यतिबेला विराट कोहली र अनुष्का शर्माको चर्चा पुनः चुलिएको छ । उनीहरूको चर्चा अन्य कुनै कारणचाहिँ आगामी जुनमा इंग्ल्यान्डमा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगिताका लागि बनाएको विशेष योजना नै हो । उक्त योजनाअनुसार विश्वकपमा विराट र अन्य भारतीय खेलाडीको हौसला बढाउन अनुष्का इंग्ल्यान्ड जानेछिन् । तर, विराटसँगै रंगशाला जाने र ट्राभलिङ गर्ने छैनन् । उनीहरूले यो योजना विश्वकपलाई मध्यनजर गर्दै बनाएका हुन् ।
अनुष्का र विराटले यो योजना मिडियाको नजरबाट बच्न बनाएका हुन् । अस्टे«लिया र न्युजिल्यान्डको भ्रमणका क्रममा विराट र अनुष्का एकसाथ देखिँदा त्यसबेला मिडियाहरूले उनीहरूलाई निकै सास्ती दिएका थिए । उनीहरूले थुप्रै तस्बिरहरू खिचेर विभिन्न वयानबाजी गर्दै खेलबाट ध्यान भड्काउन कोसिस गरेका थिए । पछिल्ला यिनै घटनालाई स्मरण गर्दै र विराटलाई आफ्नो खेलमा मात्र ध्यान केन्द्रित गर्न उनीहरूले यस्तो योजना बुनेका हुन् ।
योजनाअनुसार अनुष्का आफ्नै खर्चमा खेल स्टेडियम गएर खेल हेर्नेछिन् । साथै मिडियाबाट बच्दै विराटको हौसला बढाउनेछिन् । अनुष्काको एउटै चाहना छ– उनी यो विश्वकप विराटको कप्तानीमा भारतले जितोस् । यो विश्वकपमा विराट पहिलोपटक भारतीय क्रिकेट टिमको कप्तानी गर्दै छन् । अनुष्काको यो फैसलाको अहिले निकै प्रशंसा भइरहेको छ । उनको यो फैसलाले विराट आफ्नो खेलमा केन्द्रित रहने र उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विराट भारतीय टिमका कप्तान मात्र नभई उक्त टिमका मेरुडण्ड पनि हुन् । आउँदो विश्वकपमा विराटले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा सबै विश्वस्त छन् ।
प्रतिक्रिया