इतिहास जित्नेको लेखिन्छ हार्नेको होइन– ई. महेन्द्र पराजुली

इतिहास जित्नेको लेखिन्छ हार्नेको होइन– ई. महेन्द्र पराजुली


bicharवि.सं. २००६ चैत २७ गते नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरण भई स्थापना भएको नेपाली काङ्ग्रेस लोकतन्त्र प्राप्तिको अविचलित यात्रामा इतिहासको कालखण्डदेखि नै जनताको आड र भरोसाको पार्टीको रूपमा परिचय बनाई आएको इतिहास साक्षी छ । एउटै पार्टीले पटक–पटक ठूला क्रान्ति तथा जनआन्दोलनको सफल नेतृत्व गरेको संसारको इतिहासमा विरलै पाइन्छ । विश्वकै सन्दर्भमा यसको श्रेय लिने मौका परिवर्तनको संवाहक सारथि नेपाली काङ्ग्रेसले मात्र पाएको छ । काङ्ग्रेसको इतिहास लोकतान्त्रिक आन्दोलनको इतिहास हो । वि.सं. २०१२ सालमा वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट विधिवत् रूपमा नेपाली काङ्ग्रेसले आफ्नो आधारभूत सिद्धान्त र लक्ष्यको रूपमा समाजवाद अँगाल्यो । काङ्ग्रेसले आफ्नो सिद्धान्त तथा नीति छोड्यो वा छोडेन, गौरवशाली इतिहास कायम राख्न सक्यो वा सकेन भन्ने सवाल बहसको विषय बन्न सक्दछ । यिनै पृष्ठभूमिमा स्थापनाकालदेखि नै उतार–चढाव, आरोह–अवरोह, गुट–फुट खेपेको काङ्ग्रेस वर्तमानमा गन्तव्यहीन हुँदै लडखडाउँदै हिँडिरहेको छ । प्रतिबन्धित अवस्थामा काङ्ग्रेसको जति शाख र इज्जत थियो त्यो अहिले बत्ती बालेर खोज्दा पनि नभेटिने अवस्थाबाट गुज्रिरहेको छ काङ्ग्रेस ।
युवाहरूको शक्ति र ऊर्जालाई समेट्न वि.सं. २०१० कात्तिक १० गते नेपाल तरुण दल तथा विभिन्न समयमा पार्टीको भ्रातृ संस्थाको रूपमा नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायत अन्य भ्रातृ संस्थाहरूको स्थापना भएको थियो । भ्रातृ संस्थाहरू भनेका पार्टीका औजार हुन्, औजारमा खिया लागेर भुत्ते भएका छन्, खै यिनीहरूलाई समयमा नै उध्याएको अनि साँध लगाएको । बीपी कोइरालाले नेतृत्व गरेको सरकारले भूमिसुधार, बिर्ता उन्मूलन, वनको राष्ट्रियकरणजस्ता जनताका मन छुने खालका क्रान्तिकारी कार्यक्रम ल्याएर सफल सरकारको परिचय बनाएको थियो छोटो अवधिमै पनि । त्यसपछिका नेपाली काङ्ग्रेसले नेतृत्व गरेका सरकारले गरेका राम्रा काम औंलामा गन्न सकिने मात्र छन् ।
फाँसीको बेला अन्तिम इच्छाको रूपमा वि.सं. १९९७ सालमा शुक्रराज शास्त्रीले उच्चारण गरेको जयनेपाल शब्द नै नेपाली काङ्ग्रेसले अभिवादन गर्ने शब्द बन्यो । अहिले आएर जयनेपाल शब्द र चारतारे झण्डाको समेत अवमूल्यन र अपमान गर्न पछि परेका छैनन् काङ्ग्रेसजन । वाक स्वतन्त्रताको उपयोग र उपभोग राम्ररी नै गरिरहेका छन् विशेष गरेर युवानेताहरू त्यसमा पनि अगाडि छन् । केन्द्रीय सदस्य गगनकुमार थापा अनि पार्टीको लागि ऐंजेरू बनेका सभासद् अमरेशकुमार सिंह । वामपन्थीहरूले नेपाली काङ्ग्रेसलाई धनीहरूको पार्टी भनी भिराएको बिल्लामा केही दम देखिन्छ, यसको पछिल्लो उदाहरण हो संविधानसभाको निर्वाचनमा भएको टिकटको खरिद–बिक्री । बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने पार्टी हो काङ्ग्रेस । चोरलाई चौतारो र साधुलाई शूलीका उदाहरणहरू प्रसस्तै छन् काङ्ग्रेसमा । पार्टी प्रणाली र पद्धतिको उपहास भएको अवस्था छ काङ्ग्रेसको वर्तमान ।
व्यक्तित्व टकरावको कारण पार्टीभित्र गुट र फुटको राजनीति मातृकाप्रसाद कोइराला र बीपी कोइरालाको पालामै अर्थात् काङ्ग्रेसको स्थापनाकालदेखि नै सुरु भएको तीतो सत्य अनि यथार्थ हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालाका बेलामा त्रयनेताको अवधारणामा चलेको काङ्ग्रेसको कालमा उपगुटसमेत थप भयो । नेपाली काङ्ग्रेसलाई भागबन्डाको आधारमा विवादित रूपमा कमजोर स्थितिमा पु-याउन त्रयनेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जिम्मेवार छन् । त्यसमा अझ मलजल गर्ने काम सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले गरिरहेका छन् । नजिकका आफन्त, आसेपासे, हुक्के–बैठके द्वारपाले, स्तुतिगान गाउने, जनाधार नभएका, आयातीत किचन क्याबिनेटका सदस्य नेताका छनोटको प्राथमिकतामा पर्दछन् । तिनीहरूकै रक्षाकवच बनेका छन् नेता भने कार्यकर्ता नेताका मोहरा तथा गोटी बनेका छन् । कित्ताकाट गरिएका, छुवाछुतमा परेका यीदेखि परका भिन्न कार्यकर्ता भने अपमानको विष पिउन बाध्य भई नेताका गुटगत राजनीतिबाट तेजोबध भई कोपभाजनमा परेका छन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाप्रति पङ्क्तिकारको सम्मान हुँदाहुँदै पनि इतिहास कोट्याउने प्रयास मात्र गरेको हो ।
वि.सं. २००८ साल फागुन २०–२२ सम्म जनकपुरमा आयोजित पाँचौँ महाधिवेशन सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले स्थगन गरेपछि यहीँबाट मातृका पक्ष र बीपी पक्षमा नेपाली काङ्ग्रेस विभाजित हुँदै गयो । मातृकाको पालामा पार्टी र सरकारबीच तीव्र मतभेदको सुरुवात भयो । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुँदैन भन्ने पाँचाँै महाधिवेशनमा बीपीले अगाडि सारेको सोचलाई अहिलेसम्म पनि नेताले आफूअनुकूलको व्याख्या गर्ने गरेका छन् । यो मुद्दा थाती नै छ । पार्टी ठूलो कि सरकार ठूलो भन्ने बहसको छिनोफानो हालको मितिसम्म पनि हुन सकेको छैन । यो मुद्दा तथा एक व्यक्ति तथा एक पद भन्ने सम्बन्धमा तेह्राँै महाधिवेशनले निर्णय लिन जरुरी छ । त्यस्तै गरेर प्रधानमन्त्रीले पार्टीको निर्देशन निर्णय मान्ने–नमान्ने, मन्त्रिमण्डलमा कसलाई राख्ने–नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको आफ्नो विशेष अधिकारको विषय हुने–नहुनेलगायतका विषयमा पनि पार्टीले स्पष्ट खाका कोर्न जरुरी छ । यसको निरुपण गरिएन भने देशी–विदेशी शक्तिहरूले चलखेल गर्न सक्ने छिद्र रहन गई अन्ततोगत्वा पार्टी फुटको सङ्घारमा पुग्ने खतरा रहन्छ । यसको उदाहरण खोज्न धेरै पर जानै पर्दैन आफैँले आफैँलाई फर्केर हेर्दा त्यसको छर्लङ्ग तस्बिर देख्न सकिन्छ ।
