नेपाल प्रहरीको अवस्था अहिले अफ्रिकाका मैदानमा चर्ने ती विल्डिबिज भनिने गाईजस्ता प्राणी समान देखिएको छ जो सङ्ख्यामा हजारौँ छन् तर नाइल नदी तरेर खोलापारिको घाँसेमैदानमा चर्न जाने क्रममा थुपै्र गोहीको सिकार हुन पुग्छन् । थुप्रै बाघ, चितुवा, हाइहिनाका खाना बन्न पुग्छन् । सबैभन्दा दु:खद् पक्ष के छ भने नदी तर्ने क्रममा आ-आफ्ना ज्यानको मात्र चिन्ता गर्ने स्वभावका कारण थुप्रै विल्डिबिजहरू आफ्नै साथीभाइ र नातेदारबाटै कुल्चिएर मर्छन् । उनीहरू जात, आकार, प्रकार र वंशजमा उस्तै देखिए पनि हुलहुल हिँड्दा सँगै देखिए पनि जब कोही गोहीको मुखमा वा बाघ, चितुवाको मुखभित्र पर्छन् त्यतिबेला आफ्नै दौंतरीहरूले उसलाई बचाउन कुनै प्रकारका सामूहिक प्रयास गरेको देखिँदैन । सबका सब भागी मात्र रहेका हुन्छन् केवल आ-आफ्नो ज्यान जोगाउन । जो दु:खमा परेको हुन्छ ती विल्डिबिजमाथि अरू कुनै विल्डिबिजको सहानुभूतिसम्म पनि देखिँदैन । गोही वा बाघको कब्जामा फसेको एउटा विल्डिबिजले आँखाभरि आँसुपारि सहयोगका लागि अरू साथी र अफन्तलाई करुणामयी आँखाले हेर्दै सहयोगका लागि रुँदै याचना गरेको अरूका लागि कुनै अर्थ हुँदैन । त्यसैले रहेछ लाखौँ विल्डिबिजहरूको टाउकोमा जोडी-जोडी खतरनाक सिङ देखिए पनि एउटा चितुवाले निर्धक्कसँग छानेको विल्डिबिजमाथि सङ्कोचरहित ढङ्गले हुलभित्र पसी आक्रमण गर्न सक्दोरहेछ किनकि उसलाई राम्ररी यो कुरा थाहा रहेछ कि यी हुलमा देखिन्छन् तर यथार्थमा एक्लाएक्लै छन् ।
यस हप्ता सुडान काण्डमा आरोप लागेका धेरै प्रहरी अधिकृतको घरमा मातम छाएको छ । यस पवित्र सेवामा उनीहरूले आफ्नो जीवनको बहुमूल्य समय बिताए, हरेक नीलो लुगा लगाउनेलाई आफ्नै साथी ठाने तर अहिले तिनै नीलो लुगा लगाउनेहरू नै सुडान काण्डमा परेकाहरूबाट आफूलाई पदोन्नति र सरुवामा के फाइदा पुग्छ भनेर गणना गर्न नै व्यस्त देखिन्छन् ।
आफ्नै दौंतरीहरू जेल जानबाट जोगिन बाउबाजेको लालपर्ुजा खोज्दै हिँडेको दु:खद् अवस्था पनि बाँच्ने विल्डिबिजले मर्नेको वास्ता नगरेझैं प्रहरीमा पनि कुनै वास्ता वा संवेदनशीलता देखिएझैं देखिन्न । ठ्याक्कै विल्डिबिजको समूहझैं लाग्छ प्रहरी सङ्गठन । जे होस्, विल्डिबिजहरूले षड्यन्त्र गरेर आफ्ना सदस्यहरूलाई बाघ वा गोहीको मुखमा धकेलेको भने देखिएन तर प्रहरीमा भने यो काम गरेको देखियो ।
एक विधिको शासन भएको मुलुकमा सरकारप्रमुखमाथि पनि कारबाही हुन सक्छ । तर, हालै एमाले समर्थित परशुराम नामका एक युवकमाथि गम्भीर फौजदारी आरोप लागिसक्दा पनि उनका सङ्गठनका सदस्यले ती युवालाई बचाउन प्रयास गरेकै देखिए । माओवादीमाथि हत्याको आरोप लाग्दा पनि सङ्गठनले मन्त्री बनाएर फौजको कमान्डर वा सभासद् नै बनाएर ऊसँग सङ्गठन पछाडि छ है भनेर आभाष दिलाएको देखियो । न्यायालयको अधिकार संसद् वा संविधानसभामा लैजान खोज्दा न्यायाधीशहरूबाट विरोध भएको देखियो । वकिलका लागि वकिल बोलेका छन्, पेट्रोल बोक्ने ट्याङ्कर वा माइक्रो, ट्याम्पो चालकहरूलाई आपत्-विपत् पर्दा अरू तिनका साथीहरू उसलाई साथ दिन अगाडि आएका छन्, सिटौलालाई जोगाउन सुजाता र रामशरण महत अगाडि आएका छन्, निजामती कर्मचारीका लागि अर्का निजामती कर्मचारी बोलेका छन् । मैले भन्न खोजेको आफ्नो समूह खतरामा पर्दा तिनका परिवार वा सङ्गठनका समूहहरूले साथ दिएको देखिन्छ । तर, यसै क्रममा प्रहरी एउटा यस्तो समूह देखिएको छ जो आफ्ना समूहको मृत्युमा उसको शरीरलाई होइन वल्की फुली कसरी झिक्ने र आफूले