काठमाडौंको जनसङ्ख्या घटाऊ– विनोद त्रिपाठी

काठमाडौंको जनसङ्ख्या घटाऊ– विनोद त्रिपाठी


Binod Tripathiयो साता बानेश्वरका बासिन्दाले सडकमै धान रोपेर सरकारको विरोध गरे । उनीहरूले धान रोप्न कतैबाट माटो ल्याएर रोपेका होइनन् । तीन वर्षदेखि हिलाम्मे सडकलाई चित्रण गरेका मात्र हुन् । ठेकेदारको चरम ढिलाइले निकै सास्ती भोगेका स्थानीयको यो आक्रोश सडकमै पोखिएको थियो । तर, ठेकेदारले दुई महिनाभित्र सडक निर्माण सक्ने आश्वासन पाएपछि विरोध रोकिएको छ । यस्ता प्रकारका ठेकेदारी आश्वासन धेरैपटक भइसकेको छ । यो विरोध राजधानीका सबै सडकको प्रतिनिधित्व बिम्ब हो । यसबाट सरकार लज्जित हुनुपर्ने थियो । सरकारको यो निर्लज्जताको पराकाष्ठा नेपाली जनताका लागि दुर्भाग्य सावित हुँदै आएको छ ।
सरकार ढल्ने र बन्ने स्थान हो राजधानी काठमाडांै । यहाँ ठूला–ठूला नेताहरू बस्छन् । पूर्वराजा–महाराजा र हालका कथित नवराजाहरूको बसोवास भएको यो काठमाडांै । राष्ट्रपति, प्रधानमन्त्री बस्छन् यहाँ । उनीहरू काम गर्ने कार्यालय र घर पनि यहीँ छन् । यही राजधानीमै बसेर सरकार राख्ने र नराख्ने जोडघटाउ गर्नेहरू धेरै छन् । ठूला उद्योगपतिको बास यहीँ छ । विद्वान्देखि डनहरू पनि राजधानीमै बस्छन् । मधेसी, जनजाति, हिन्दू, बौद्ध, क्रिश्चियन, मुस्लिम आदि समुदायका केन्द्र यहीँ छ । सुदूरपूर्वमा उद्योग गर्नेले पनि राजधानीमै कार्पोरेट अफिस सञ्चालन गर्छ । सुदूरपश्चिममा व्यवसाय गर्नेले राजधानीमै केन्द्रीय कार्यालय खोल्छ ।
दार्चुलाबाट मकै पोल्न पनि राजधानीमै ओइरिएका छन् । ताप्लेजुङबाट आएर फेन्सी पसल चलाउने पनि यहीँ छन् । सडकभरि पसल थाप्नेहरू राजधानीबाहिरकै छन् । रेस्टुरेन्ट चलाउने पनि बाहिरबाटै आउने धेरै छन् । दुर्गममा अस्पताल अभाव छ, तर यहाँ अस्पताल चलाउन हानथाप छ । राजधानीबाहिर भएकाहरू आऊ यहीँ बस भनेर आह्वान गरेझैँ ठूलाठूला अपार्टमेन्ट पनि यहीँ खुलेका छन् । बोकेरै भए पनि नयाँ–नयाँ डिजाइनका मोटर–कारहरू यहीँ भित्याइन्छ । जमिनको क्षेत्रफल बढ्नेझैं सबै कोचाकोच बसेका छन् । यो भीडभाड देख्दा लाग्छ– राजधानीको जमिनको क्षेत्रफल बढ््ने हो कि आशा देखिन्छ । मान्छे आउने क्रम रोकिएको छैन । मोटर ल्याउने क्रम जारी छ । घर बनाउन मारामार छ । स्कुल, कलेज र कलकारखाना खुलाउने होडबाजी छ । यो भद्रगोल अवस्था वैशाख १२ पछि भूकम्पले सुस्ताएको भए पनि फेरि पहिलेको जसरी बल्झँदै छ ।
यसरी सुरु भयो समस्या
अझै पनि गाउँघरमा राजधानी गएर आएको व्यक्ति भनेपछि छुट्टै महत्वले हेर्ने चलन छ । दुई–चार दिनलाई राजधानी घुम्यो कि सबै कुरा बुझेर फर्कियो फलानोले भन्ने चलन कायमै छ । सदियौँदेखि हाम्रो आमनेपालीको मानसिकता नै केन्द्रीकृत बन्यो । माथिल्ला घरे कान्छाको छोरा जागिरको सिलसिलामा काठमाडौं बसेको छ भने जबर्जस्ती भए पनि तल्लोघरे जेठाले आफ्नो छोरालाई राजधानी पठाउँछ । छिमेकीले छोराछोरीलाई राजधानी पढ्न पठायो भने सकिनसकी अर्कोले पनि त्यही देखासिकी गर्छ । गाउँमा ताजा तरकारी र फलफूल खाएर हुर्किएका छोराछोरीलाई रवाफिलो बन्न राजधानीको धुले माटोमा असरल्ल छोडेर निजी घरमा काम गर्नेहरू लाखौँ छन् यहाँ ।
गाउँकै नजिकको उमावि पढाउन छोडेर ऋणको भरमा हामी नेपाली राजधानीमा छोराछोरी पठाउँछौँ । छोराको हालत कसरी खतम भा’को छ, छोरीको भविष्य कसरी बिग्रेर गएको छ, अभिभावकले पत्तो पाउँदैन । मेरो छोरीले एमए पढेर सकी भनेर गाउँमा बाबुआमा गर्व गर्छन् । छोरी यहाँ सङ्घर्षको मैदानमा आधा जीवन व्यतीत नगर्दै सारा भोगाई सकेर जीवनकै उत्तरार्धमा प्रवेश गरेको अनुभूति गर्छे । गाउँबाट अधिकृत तहको जागिर खान राजधानी भित्रिएको छिमेकीलाई देखेर ठेलामा तरकारी बेच्न काठमाडांै ओइरिने धेरै छन् । हाम्रो यो राजधानी लुट्ने र भ्रष्टाचार गर्नेहरूको अखडा हो, हाम्रो यो स्थान होइन भन्ने मानसिकता विपन्न श्रम गरेर खानेले बुझ्न आवश्यक छ । गाउँमै तरकारी उत्पादन गरेर नजिकैको बजारमा बेचेर राजधानीको यो जीवनभन्दा सुखी हुनेछ भन्ने बुद्धि पलाउनुपरेको छ । अहिले जिल्ला–जिल्लाका सदरमुकाममा राजधानीबराबरकै सबै सुविधा पाइन्छ । स्कुल, कलेज, अस्पताल, व्यापार गर्ने क्षेत्र आदि । हिजोको जस्तो सबै कुरा राजधानीमै मात्र छ भन्ने सोच सबैले त्याग्न जरुरी छ ।
सरकारले गर्नुपर्ने के के ?