भित्री रूपमा नेताका आ–आफ्नै गुट भए तापनि बीपी, सुवर्णशमशेरले पार्टीलाई नै कमजोर बनाउने गरी कुनै पनि गुट मौलाउन दिएका थिएनन् । आ–आफ्नो गुटलाई बडो सुझबुझ तरिकाले व्यवस्थापन गरेका थिए । एक–अर्काको उपस्थितिलाई सहज रूपमा ग्रहण गरी आत्मीयता दर्शाउँदथे, हार्दिकता तथा सम्मान प्रकट गर्दथे । तेरो र मेरो होइन, राम्रो हाम्रो भन्ने सोच र संस्कृतिको विकास गरेका थिए । आजका काङ्ग्रेसका नेताहरूमा कहाँ छ त्यो गुण । राजनीतिलाई सामाजिक सेवाको रूपमा बुझेको थियो त्यसबेलाको काङ्ग्रेसले ।
पार्टी नेतृत्वमा विरासतबाट नेता बनेका, २०४६ सालको जनआन्दोलनको विरुद्धमा बानेश्वरको होटल एभरेस्टमा भारतका चर्चित नेता चन्द्रशेखरलाई ज्ञापनपत्र बुझाउन जानेहरू, विभिन्न राजदूतावासबाट हण्डी खानेहरू, २०४६ सालको जनआन्दोलनमा शून्य भूमिकामा रहेकाहरू, ग्रासरुटमा राजनीति नगरी एकैचोटि विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आई आफूलाई अब्बल हुँ भन्नेहरू, पञ्चायत तथा बहुदलीय व्यवस्थामा समान हैसियत बनाउन सफल पञ्चायतको ढोकाभन्दा बहुदलको ढोका फापसिद्ध भएकाहरूकै र आयातीतहरूको दह्रो उपस्थिति छ काङ्ग्रेसमा । पार्टी तथा सरकारमा उनीहरूले नै तर मारिरहेका छन् । सादा जीवन र उच्च विचार उखानजस्तै भएको छ काङ्ग्रेस पार्टीमा । पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा छ । पार्टीभित्र प्रतिस्पर्धा हुनु भनेको नेतृत्वको विकास हुनु हो, तर त्यस्तो अवस्था छैन काङ्ग्रेसमा । प्रतिस्पर्धा स्वच्छ र स्थार्थरहित भएमा त्यसले पार्टीलाई नै सहयोग पुग्दछ । ०४६ को सफल जनआन्दोलनपछाडि गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादबीचको एक–आपसको व्यक्तित्व टकरावको परिणति हो आजको काङ्ग्रेस । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा गुट–उपगुटको खेलमैदान बनेको छ काङ्ग्रेसको वर्तमान । सभापति कोइरालाको सहयोगी बन्न सकेनन् देउवा भने सुशील मियो बन्न नसकी, कमजोर कडी मात्र बनिरहे । काङ्ग्रेस अहिले धमिरा लागेको अवस्थाबाट गुज्रिरहेको छ । मूल नै धमिलो भएपछि डाउन स्ट्रिम धमिलो हुने नै भयो । मूल नै सफा गर्न जरुरी छ पहिले काङ्ग्रेसमा ।