लगाउने ? भन्ने ताकमा मात्र भएझैं देखिन्छन् । सङ्कटमा भएको साथीप्रति तिनका साथीको कुनै सहानुभूति देखिँदैन । आजभोलि यस्तो दृश्य देख्दा मलाई दु:ख लाग्न थालिरहेको छ किनकि जुन सङ्गठनमा मैले पनि चौबीस वर्ष बिताएँ, जहाँ म नीला लुगाको समूहमा दिल खोलेर हाँस्दथे, एक-अर्काको ज्यान जोगाउन आफ्नो ज्यान बलि चढाउन सधैं तयार रहन्थे ? आखिर त्यो सङ्गठनका सदस्य कसरी यतिसम्मको स्वार्थी हुँदै गए -। किन उनीहरू आफ्ना साथीहरूलाई आपत्-विपत् पर्दा कस्तो छ तिमीलाई भनेर सोध्नेसम्म पनि नगर्ने भए –
हो, भगवान्को पालादेखि नै आपत्-विपत् आउने गर्छन् । हामी जसलाई भगवान् भन्छौँ तिनको जीवनमा पनि अनेकौँ आपत्-विपत् आएका छन् । भगवान्का पालादेखि नै अपराध गरेर मात्र होइन नगर्दा पनि परिबन्धमा पारिएका छन् । त्यस्ता घटना-दुर्घटना अनन्त कालदेखि चल्दै आएका छन् र चलि पनि रहेछन् । त्यो आफ्नो ठाउँमा छ । आपत्-विपत्, आरोप/प्रत्यारोप राजा, प्रधानमन्त्री न्यायाधीश, प्रधानसेनापति, अख्तियार प्रमुखलगायत व्यापारी, कर्मचारी, मुख्यसचिव, सचिव सबैलाई आएको छ । त्यस्तै आपत्-विपत् प्रहरी कर्मचारीलाई पनि आउन सक्छ किनकि उनीहरू पनि यही समाजका हिस्सा न हुन् । अहिले सुडान घटनाले पनि केही प्रहरीको जीवनमा आपत्-विपत् ल्याएको छ । त्यसमा अख्तियारले आफ्नो कर्तव्य पालना गर्यो, अदालतले आफ्नो धर्म निभाउनेछ, वकिलहरूले आफ्नो दायित्व पूरा गर्नेछन् । त्यो एक प्रक्रिया हो तर कुनै प्रहरीप्रमुखलाई आपत् पर्नेबित्तिकै हिजोसम्म तिनका आशीर्वाद लिन म तपाईंकै भक्त हँु भनेर बिहान-बेलुका चाकडीमा व्यस्त हुने अधिकृतहरू स्यालको सिङ्ग हराएझैं उसको सम्पर्कबाट गाएव हुन जरुरी छ –
के कुनै हिजोसम्मको साथीलाई आपत् पर्यो भन्नेबित्तिकै फोनसम्म पनि नगरी म त्योभन्दा इमानदार रहेछु भनेर गर्व गर्नुपर्ने जरुरी छ ? के हिजोसम्मको समान नीलो लुगा लगाउने मित्रलाई आपत्-विपत् पर्यो भन्नेबित्तिकै त्यसलाई चिन्दै नचिनेझैं गर्नु जरुरी छ ? मेरो विचारमा छैन । उसले यदि पाप गरेको छ भने अदालतबाट सजाय होला त्यो आफ्नो ठाउँमा छ । तर, कसैले सजाय पायो वा पाएन अथवा कसैमाथि आरोप लाग्यो वा लगाइयो भनेकै भरमा हिजोसम्मको साथीलाई बिर्सन, भुल्न, त्यसको विरोध गर्न वा त्यसको अपमान गर्न कुनै जरुरी छैन । यस्तो व्यवहार गर्ने कायर तथा स्वार्थी साथी र सङ्गठनका सदस्यबाहेक अरू केही हुन सक्दैन । आज प्रहरी सङ्गठनका कर्मचारी यस्तै स्वार्थी र कायर भएकै कारणले होला कसैलाई कसैमाथि विश्वास छैन । कोही कसैको भलाइ चिताउन सकिरहेको छैन । कोही कसैको असल कार्यको तारिफ गर्न सकिरहेको छैन । यहाँ केवल डर, त्रासर्,र् इष्र्या र बदला मात्र छ । त्यो स्वार्थ अरू कसैमाथि नभई एक प्रहरीको अर्को प्रहरीमाथि छ । त्यो डर अरूबाट नभई प्रहरीबाटै उब्जेको छ । म बुझन सकिरहेको छैन कि समूहमा काम गर्नुपर्ने प्रहरीहरू किन यसरी व्यक्तिवादी र अवसरवादी भइरहेका छन् ?
म भन्छु एक प्रहरीको अर्को प्रहरीमाथि स्नेह, माया, दया र श्रद्धा हुनुपर्छ । कुनै प्रहरीको जीवनमा दु:ख-सुख आउँछन् त्यो उसले आफ्नो कर्मको भोग भोग्ला तर प्रहरीको आपसी प्रेममा त्यसले दखल पुर्याउनु हुन्न । एक तह पदोन्नतिका लागि आपत्मा परेका अर्का साथीको फुली खोस्नु जरुरी होइन । भगवान्ले जसलाई पुर्याउनु छ त्यसलाई त्यहाँ पुर्याउनुहुनेछ । प्रहरीहरूमा एक-अर्काप्रति श्रद्धा, माया हुन जरुरी छ । म देख्दै छु लोप हुँदै छ त्यो श्रद्धा ।
प्रतिक्रिया