष्टिबाट नहेरी विशुद्ध मानवीय सेवामा लाग्नुपर्छ ।
यस्तो मानवीय सेवा गर्ने अवसर पनि विरलै आउने भएकाले यस्तो सेवाको अवसर गुमाउनु बुद्धिमानी ठहर्दैन । हरेक मानिसले इमानदार भएर छातीमा हात राखेर भनौँ त वास्तविक आनन्द र सन्तोष कहाँबाट आउँछ ? यसको जवाफ आफैँभित्रबाट खोज्न त्यति कठिन छैन । यदि कुनै व्यक्ति जसले आपत्तिमा परेका आफ्ना दाजुभाइलाई उद्धार र राहत गर्दा प्राप्त हुने सन्तोष र आनन्द अनुभूति कस्तो हुन्छ र तिनै आहत भएकामाथि मौका छोपेर नाजायज फाइदा लिँदा कस्तो अनुभूति होला सहजै अनुमान गर्न सक्छ । त्यसैले वास्तविक आनन्द र सन्तोषको खोजीमा कोही छ भने त्यसले मानव मात्रको सेवामा लाग्नु यतिबेलाको आवश्यकता पनि हो ।
सबैले भन्ने गर्दछन् शोकलाई शक्तिमा परिणत गर्नुपर्छ र चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ । तब मात्र मानिसले जस्तोसुकै शोक र पीडामा परे पनि या जस्तोसुकै चुनौतीलाई अवसरको रूप लिन सकिन्छ । यसरी नै दुनियाँका कति राष्ट्रहरू विकासको चुलीमा पुगेका छन् । जापान दोस्रो विश्वयुद्धबाट ध्वस्त भएर शून्यबाट उठेर कहाँ पुग्यो ? के हामीले त्यहाँबाट पाठ सिक्नुपर्दैन ? छिमेकी मुलुक भारतको गुजरातमा नरेन्द्र मोदी कसरी उदीयमान भएर आए, के नेपाललाई थाहा छैन ? अवश्य पनि यस्ता तथ्यबाट कोही नेपाली अनभिज्ञ छैनन् होला । त्यसकारण हामी नेपालीलाई आइलागेको यस विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिलाई पुनर्निर्माणको बाटोबाट पुँजी निर्माण गर्नुपरेको छ । मानवीय क्षति त अपूरणीय नै भयो । पूरा गर्न सक्ने अवस्था रहेन, तर शोकलाई शक्तिमा र प्राकृतिक विपत्तिले खडा गरेको चुनौतीलाई अवसरको रूपमा भने लिनैपर्छ । यस्तो अवसर हालका राजनीतिक दल, तिनका नेता र राज्यलाई मिलेको छ, मौका गुमाए चुनौती मात्र थुप्रो लाग्नेछन् ।
यही चुनौतीलाई अवसरमा परिणत गर्न काठमाडौं उपत्यकाको सन्दर्भमा आजभन्दा १०–१२ वर्ष पहिले नै प्रारम्भ गर्न खोजिएको प्रस्तावित बाहिरी चक्रपथलाई सक्रिय गराई निर्माणतर्फ दृढइच्छाशक्तिका साथ राज्य लागेको अवस्थामा निःसन्देह त्यसले निराश भएका उपत्यकावासीमा विकासको आशाको त्यान्द्रो पलाउँछ । विगतमा केही जातीयता र क्षेत्रीयतावादी चिन्तनबाट ग्रस्त विकासविरोधी सानो जत्थाका कारण स्थगित भएको प्रस्तावित बाहिरी चक्रपथको निरन्तता दिन अहिलेको अवस्था अवसरको रूपमा देखिएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी विकास विभागअन्तर्गत स्थापना भएको काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण आयोजनालाई आगामी आर्थिक वर्ष २०७२/०७३ मा यथेष्ट बजेट विनियोजन गरी उक्त आयोजनाको कार्यान्वयनमा सरकारको ध्यान जानु अनिवार्य देखिएको छ । हालैको भूकम्पका कारण अब मानिस सहरको भित्री गल्लीमा असुरक्षित ठानी मौजुदा चक्रपथबाट पनि अझै बाहिर गएर डेराडण्डा खोज्दै गरेको पाइन थालेको पनि ध्यान पु-याउनैपर्छ । बेलाबखत सरकारले काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउने चर्चा पनि गर्ने गर्दछन्, त्यही मेट्रो सिटी बनाउनैका लागि पनि पूर्वाधार विकास गर्नैपर्छ ।