केही वर्ष पहिले अमेरिकी वातावरण विज्ञको एक टोलीसँग ठमेलमा भेट हुने मौका जुरेको थियो । कुराकानीका क्रममा उनीहरूले भनेका थिए, ‘तपाईंहरूको यो सहरको वातावरण ठीक राख्ने हो भने सवारीसाधनका हर्न बजाउन प्रतिबन्ध लगाउनुस् ।’ उनीहरूले भनेको यो विषय निकै गहन थियो । सरकारले राजधानीमा सवारीसाधनको व्यवस्थापन मात्र होइन, हर्न बजाउनेमाथि प्रतिबन्ध लगाउनुपर्छ । ध्वनि प्रदूषणले राजधानीमा मानिस बस्नै नमिल्ने भइसकेको ती विज्ञहरूको भनाइ थियो । अर्को कुरा भूकम्पपछि राजधानीको बसोवासका बारेमा अझै सरकारले स्पष्ट दिशा निर्देश गर्न सकेको छैन । घर निर्माणकार्य प्रत्यक्ष्ँ रूपमा सरकारकै निगरानीमा हुनुपर्छ । केही विकसित मुलुकले राजधानीमा अन्य क्षेत्रबाट प्रवेश गर्दा निकै कडाइ अनुगमन गर्दै आएका छन् । किनकि राजधानीको जनघनत्व अन्य सहरको तुलनामा नबढोस् भनेर । तर, नेपालमा त्यसको सुरुवात अहिलेसम्म भएको छैन । निकै अध्ययन र गृहकार्य गरेर राजधानी प्रवेशलाई अस्थायी प्रकृतिको प्रवेशाज्ञा नै लागू गर्नुपर्छ । सम्पूर्ण निकायको केन्द्रबिन्दु राजधानी काठमाडौं हो भन्ने अब भ्रमबाट मुक्त गराउन यहाँ भएका अधिकांश संरचना बाहिर स्थानान्तरण गर्नुपर्छ । औद्योगिक, स्कुल, कलेज, मेडिकल कलेजलगायतका संरचनालाई मुख्य–मुख्य सहरमा व्यवस्थापन गर्नुपर्छ । जस्तै पर्यटकका लागि पोखरा, कृषि सहरका लागि चितवन, औद्योगिक सहरमा विराटनगर, मेडिकलमा वीरगञ्ज आदि स्थानहरू छनोट गरेर तत्काल स्थानान्तरणको प्रक्रिया थाल्नुपर्छ । यसले राजधानीको जनघनत्व भारलाई निकै कम गर्न मद्दत पुग्छ ।
भूकम्पपछिको नेपालीको जनजीवनमा एक खालको तरङ्ग उत्पन्न गराइदिएको छ । तर, नेपालीको जोखिम बसाइमा कुनै सुधार हुने लक्षण देखिएको छैन । अधिकांश नेपाली अब त भूकम्प आउँदैन भनेर पहिले जसरी जोखिमकै जीवन सुरु गरिसकेका छन् । सरकारले यसतर्फ बेलैमा ध्यान दिएन भने कुनै बेला लाखौँ नेपाली फेरि पनि एकै चिहान बन्ने सम्भावना छ । जनताको विपन्नता र बाध्यतामा सरकारले आँखा चिम्लिदियो भने नेपालीका लागि जोखिम जीवन सामान्य बन्ने निश्चित छ । दोलखा, गोरखालगायतका जिल्लामा भूकम्पको केन्द्रबिन्दु भएर पनि राजधानी सबैभन्दा त्रसित बन्यो । यसको मुख्य कारण भनेकै यावत् जनजीवनका सवाल र संरचनाका विषयमा सरकारले जिम्मेवारी बहन गर्न नसक्नु नै हुन् । अतः राजधानीको जनसङ्ख्या कम गर्न र शक्ति विकेन्द्रित गर्नेतर्फ राज्यको ध्यान जान तत्काल आवश्यक देखिएको छ ।