लिबियामा चादेली विद्रोही समूहका चार सय लडाकुले आत्मसमर्पण गरी आफ्ना हतियार सरकारलाई बुझाएका सोमबार चादका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताएका छन् । सन् १९९० मा विद्रोह गरी राष्ट्रपति बनेका इद्रिस देबाईले विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेमा उनीहरूलाई आममाफी दिन सकिने गत वर्षको मे महिनामा गरेको घोषणालाई मान्दै उनीहरू कानुनी दायरामा आएको मन्त्री ब्राहिमले बताए ।
युनियन अफ फोर्सेस फर डिमोक्रेसी एन्ड डेभलपमेन्ट (यूएफडीडी) आबद्ध विद्रोहीले राष्ट्रप्रमुख र सरकारको आह्वानअनुसार चादको मूलधारको राजनीतिमा आउने इच्छा प्रकट गर्दै आफ्ना हतियार सरकारलाई बुझाएका हुन् । उनले भने, ‘विद्रोही लडाकुको उक्त समूह तीन दिन पहिले चादको उत्तरी क्षेत्रमा पुगी आत्मसमर्पण गरेको थियो ।’
राष्ट्रपतिले हत्या–हिंसा त्यागेर मुलधार अर्थात् खुला राजनीतिमा आउने विद्रोहीलाई ससम्मान राज्यले स्वागत गर्ने बताएका थिए । यसैबीच उक्त समूहका प्रवक्ता महमत असिलेक हालताले भने, ‘विद्रोहीद्वारा सरकारसँग आत्मसमर्पण गरिएको भन्ने कुरा आधारहीन हो ।’ आत्मसमर्पण गरिएका भनिएका सबैजना आफ्नो समूह यूएफडीडीका सदस्य नभई सुनखानीमा काम गर्ने श्रमिक भएको असिलेकले दाबी गरे ।
यूएफडीडीका नेता महमत नुरीले भने, ‘लिवियामा रहेका झन्डै एक हजार लडाकुमध्ये फेब्रुअरीको शुरुदेखि अहिलेसम्म मात्रै ८६ लडाकु चाद फर्केका हुन् । सरकारले ४०० लडाकुले आत्मसमर्पण गरेको भन्ने सबै सुनखानीमा काम गर्ने कामदार हुन् ।’ चादको तिवेस्ती सीमा क्षेत्रमा सुनखानी भेटिएपछि केही क्षेत्रमा सन् २०१२ पछि हिंसा फैलिएको थियो ।
प्रतिक्रिया