सकारात्मक सोचको प्रतीक : मायालु हुम्ला

सकारात्मक सोचको प्रतीक : मायालु हुम्ला


bichar– गीता रेग्मी
आधुनिक चीनका धेरै युवायुवती के सोच्दछन् भने, दशवटा किताब पढ्नुभन्दा दश किलोमिटर हिँड्यो भने जीवन र जगत्लाई बुझ्न सकिन्छ । हुन पनि हो । पढेको र सुनेको भन्दा आफ्नै आँखाले देखेको संसार नै वास्तविक संसार हो । फेरि घुम्नु र डुल्नु भनेको पनि मानिसको आफ्नो आर्थिक हैसियत सबल र शारीरिक तन्दुरुस्त हुँदासम्म त हो । सामान्यतया अर्थले ढाड मर्काएपछि विश्व भ्रमण गर्ने अनि उमेर ढल्कँदै गएपछि हिमाल चढ्ने कुरा कल्पनाभन्दा धेरै बाहिरको कुरा हुन जान्छ । चाइनिजहरूले भनेजस्तै हिँडेर नै संसार देख्न पाइन्छ भन्ने कुरामा विश्वास राख्नेमध्येको एक नेपाली पात्र हुन् दामोदर पुडासैनी ‘किशोरजी’ जो पेसाले महालेखा परीक्षक कार्यालयका कर्मचारी हुन् । पुडासैनीजी घुम्न र नयाँ कुरा देख्नमा मात्र उत्साहित हुदैनन् आफूले देखेका भोगेका नयाँ अनुभूतिहरूलाई रंगमा ढाल्दै शब्दमा कोर्न पनि साह्रै खप्पीस छन् । आफ्नो भावहरूको कवितात्मक प्रस्तुतिले पाठकलाई रोमाञ्चित पार्दै आफूसँगै घुमाउन सिपालु पुडासैनीको ‘मायालु हुम्ला’ पछिल्लो प्रकाशित नियात्रा कृति हो । यसअघि २०६५ र २०७० मा ‘यात्राका प्रेमिल तरङ्गहरू’ र ‘नमेटिएका चित्रहरू’ नामक कृति प्रकाशन गरिसकेका छन् ।
अमेरिका, युरोप र जापानजस्ता भौतिक रूपले सम्पन्न मुलुकहरूको भ्रमण गरेर कृति निकालिसकेका पुडासैनी यसपालि आफ्नै देशको जैविक विविधताले भरिपूर्ण मनोरम विकट जिल्ला हुम्ला जान्छन् । हुम्लाको सुन्दरताले मन्त्रमुग्ध भएर हुम्लासँग नै प्रेम लगाएर पो फर्केछन् पुडासैनी त ? अनि पुस्तकका पानाभरि हुम्लाको प्राकृतिक स्वरूपको प्रेमलाई छताछुल्ल पोखिदिएका छन् एउटा प्रेमीले आफ्नी प्रेमिकाको विछोडमा उनको सौन्दर्य वर्णन गरेजस्तै पुडासैनीले पनि हुम्लाका डाँडा, काँडा, भीर, पखेरा र अनेकौं प्राकृतिक धरोहरहरूको सौन्दर्यलाई बिनाहिचकिचाहट हृदयभरिको प्रेम पुस्तकका पानाहरूमा छताछुल्लै पस्किएका छन् ।
हुम्लाप्रतिको असीम प्रेमले ओतप्रोत पुडासैनी, नेपालगञ्ज एयरपोर्टमा काम गर्ने कर्मचारीहरूका संवेदनहीन व्यवहारको कारणबाट भनेको समयमा टिकट नपाएर होटेल र एयरपोर्ट ओहोरदोहोर गर्दा पनि हुम्लाको प्राकृतिक रसस्वादन गर्ने तीव्र इच्छामा विचलन आएन । अन्ततः चिलगाडीको टिकट भेटेर उडे उनी आफ्नो प्रेमी ‘सिमीकोट’लाई भेट्न उकालै–उकालो ।
