नेपालका सामाजिक सङ्घसंस्था तथा तिनका क्रियाकलापप्रति सामान्य मात्र चासो राख्ने जो–कोहीलाई पनि पूर्वयुवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’बारे अवगत नै छ । केही वर्षअघि अस्तित्वमा आएदेखि नै निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएको हिमानी ट्रष्ट राष्ट्रमा ठूला विपत्ति आइपरेको बेला थप सशक्त रूपमा सक्रिय हुने गरेको पाइएको छ । बाढी–पहिरोले सताउँदा होस् या आमजनता भोकमरीको चपेटामा परेको अवस्थामा, स्वास्थ्य–शिक्षाजस्ता आधारभूत कुराको पहुँचबाट टाढा रहेका विपन्न बालबालिकाको हितमा काम गर्न होस् वा विनाशकारी भूकम्पले मुलुकलाई क्षतविक्षत तुल्याएको बेला, हरदम यो संस्थाले आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएको छ । यसरी ट्रष्ट नै खडा गरेर सामाजिक क्रियाकलापसँग जोडिँदै गरेकी पूर्वयुवराज्ञी हिमानी शाहले गत साता बिहीबार सञ्चारकर्मीहरूलाई बालुवाटारस्थित ट्रष्टको कार्यालयमा आमन्त्रण गरिन् ।
संविधान बनाउने चटारोमा परेका राजनीतिक दलका नेता–कार्यकर्ता एवम् संविधानसभाका सदस्यहरू प्रारम्भिक मस्यौदा लिएर जनतामाझ पुगेका र आमजनताले बडो उत्साहका साथ राय–सुझाव दिएर पठाएको बेला थियो त्यो । जताततै जनताबाट सङ्कलित सुझावकै चर्चा थियो । सम्भवतः पूर्वयुवराज्ञी हिमानी पनि यसै सन्दर्भमा केही बोल्न खोज्दै छिन् भन्ने कतिपयले लख काटेका थिए भने भेटघाट कार्यक्रममा उपस्थित एक सञ्चारकर्मीचाहिँ हिमानी–पारसबीचको सम्बन्धबारे प्रश्न राख्ने र तथ्य बुझेरै छोड्ने चाहना व्यक्त गर्दै थिए ।
निर्धारित समयभन्दा केही ढिलो गरी हिमानी सञ्चारकर्मीमाझ उपस्थित भइन् । ट्रष्टकै अन्य दुई पदाधिकारी पनि उनकै दायाँबायाँ थिए । भेटघाटको उद्देश्यबारे प्रस्ट्याउँदै सुरुमै हिमानीले आफ्नो या ट्रष्टको कुरा सुनाउनेभन्दा पनि सञ्चारकर्मीहरूबाट सुझाव सुन्ने ध्येयले भेटघाटको आयोजना गरिएको खुलासा गरिन् । एकछिनका लागि उपस्थित सञ्चारकर्मी हिस्स परे । ट्रष्टले कहाँ–कहाँ के–कति काम ग-यो, के गर्दै छ भन्ने फेहरिस्त नै नबुझी के सुझाव दिने !? हिमानी र ट्रष्टसम्बद्ध उनका सहयोगीहरूले देशका विभिन्न स्थानहरूमा हिमानी ट्रष्टले भूकम्पप्रतिरोधी स्कुलहरू निर्माण्ँका लागि योजना बनाइरहेको जानकारी गराएपछि बोल्ने–खुल्ने उपक्रमले गति लियो ।
ट्रष्टको गतिविधिबारेको जिज्ञासा थाती राख्दै एक सञ्चारकर्मीले प्रश्न तेस्र्याए, ‘आमजनताको ठूलो हिस्साले संविधानको मस्यौदामा निकै गल्तीहरू रहेको टिप्पणीसहित धर्मनिरपेक्षता हटाएर नेपाल हिन्दूराष्ट्र हुनुपर्ने सुझाव दिएका छन्, तपाईंको पनि व्यक्तिगत तवरबाट केही सुझाव होला नि, बताइदिनुहोस् न ?’
