चीनको आयात–निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्त राज्य अमेरिकासँग व्यापारयुद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो ।
यस वर्ष चीनको कुल वैदेशिक ढुवानीमा २०.७ प्रतिशतले कमी आएको छ भने आयात पनि ५.२ प्रशितले घटेको छ । ‘पछिल्ला तथ्यांकले चीनको व्यापार मन्दी देखा पर्न थालेको प्रस्टै संकेत गरेको छ,’ एएनजेड बैंकका रेमन्ड युङले बताए । ‘यो मन्दीबाट तत्काल माथि उठ्न चीनलाई निकै कठिन हुनेछ ।’
हालैका आर्थिक विवरणहरूले सन् २०१८ का अन्तिम तीन महिनामा चीनको आर्थिक वृद्धि ६.४ प्रतिशतको हाराहारीमा रहेको थियो । जनवरीमा मुलुकको औद्योगिक क्षेत्र निराशाजनक अवस्थामा थियो भने फेब्रुअरीमा कारखानाको उत्पादनमा तीन वर्षयताकै सबैभन्दा कमजोर स्थिति देखिएको थियो ।
चीनका प्रधानमन्त्रीले मंगलबार बेइजिङमा जारी वार्षिक कंग्रेस बैठकमा यस वर्षका लागि आर्थिक वृद्धिदर ६ देखि ६.५ प्रतिशत रहने अनुमान प्रस्तुत गरेका थिए । सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । प्रधानमन्त्रीको प्रस्तावमा आर्थिक मन्दीविरुद्ध लड्न कर कटौती गर्ने, शुल्क घटाउने तथा खुकुलो मौद्रिक नीति अवलम्बन गर्ने योजना समेटिएको छ ।
युरोपेली केन्द्रीय बैंकले समेत सन् २०१९ का लागि युरोपेली क्षेत्रको आर्थिक वृद्धिको लक्ष्यलाई घटाएको छ । विश्वभर उत्पन्न राजनीतिक जोखिम तथा व्यापार विवादले आफ्नो प्रक्षेपणमा कमी ल्याउनु परेको बैंकको भनाइ छ । अमेरिकासँगको व्यापार विवादका कारण बजारमा अन्योल उत्पन्न भएपछि गत महिना अमेरिकासँगको व्यापारमा २९ प्रतिशत घटेको हो ।
वासिङटन र बेइजिङले गत वर्ष एक–अर्का मुलुकविरुद्ध ३६० अर्ब अमेरिकी डलरभन्दा बढीका एक–अर्काका सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए । गत वर्ष अमेरिकाको चीनसँगको व्यापार घाटा ४१९ अर्ब डलर पुगेको थियो ।
प्रतिक्रिया