प्रस्तावित बाहिरी चक्रपथ निर्माण मेट्रो सिटीको लागि पहिलो सर्त हुन सक्छ । मानिसको मनस्थिति सकारात्मक भएको यस क्षणमा सरकारको आँखा खुलेको खण्डमा बहुप्रतीक्षित काठमाडौं उपत्यकाबाहिरी चक्रपथ आयोजनाले गति लिने पक्का छ । राष्ट्र पुनर्निर्माणको प्रसङ्गमा देश एकताबद्ध हुन खोजेको छ । चार दिशा फर्केर बसेका राजनीतिक शक्तिहरू एकजुट भएको यो घडीलाई अवसरको रूपमा लिनैपर्छ । हिजोका दिनमा बाहिरी चक्रपथको कार्यान्वयन रोक्न सक्रिय भएकाहरू आज मुन्टो लुकाउने अवस्थामा छन् । त्यसैले न्यायपूर्ण तरिकाले आयोजना कार्यान्वयनको दिशामा अघि बढे बिनाबिघ्नबाधा काम हुन सक्छ । मेलम्ची खानेपानी र बाहिरी चक्रपथ काठमाडौं उपत्यका तीन जिल्लावासीका लागि बरदान सावित हुनेछ । यस्तो महान् कार्यमा राज्यसँग इच्छाशक्तिको खाँचो देखिएको छ । आम काठमाडौं उपत्यकावासीमा मात्र होइन, यो कार्यको सकारात्मक प्रभाव र सन्देश स्वदेशमा मात्र होइन विश्वभर सुगन्धित बास्नाजस्तो फैलिनेछ । यो चुनौतीको क्षणलाई अवसरमा परिणत गर्न सकेको खण्डमा मुलुकले गतिशील नेतृत्वको विकास गर्नेछ, त्यो अवसर वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले पाउनेछन् ।
संविधान निर्माण भई एउटा महत्र्वपूर्ण जिम्मेवारी पूरा हुनै लाग्दा अर्को महत्र्वपूर्ण कार्य अर्थात् काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माणको आधार तयार गर्न सके सुनमाथि सुगन्ध हुने थियो । इतिहासका निकम्मा र अक्षम प्रधानमन्त्री भनेर चिनिएका प्रधानमन्त्री सुशील कोइराला ठीक विपरीत वास्तविकमै महान् र ऐतिहासिक व्यक्तिको रूपमा स्थापित हुने सुवर्ण अवसर प्राप्त हुन लागेको छ । त्यसैले पुनर्निर्माणको एउटा पाटो बाहिरी चक्रपथ पनि हो भन्ने हेक्का राख्नैपर्छ । अब कोही पनि नेपाली एउटै गुजुल्टोमा गुजुल्टिएर बस्न उपयुक्त छैन भन्ने सन्देश विनाशकारी भूकम्पले दिएर गएको छ । यो सन्देशले अबका दिनमा काठमाडौं उपत्यकाका साँघुरा गल्लीमा निसास्सिएर बस्न कोही चाहँदैनन् भन्ने सबैले बुझेकै हुनुपर्छ । यदि कसैले मानिसलाई आफ्नो निहित स्वार्थ पूरा गर्न भेडोबाख्रो बनाउन खोज्छन् भने ती आफैँ नासिएर जान्छन् । तसर्थ अहिलेको विनाशकारी महाभूकम्पले जातीयता र क्षेत्रीयताको सङ्किर्ण घेरा तोडिदिएको अवस्थालाई मनन गर्दै काठमाडौं उपत्यकाको प्रस्तावित बाहिरी चक्रपथ निर्माणलाई अवसरको रूपमा लिनु सम्पूर्ण उपत्यकावासीको साझा आह्वान सम्झनुपर्छ । प्रस्तावित बाहिरी चक्रपथको निर्माण समयको हाँक हो, त्यसलाई सामना गर्ने अचुक अस्त्र पनि बन्न सक्छ उक्त आयोजना । विपत्तिको पीडालाई कम गर्न बाहिरी चक्रपथ निर्माण उपयुक्त अवसर र विकल्प पनि हो भन्नेमा विवाद वा बहस गरिराख्नै पर्दैन । अतः सरोकारवालाले काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै साङ्लोमा कस्ने सूत्रको रूपमा प्रस्तावित बाहिरी चक्रपथ निर्माण गर्न सके काठमाडौं उपत्यकाका लागि कोसेढुङ्गे सावित हुनेमा कुनै सन्देह नै रहँदैन ।
प्रतिक्रिया