फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ ।
सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर (१५ अर्ब युरो) उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । कुल लगानीको एकतिहाइ हिस्सा निजी क्षेत्रले लगानी गर्नेछ । दुईतिहाइ हिस्सा भने ऋण लगानी हुनेछ ।
‘विस्तृत वित्तीय विवरणमा आगामी ६ महिनाभित्रै सहमति जुटाइनेछ,’ फिनइस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिनइस्टले सुरुङ निर्माणका लागि शुरुमा करिब १५ देखि २० अर्ब युरो लाग्ने अनुमान गरेको थियो ।
फिनइस्टले डिसेम्बर २०१८ मा दुबईस्थित निर्माण कम्पनी एआरजे होल्डिङबाट १० करोड डलर प्राप्त गरेको थियो भने युरोपेली लगानीकर्ताका निम्ति पनि बाटो खुला गरिएको छ । ‘अब वित्तीय स्रोत जुटेको छ, काम अघि बढ्छ,’ परियोजनाका नेतृत्वकर्ता पिटर भस्टरबाकाले बताए ।
फिनल्यान्ड र इस्टोनियाले वर्षौंदेखि दुई देशबीचको राजधानीलाई जोड्ने प्रयत्न गरेका थिए । यी दुई राजधानीलाई गल्फ अफ फिनल्यान्डले छुट्याएको छ । दशौँ हजार इस्टोनियाली हेल्सिन्कीमा काम गर्दछन् । उनीहरूलाई सप्ताहान्तमा घर जान समुद्री मार्ग प्रयोग गर्नुपर्दछ । फिनिस नागरिकका लागि टाल्लिन एउटा निकै लोकप्रिय गन्तव्य पनि हो । सुरुङ निर्माणबाट यात्रा समय करिब २० मिनेट मात्र हुनेछ जब कि हाल फेरिबाट यात्रा गर्दा दुई घन्टाभन्दा बढी लाग्ने गरेको छ ।
दुबै मुलुकबाट गरिएको सम्भाव्यता अध्ययनमा करिब १०० किलोमिटर लामो यो सुरुङ सन् ०४० सम्ममा निर्माण सम्पन्न हुने जनाइएको थियो । तर, भस्टरबाकाले सुरुङ निर्माणकार्य सन् २०२४ भित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
यो परियोजनालाई दुवै मुलुक र युरोपेली युनियनबाट पूर्ण समर्थन प्राप्त भइसकेको छैन । फिनल्यान्डकी प्रधानमन्त्री जुहा सिपिलाले यसै साता इस्टोनिया भ्रमणका क्रममा सुरुङमार्गबाट दुई देश चाँडै जोडिने बताएकी थिइन् ।
प्रतिक्रिया