अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या दोब्बरले वृद्धि

अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या दोब्बरले वृद्धि


गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ । मेक्सिको–अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका हुन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलिन्यानले अमेरिकी सीमा सुरक्षा निकायमा अहिले स्रोतसाधनको कमी भएको बताए । उनले मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको र ती ठाउँबाट गैरकानुनी रूपमा मानिस अमेरिका प्रवेश गरिरहेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा व्यवस्थापनलाई कडाइ गर्ने प्रतिबद्धता जनाएर सीमामा बलियो पर्खाल बनाउने विवादास्पद योजना अघि सारेका छन् । तर, त्यस योजनामाथि अमेरिकी संसद, अदालत र विपक्षीमा सहमति हुन सकेको छैन ।

सीमा निगरानी थुनामा दुई बालबालिकाको मृत्यु भएपछि भन्सार तथा सीमा सुरक्षा निकायले स्वास्थ्य जाँचमा कडाइ गरेको छ । म्याकअलिन्यानले टेक्सासको एल पासोमा आप्रवासीका लागि नयाँ प्रशोधन केन्द्र खोल्न लागेको जानकारी दिए । यो केन्द्रमा परिवार र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिनेछ ।

सीमा सुरक्षा अधिकारीहरूका अनुसार हरेक वर्ष अवैधानिक रूपमा अमेरिका प्रवेश गर्न चाहने करिब चार लाख आप्रवासीलाई पक्राउ गरिएको थियो । सन् २००० मा भने १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो । पक्राउ परेका अधिकांश मानिसमा मेक्सिकोका एकल पुरुष थिए । तर, आजभोलि अधिकांश आप्रवासी मध्य–अमेरिकाका परिवारहरू रहेका छन् ।

गत अक्टोबरयता सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको छ । अक्टोबरदेखि सेप्टेम्बर २०१८ सम्मको अवधिमा पनि त्यत्तिकै संख्यामा परिवारलाई नियन्त्रणमा लिइएको थियो । दशौँ हजार बालबालिका एक्लै अवैध रूपमा अमेरिका छिरेका छन् ।

भन्सार तथा सीमा नियन्त्रण निकायले पछिल्लो समय आप्रवासीमाथि कमभन्दा कम बल प्रयोग गर्न थालेको जनाएको छ । सन् २०१८ मा १५ पटक मात्र सुरक्षा बलले हतियार चलाएको छ । सन् २०१२ मा ५५ पटक हतियार प्रयोग भएको थियो ।