भविष्यको चुनौतीसँग जुध्नका लागि काङ्ग्रेसले विगतबाट पाठ सिकेर अगाडिको बाटो तय गर्ने कि, आफ्नै आन्तरिक द्वन्द्वको कारणले राष्ट्र कम्युनिस्टहरूलाई जिम्मा लगाउने नेपाली काङ्ग्रेसका नेताहरूको चेत खुल्न जरुरी छ । काङ्ग्रेस एक ढिक्का हुने हो भने कुनै पनि शक्तिले काङ्ग्रेसलाई विचलित बनाउन सक्दैन । संस्थापन र अर्को पक्ष जोड–घटाउकै दल–दलमा फसे भने नेपाली काङ्ग्रेसका दुर्गतिका दिनहरू धेरै टाढा छैनन् । १२आँै महाधिवेशनका कतिपय निर्णय लावारिस अवस्थामा छन् । परिवर्तनको वेगलाई छेक्ने, रोक्ने र थेग्ने कोसिस गर्नुहुँदैन १३आँै महाधिवेशनले । पार्टीलाई जीवन्त राख्ने तथा अग्रगामी छलाङ मार्ने खालका निर्णय लिन सक्नुपर्छ । सैद्धान्तिक बहसमा भन्दा पनि महाधिवेशनको निर्वाचनको जोड–घटाउमा नेता लागेका छन् । देशको राजनीति तरङ्गित अवस्थामा छ । देशमा अनपेक्षित या अप्रत्यासित रूपमा कुनै ठूलो दुर्घटना भएन भने सरकार परिवर्तन र काङ्ग्रेसको १३औँ महाधिवेशन सँगसँगै जस्तो मितिमा हुँदै छ । जीवनको नेटो काटिसकेका नेताहरूको साँवाको ब्याज मात्र नखाएर नेपाली काङ्ग्रेसको सम्पत्ति बढाउनतर्फ लाग्नुपर्छ अबको महाधिवेशनमा । गुण र दोषको कुरा गर्दा तुलामा जोख्दा १९–२० मात्र रहेका सुशील, शेरबहादुर र रामचन्द्र तीनैजना नेताका क्षमताबारे पार्टीका कार्यकर्ता अनभिज्ञ छैनन्, यिनीहरूका आ–आफ्नै व्यक्तित्व र विशेषता छ । तीनैजना नेतालाई स–सम्मान उचित भूमिका दिएर पार्टीलाई एक बनाएर लैजानु नै १३औँ महाधिवेशनको सफलता हुनेछ । त्यस्तो भूमिका भनेको राष्ट्रपति, सभापति तथा संसदीय दलको नेता हुन सक्छ ।
आधुनिक नेपालको इतिहासमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राजा त्रिभुवन, राजा वीरेन्द्र, महामानव बीपी कोइराला, सुवर्णशमशेर, फादर अफ डेमोक्रेसी गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, शिखरपुरुष गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीमा आ–आफ्नै विशिष्टता र पहिचान थियो । दूधैदूधले नुहाएका कोही पनि थिएनन् । मानवीय कमी–कमजोरी हुँदाहुँदै पनि जीवनको पूर्वाद्र्ध अथवा उत्तरार्धमा ऐतिहासिक दायित्व कुशलतापूर्वक निर्वाह गरी उनीहरूले जितेको इतिहास लेखाए । इतिहास जित्नेको लेखिन्छ, हार्नेको लेखिँदैन । सुशील, शेरबहादुर र रामचन्द्रले जितेको इतिहास लेखाउने कि हारेको ? कलङ्कको कालो टीका लगाउने कि फूलमाला र अबिरले सुशोभित भएर कार्यकर्ताको मन जिती सम्मान लिने ? तीनैजनाले जित्दा काङ्ग्रेस पार्टीले पनि जित्दछ ।
वि.सं. २००७ देखि २०६२/०६३ सम्मको नेपाली काङ्ग्रेसको गौरवमय इतिहासमा नेपाली काङ्ग्रेस कहिल्यै हारेन । काङ्ग्रेसले जित दर्ज गराएकै हो । त्यसपछाडिका दिनमा पार्टी हार्दै गयो नेता जित्दै गए । यस्तो अवस्था नरहोस् अब काङ्ग्रेसमा । यसतर्फ १३औँ महाधिवेशनको ध्यान जान जरुरी छ ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन् ।)