विश्वका ठूलठूला धावनमार्ग देखेका पुडासैनी सिमीकोटको कच्ची र सानो धावनमार्ग देखेर खिस्रिक्क पर्छन् । तर, सिमीकोटको सुन्दरताले उनको चाहुरिएको मनलाई तुरुन्त पुनर्ताजगी गरिहाल्यो । उनी बेस्सरी रमाइहाले । रमाउने मात्र होइन गरिबी र सोझा सिमीकोटे दाजुभाइसँग माया र प्रेम नै गर्न थालिहाले । यति मात्र होइन, दिनभरि मनोरम दृश्यहरूको रसस्वादन गर्दा चित्त नबुझेर समुद्र सतहदेखि करिब नौ हजार पाँच सय मिटरको उचाइमा अवस्थित सिमीकोटमा मर्निङवाक गर्न थालेछन् बा । नबुझिने भाषा अनि सँगै गएको साथी अक्सिजन नपुगेर निलै भएर फिर्ता पठाउनुपर्दा पनि पुडासैनीजीलाई सिमीकोटको प्रेमले विचलित बनाएनछ । किनकि त्यहाँको सुन्दरतम् ढुङ्गाका पर्खालहरू, माटाका छाना भएका घरहरू, सोझो र साधारण जीवनशैलीका सिमीकोटे साथीहरूको प्रेमको आलिङ्गन बाँधिइसकेका पुडासैनीलाई सँगै गएको साथीको फिर्तीले छुँदै छोएन ।
आस्था, मोह र प्रेमले मानिसमा यति धेरै ऊर्जा प्रदान गर्दोरहेछ भन्ने उदाहरण पनि हो पुडासैनीको हुम्ला बसाइ । प्रकृतिसँग कत्रो मोह ? उकाला–ओराला चिसो ठिहिरो र सेतो फुसफुसे हिउँले कति मजासँग तानेको छ उनलाई । फरासिलो स्वभाव र गफिने बानीले जोकसैसँग पनि सजिलै घुलमिल हुन सक्ने खुवी प्रयोग गर्दैै कहिले अनुसन्धान अधिकृतको साथ लागेर ओरालैओरालो हुत्तिन्छन् खर्पुनाथतिर । अनि खाना खान्छन् अन्जानमै मसानघाटमा बसेर ।
कहिले कसैको साथ लागेर अनन्ते पूर्णिमाको मेला हेर्न जान्छन् र मृत्युसँग साक्षात्कार गर्छन् । कर्णाली नदी तर्दा पेरुङ्गोसहित तीरमा बजारिन्छन् । तर, कतै पनि उनको अदम्य साहसले हरेस खाँदैन । डर र त्रासलाई बिर्सिएर जात्रामा जात्रालुसँगै देउडा नाच्छन् । गरिबी र अभावमा पनि ढकमक्क फुलेको मायाप्रितीको बगैँचामा चाहर्छन् । ज्वाइँ, भान्जा र इस्टमित्रको आतिथ्यताका लागि कोदोको नल खान दिएको देख्दा अचम्मित हुँदै आफू पनि साथ लाग्छन उखुका लाँक्रा जसरी कोदोको डाँठ चपाउन । यस्ता घटना पुस्तकका पानाहरूमा अनेकौँ छन् जसले पाठकको मन सरर पग्लन्छ । हुम्लीहरू आफ्ना घरमा पाहुना डाक्छन र रुखो–सुखो जे छ प्रेमपूर्वक खुवाउँछन । चाडपर्व र मेलामा मागेरै भए पनि मीठो–मसिनो खाने र राम्रो लगाउने गरेका कुरा राख्न छोड्दैनन् । भलै ती लुगामा थपिएका टालाले वास्तविक कपडाको रंग छुट्याउन नसकोस् । आफूलाई खाने केही छैन तर धामी र झाँक्रीलाई केही न केही कोसेली लगिदिन्छन् । आफ्ना दुःखका बिलौना सुनाएर शान्त हुँदै दुःख हरण गरिदिन गरेको अनुरोधले मुटुमा भक्कानो पर्दछ ।
नियात्राकारले चौबीस–पच्चीस दिनको हुम्ला बसाइलाई एकनिमेष पनि खेर फाल्न दिएका छैनन् । उनी आफ्नो जिम्मेवारीप्रति सधँै सजक छन् । कामचोर र दिउँसै झिङगिन खाएर हल्लिँदै कार्यालय छिर्ने कर्मचारीका कुराहरू पुस्तकमा लेख्न पनि पछि पर्दैनन् पुडासैनी ।
