पत्नीको कुमारित्व जाँच्न अदालतमा उजुरी

पत्नीको कुमारित्व जाँच्न अदालतमा उजुरी


-नवीन उप्रेती
त्यसो त पाकिस्तानको अदालतमा यतिबेला अनेकौँ मुद्दा फैसला हुन नसकी लम्बिरहेका छन्, तर यसै क्रममा गजब-गजबका मुद्दा पनि थपिँदै छन् । यस्तैमध्ये दुईवटा मुद्दा यतिबेला त्यहाँ विशेष चर्चामा छन्, ‘एउटा पूर्वक्रिकेटर वसिम अक्रम मदिरा पिउँछन् या पिउँदैनन्, जाँच हुनुपर्‍यो भन्ने र अर्को चर्चित पाकिस्तानी अभिनेतृ मीरा अहिलेसम्म कुमारी छिन् या उनको कुमारित्व भङ्ग भइसक्यो, यसको जाँच गरिपाऊँ भन्ने !
मोहम्मद फैयाज भन्ने व्यक्तिले लाहोरको एक अदालतमा मुद्दा दर्ता गराएर दाबी गरेका छन् कि रक्सीको विज्ञापनमा मोडलिङ गरेर अक्रमले सिङ्गै मुसलमानी भावनालाई आहत तुल्याएका छन् । मोडलिङमार्फत रक्सी पिउन प्रेरित गर्ने अक्रम के आफू पनि साँच्चै मदिरा सेवन गर्छन् ? यसको जाँच हुनुपर्‍यो भन्ने मुद्दादर्ताको अभ्रि्राय रहेको छ । यसैगरी अतिक रहमान नामक अर्को एक व्यक्तिले अदालतमा मुद्दा दर्ता गरेर यो माग गरेका छन् कि अभिनेतृ मीराको कुमारित्व भङ्ग भइसकेको छ कि छैन जाँच हुनुपर्‍यो । उनले आफू मीराको लोग्ने भएको दाबी गरेका छन्, जब कि मीराचाहिँ आफूलाई अविवाहित महिलाका रूपमा चिनाउँछिन् । उनलाई आफ्नो पत्नी सावित गराउन अतिकले यो मुद्दा दर्ता गरेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।

आउने भयो अमृत खुराक !
अमेरिकी वैज्ञानिकहरूले एक यस्तो खानेकुरा निर्माणको दाबी गरेका छन् जसको सेवनबाट मानिसको जिन्दगी १० वर्ष लम्बिने छ । चिलीबाट दुई हजार माइल टाढा रहेको इस्टर द्वीपको माटोमा पाइने एक ब्याक्टेरिया प्रयोग गरी बनाइएको दाबी गरिएको उक्त खानेकुरालाई रापामायसिन -सदा युवा राख्ने दबाई) नाम दिइएको छ । १२ वर्षको उमेर पुग्दा-नपुग्दै बच्चाको मृत्यु हुने रोग हचिङ्सन गिलफोर्ड प्रोगेरिया सिड्रोम -एचजीपीएस) द्वारा ग्रस्त बच्चाको छालाको कोशिकामा गरिएको प्रयोगबाट यो अनुसन्धानले सिद्धि पाएको वैज्ञानिकहरूले बताएका छन् भने यसबाट मानिसको जीवनलाई १० वर्ष तन्काउन सकिने दाबी पनि उनीहरूले गरेका छन् ।

रोगी बचाउनेबित्तिकै डाक्टरको प्राणान्त
इटलीको मिलान सहरस्थित एक अस्पतालमा हालै एउटा गजबको घटना घट्यो । घटनाअनुसार अस्पतालका एक मुटुरोग विशेषज्ञ आफ्नो छाती दुख्न थालेकोले जाँच गराउन जरुरी रहेको बताउँदै थिए । उनी आफ्नो छातीमा हात राखेर मुटु दुखेको सिकायत गरिरहेकै बेला अस्पतालमा आकस्मिक उपचारका लागि अर्को एक मुटुरोगीको प्रवेश भयो । तत्काल अपरेसन नभए रोगीको मृत्यु हुने अवस्था बुझेर उनै डाक्टर ती हृदयरोगीको अपरेसनमा खटिए । ४९ वर्षीय डाक्टर विनसेञ्जो कापाचिओनले लगातार चार घन्टाको अपरेसन कार्य सकेर ७० वर्षीय रोगीको ज्यान बचाए । तर, दुर्भाग्य ! वृद्ध रोगीको सफल अपरेसन गरेको केही मिनेटपछि नै हृदयाघात भई डाक्टरको मृत्यु भयो ।

बुढ्यौली र फस्फोरसको यस्तो रहेछ सम्बन्ध
सोडा र प्रशोधित खाद्य वस्तुमा पाइने उच्च फस्फोरसले चाँडै बुढ्यौली ल्याउने हालैको एक अध्ययनले देखाएको छ । एफएएर्सइबी जर्नलको अनलाइन संस्करणमा उल्लेख गरिएअनुसार फस्फोरसको उच्च मात्राको सम्बन्ध उमेरसँगै सम्बन्धित रोगको जटिलतासँग पनि जोडिएको छ । जीर्ण मिर्गौला रोग, मुटुमा क्याल्सियम पैदा हुने समस्या तथा मांसपेशी र छालाको विकार यसैका कारण हुने अनुसन्धानकर्ताहरूको कथन छ । हार्वर्ड स्कुल अफ डेन्टल मेडिसिनमा सरुवा रोग तथा प्रतिरक्षा प्रणाली विभागका मोहम्मद सौकत रज्जाकका अनुसार मान्छेलाई स्वस्थ आहारा चाहिन्छ, आहारामा फस्फेटको मात्रा सन्तुलित राख्नु स्वास्थ्य र दीर्घायुका लागि महत्त्वपूर्ण हुनसक्छ, तर्सथ फस्फेटको विषबाट बचेर स्वस्थ जीवनको आनन्द उठाउनु आवश्यक छ । रज्जाकको समूहले मुसाको तीन समूहमा फस्फोरसको फरक मात्रा परीक्षण गरेको थियो ।

तनाव पनि गर्भधारणको शत्रु
अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको अनुसन्धानअनुसार उच्च तनावले महिलाको प्रजननका लागि उपयुक्त रहने समय (फर्टाइल पिरियड)मा गर्भवती हुने सम्भावना कम गर्छ । उक्त अनुसन्धानमा १८ देखि ४० वर्ष उमेर समूहका दुई सय ७४ महिलालाई सामेल गराइएको थियो ।
विशेषज्ञका अनुसार जो महिला ‘फर्टाइल पिरियड’मा शान्त र खुसी रहन्छन् उनीहरूको दाँजोमा तनावग्रस्त रहने महिलाको गर्भवती हुने सम्भावना १२ प्रतिशत कम हुन्छ । वैज्ञानिक रूपले यो प्रमाणित भएको छ कि तनाव वास्तवमा महिलाका लागि खतरनाक हुन सक्छ । यस्तोमा विशेषज्ञहरूले परिवार नियोजन गरिरहेका दम्पतीलाई यो जोखिम कम गर्न ‘रिलेक्सेसन टेक्निक्स’, काउन्सिलिङ, योगा र मेडिटेसनको सहयोग लिनुपर्ने सुझाब दिएका छन् ।