राष्ट्रिय पहिचानमाथि कालोबादल – इन्द्रबहादुर बराल

राष्ट्रिय पहिचानमाथि कालोबादल – इन्द्रबहादुर बराल


Indra-Baralदुनियाँका सबै मुलुकको आ–आफ्नै विशेषता र राष्ट्रिय पहिचान हुन्छ । नेपाल पनि आफ्नै विशिष्ट पहिचान भएको सुन्दर र शान्त कहलिएको देश हो । भौतिक विकासका दृष्टिले निश्चय पनि हामी पछाडि हाँैला, तर संस्कृतिका हिसाबले नेपाल अत्यन्तै सम्पन्न र समृद्ध छ । त्यही कारणले नेपाल संसारकै गन्तव्य बनेको छ, जसमा नेपालीले गौरव गर्दै आएका छन् । नेपाल सगरमाथाको देश, गौतम बुद्धजस्ता शान्तिका अग्रदूत जन्मिएको देश भन्नुका अलावा ‘हिन्दूहरूको देश’ भन्ने पहिचान पनि यसको रहँदै आएको हो । हामीले पढ्ने र सुन्ने गरेका छौँ कि कतिपय मुलुकले इस्लाम धर्मका कारण आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् भने त्यस्तै कतिपय मुलुक जो इसाई राष्ट्रको रूपमा परिचित छन् तिनका राष्ट्रप्रमुखहरूले जिम्मेवारी सम्हाल्दा कुरान वा बाइबल शिरमा राखेर राष्ट्र र जनताप्रति शपथ लिएको देख्न–सुन्न पाइन्छ । साथै कहीँकतै बुद्धिष्टहरूको देश भनेर पनि आफ्नो चिनारी कायम भएको देख्न–सुन्न सकिन्छ । तर, दुर्भाग्य ! नेपालमा हिन्दूराष्ट्रको रूपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित भइसकेको पहिचान अहिले अग्रगामी राजनीतिक परिवर्तनको वहानामा समाप्त गरिएको छ । तथापि, हिन्दूराष्ट्रको रूपमा पहिचान स्थापित भएको देश हुनाले यो पहिचानलाई प्राविधिक रूपले मेटाउन कसैले चाहेर पनि व्यहारमा सम्भव छैन ।
तर त्यसो भन्दैमा नेपालमा हिन्दू धर्मप्रति कुनै खतरा नै छैन भनी ढुक्क हुने अवस्था भने देखिँदैन । हिन्दूधर्मको रक्षार्थ अहिले धेरै कोणबाट विभिन्न सङ्घ/संस्था वा समूहहरू क्रियाशील छन् र नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथिको बहस र छलफल पनि गाउँगाउँसम्म पु-याउने काम भइराखेको अवस्थामा अब हिन्दू धर्मावलम्बीहरू अत्यन्तै चनाखो भई कुन कारण र अपराधले हिन्दूराष्ट्र नेपाल धर्मनिरपेक्षता घोषणा गरियो त्यसको चित्तबुझ्दो जवाफ खोज्नैपर्छ । अन्यथा नेपालको पहिचान बनिसकेको हिन्दूराष्ट्र नेपाल कायम गराउन सबै नेपाली सक्रियताकासाथ लाग्नुपर्दछ । यद्यपि कुनै पनि धर्म होस् वा राजनीतिक दर्शन त्यसमा कुनै दोष नै हुँदैन भन्ने होइन, तर त्यसमा त्यस्ता धर्म र दर्शनलाई निमिट्यान्न पार्न खोज्नु न्यायसङ्गत देखिँदैन । त्यसकारण नेपाल हिन्दूराष्ट्र कायम रहँदासम्मको समयको समीक्षा गर्दै त्यस अवधिमा भए–गरेको केही कमजोरीलाई सच्याउँदै हिन्दूधर्मको रक्षा गर्न अब ढिलाइ गर्नुहुँदैन । हिन्दूधर्मप्रति कटाक्ष गर्दै धर्म परिवर्तनसम्मको निर्णयमा पुग्ने स्वतन्त्र भारतीय संविधानका निर्माता बाबासाहेब अम्बेडकरको भनाइ उल्लेख गर्न सान्दर्भिक देखिएकाले उनीहरूले सन् १९३६ मे ३० मा मुम्बईको एक भाषणमा दिएको अभिव्यक्ति अत्यन्तै मार्मिक र हृदयस्पर्शी छन् । डा. अम्बडेकरकै भाषामा ‘हिन्दूधर्म मेरो मनमा जच्दैन किनभने जुन धर्मले हामीलाई