हिमपात हुँदाहुँदै महिला विकासका कर्मचारी र स्थानीयका साथ लागेर उक्लिन्छन् उनी रल्लिङतिर । हुम्लाका उकालीओराली र अप्ठ्याराहरूमा जीवन खोज्ने पुडासैनीको साहस कतिखेर पनि कमजोर भएको आभाषसम्म पाइँदैन पुस्तकमा । माओवादी धङधङीको अवशेष अझै भेटिँदा रहेछन् त्यताहुँदो । अपरिचित मान्छेलाई बास दिनु त परको कुरो बोल्नसमेत हिचकिचाउँछन् स्थानीय । यसैले पुडासैनीले स्थानीय निमालाई आफ्नो ग्रुपमा समावेश गरेर लगेका छन् । निमाकै नातेदारकहाँ बास बस्छन र साँझमा पिठोको डल्लाबाट बनेको खानेकुराबाट पेट भर्छन् । काठमाडौंको ठाउँमा बसेका उनी हिमाल र पहाडसँग हार खाँदैनन् । उनी थाक्दैनन् । गल्दैनन् । जतिखेर पनि गन्तव्य पुग्न हतारिन्छन् ।
तातो दिन, भीर–पाखा हुँदै रल्लिङ पुग्छन् । प्रकृतिको सुन्दर छटादेखि मोहित भएर हिँड्दाहिँड्दै थुचुक्क बसेर कविता फुराउँछन् । द्रौपदीप्रथाका अनुयायीहरू छन् गाउँभरि । एउटैका चार–पाँचवटा श्रीमान् छन् । कोही मेलामा, कोही भेडी गोठमा त कोही साथमा । जडीबुटी पाइने जङ्गलहरू प्रशस्तै । जडीबुटी टिप्न जाँदा इहलीला समाप्त भएका अनगिन्ती घटना वर्णन गर्नु नियात्राको अर्को विशेषता हो । पुडासैनीले आफ्नो समयलाई अलिकति पनि खेर फालेका छैनन् हुम्लाको आन्द्राभुँडी बुझ्नका लागि । समय पाउनासाथ स्थानीयसँग गफिन्छन् । गफिँदै गर्दा फस्ल्याङफुस्लुङ परेकालाई बोकेर हिँड्छन् नयाँ ठाउँतिर घाम, पानी र हिमपातको बेवास्ता गर्दै । सबैभन्दा ठूलो त इच्छाशक्ति नै रहेछ । इच्छाशक्तिले नै रहेछ मानिसलाई कठोरभन्दा कठोर काम गर्न प्रेरित गर्ने । सँगै गएका साथी निलै भएर फर्कंदा पनि उनले बरु कोदोको नल खाए हरेशचाहिँ खाएनन् ।
मीठो भाषाशैली, आत्मापरक अनुभूतिले सजिएको यो नियात्रा कृति मन छुने खालको र सबैले पढ्नयोग्य छ । मन मात्र होइन, यसले मस्तिष्क पनि हल्लाउनुपर्छ सरकारी कर्मचारी, कामचोर नेता र लुटाहा समाजसेवीको । साहुनीको भित्ता पोत्न पुग्ने कर्मचारी, हुँदै नभएको कामको पैसा हसुर्ने राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्तामाथिको दह्रो व्यंग्य पनि हो मायालु हुम्ला । सरकारी कामलाई पैसा कमाउने र दिन कटाउने माध्यम मात्र बनाएको देख्दा पिरोलिन्छ मन । भतभती पोल्छ जब कार्यालयप्रमुख नै लोकल रक्सीले मात्तिएर यो भँुइ किन हल्लिएको भन्दै कार्यालय छिर्छ ।
खँदिला वाक्य बनोट । गहकिला शब्द छनोटका कारण पुस्तक निखार्न अलि समय लागे पनि यसलाई छोडेर अर्कोतिर मोडिन दिँदैन यस पुस्तकले । सुखसयल र मोजमस्ती युरोप र अमेरिकामा मात्र होइन अभावमा पनि त मुस्कुराउँदो रहेछ भन्ने यस पुस्तकले शिक्षा दिन्छ ।
लेखक : दामोदर पुडासैनी ‘किशोर’, विधा : नियात्रा, प्रकाशक : तन्नेरी प्रकाशन, मूल्य : ५००