प्रश्न सुनेपछि हिमानी स्वभावतः मुस्कुराइन् र दायाँबायाँ सहयोगीको अनुहार नियाल्न पुगिन् । तत्काल सम्हालिँदै उनले जवाफ दिइन्, ‘जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटि सच्याउनु उचित हुन्छ, जनमतको सम्मान गर्नुपर्छ । आमनेपालीले जे सुझाव दिनुभएको छ, मेरो सुझाव पनि त्यस्तै हुन्छ ।’ हिमानी ट्रष्टका गतिविधि तथा भावी कदमबारे सञ्चारकर्मीसँग सुझाव लिन आयोजित भनिएको सो भेटघाट कार्यक्रमले अब अर्कै मोड लिइसकेको थियो । ट्रष्टबारे भन्दा पनि हिमानी शाह यतिबेला मुलुकले व्यहोरिरहेको राजनीतिक अवस्थासँग कति परिचित छिन् र उनको धारणा या राजनीतिक योजनाहरू के–के छन् भन्ने खोतल्ने ध्याउन्न सञ्चारकर्मीहरूमा जागृत भएको स्वतः अनुभूति गर्न सकिन्थ्यो । सञ्चारकर्मीको यो मनोभाव बुझेरै हुनुपर्छ, हिमानी बडो सतर्क देखिइन्, यद्यपि उनको अनुहारमा मन्द मुस्कान कायम नै थियो, बेला–बेला सन्दर्भवश खुलेरै हाँस्न पनि पछि परिनन् उनी । सुरुमा त हिमानीेले राजनीतिक विषयका प्रश्नहरूलाई हाँसेरै टार्न खोजिन्, ट्रष्टकै विषयमा मात्र कुरा गरौँ भन्ने आग्रह पनि गरिन् । तर, ‘हामी पोलिटिक्समा संलग्न छैनौँ’ भन्दै सफाइ दिने उनको कोसिस व्यर्थ प्रतीत हुँदै थियो । सञ्चारकर्मीबाट राजनीतिक प्रश्न आउन छोडेनन् ।
हिन्दूराज्यको माग भइरहेकोबारे पुनः जिज्ञासा राखिएपछि उनले मन्द मुस्कानकै भरमा टार्न त खोजेकी हुन् तर सञ्चारकर्मीले जोड गरेपछि हिमानीले भनिन्, ‘जनताको धारणा बुझ्नलाई सुझाव संकलन भइरहेको हो भने जनताबाट आएका रायसुझावलाई मान्यता दिनुपर्छ । जनताले दलका त्रुटि सच्याइदिन सक्छन्, जनताले देखाएको बाटो दलहरूले हिँडे सबैको भलो नै होला ।’ जनताको चाहना कस्तो पाउनुभएको छ त भन्ने प्रश्न सामूहिक रूपमै जोडसँग उठेपछि कूटनीतिक पारा प्रदर्शन गर्दै उनले भनिन्, ‘त्यो त मलाईभन्दा तपाईंहरूलाई नै धेरै थाहा होला नि, होइन र ?!’
जे होस्, आफूलाई कुनैबेलाको युवराज्ञीको कोटिमा नभई समाजसेवामा संलग्न हुँदै गरेको एक सचेत नेपाली महिलाको रूपमा प्रस्तुत गर्न हिमानी निकै सफल देखिइन् । उपस्थित सञ्चारकर्मीले पनि हिमानीको सरल व्यवहारबाट पुलकित हुँदै ‘हिमानी ट्रष्ट’लाई महिला तथा बालबालिकाको क्षेत्रमा केन्द्रित भएर काम गर्नेलगायतका विभिन्न उपयोगी सुझाव दिए । हिमानीले आफ्नो संस्था यतिबेला भूकम्पका कारण विद्यालय गुमाएका छात्रछात्राका लागि स्कुल निर्माण कार्यमा संलग्न रहेको उल्लेख गर्दै साधन–स्रोतको सीमितताका कारण सकभर धेरैभन्दा धेरै ठाउँमा पुग्न प्रयासरत रहे पनि व्यावहारिक कठिनाइ झेल्नुपरेको यथार्थ अवगत गराइन् । पति पारस शाहसँग सम्बन्धित प्रश्न गर्ने धृष्टताचाहिँ न कुनै सञ्चारकर्मीले गर्न सके न हिमानी शाहले नै त्यस विषयको छायासम्म सञ्चारकर्मीबीच पर्न दिइन् । बरु, पति पारससँग सम्बन्ध बिग्रेको अनुमानका आधारमा चल्ने गरेका अनेक हल्ला वा आशङ्काहरूलाई हिमानीले गत आइतबार मुटुको समस्या बोकेर नर्भिक अस्पताल पुगेका पूर्वयुवराज पारस शाहलाई अस्पतालमै पुगी पत्नीवत सेवा दर्शाएर अमूक रूपमै निराधार सावित गरिदिइन् ।
प्रतिक्रिया