मन्दिरमा पाइला टेक्न दिँदैन, पँधेरामा पानी भर्न र पिउन दिँदैन, आफ्ना स्कुलहरूमा हामीलाई पढ्न दिँदैन र हरेक कुरामा हामीलाई अपमानित गर्दछ त्यस्तो धर्म हामीलाई किन चाहियो ? भन्ने विचारप्रति हिन्दूधर्मका प्रकाण्ड विद्वान् र अनुयायीहरूको गम्भीरतापूर्वक हिन्दूधर्मका कट्टरपन्थी धारलाई सच्याउन भने अवश्य पनि कञ्जुस्याइँ र ढिलाइ गर्नुहुँदैन । यदि त्यहीँनेर चुकियो भने निश्चिय पनि हिन्दूधर्मका विरोधीहरू जो आफैँ हिन्दू भएर पनि आत्मघाती काममा लागेका छन् तिनीहरूलाई र इसाईकरणको बाटो सहज गरिदिएको मात्र ठहर्छ ।
तसर्थ जतिसुकै हिन्दूविरोधी संविधान निर्माण गर्ने दुष्प्रयास भए पनि हिन्दूहरूको एकता रहँदासम्म नेपालको पहिचान हिन्दूराष्ट्र नै कायम रहनेछन् । नेपालको राष्ट्रिय पोसाकबारे डा. बाबुराम भट्टराई नेतृत्व सरकारले नेपालको दौरा–सुरुवाललाई मेटाउने प्रयास गरे पनि दुनियाँमा जहाँ गए पनि दौरा–सुरुवात नेपालको राष्ट्रिय पोसाक हो भन्नेमा कुनै विवाद नै आउँदैन र आएन पनि । त्यसैले दौरा–सुरुवाल नेपालको राष्ट्रिय पहिचान बनिसकेको छ । बेलामौकामा नेपालको राष्ट्रिय पहिचानमाथि कालोबादल मडारिन्छ, तर छिनभरमा सफा भएर जान्छ । एकपटक गौतमबुद्धको जन्मथलोबारे पनि चरम विवाद र बहस चलेको धेरै लामो समय भएको छैन । तथापि त्यसका बाबजुद पनि आखिर ‘सत्यमेव जयन्ते’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा नेपाल गौतमबुद्धको देशमा नै सम्बोधन गरेपछि त्यस्तो विवाद स्वतः हटेर गयो । त्यस्तै संसारको सबैभन्दा उच्च हिमशिखर सगरमाथाका सम्बन्धमा पनि चीनले आफ्नो दाबी गर्ने प्रयत्न गरे पनि तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको दह्रो अडानपछि नेपालकै हो भन्न कर लागेको भन्ने विभिन्न प्रमाणहरू भेटिन्छन् । नेपालको राष्ट्रिय पहिचानमाथि यसरी अनेक वक्रदृष्टि लागिरहने गरेको पाइन्छ । अहिले आएर नेपालको अन्तरिम संविधानमा धर्मनिरपेक्ष घोषणा गरेर नेपालको पहिचान बनिसकेको हिन्दूराष्ट्रप्रति कालो बादल मडारिराखेको अवस्थामा हिन्दूधर्मका विद्वान्हरूले विशेष गरेर हिन्दूधर्मलाई दलितमैत्री बनाउँदै, त्यहाँभित्र भए–गरेका कमी–कजोरीलाई हटाउँदै जाने प्रयत्न भने गर्नैपर्छ । व्यवहारमा जातीय भेदभाव र छुवाछुतले धेरै असन्तोष र आक्रोश पनि जन्माएको छ । यो यथार्थतालाई आत्मसात् गर्दै समानुकूल सुधार गर्दै अघि बढेमा नेपालको राष्ट्रिय पहिचान स्थापित भइसकेको हिन्दूराष्ट्रमाथि लाग्ने क्षणिक कालाबादलहरू धेरै टिक्न सक्ने छैनन् ।
त्यसकारण हिन्दूधर्म धर्म मात्र नभई एउटा परम्परा र संस्कृतिको रूपमा बुझ्नुपर्छ । परम्परा र संस्कृति कुनै पनि राष्ट्रका धरोहर हुन् । जसले राष्ट्रको पहिचान कायम गरिराखेको हुन्छ । राजनीतिक परिवर्तनको नाममा अनायासै जनआन्दोलन ०६२/६३ को भावनाविपरीत षड्यन्त्रपूर्ण ढङ्गले हिन्दूधर्मप्रति कठोर प्रहार हुन गयो । यसको कारण र औचित्य सावित हुन नसक्दै इसाईहरूमा देखिएको अस्वाभाविक उत्साह र सक्रियताले हाम्रा धर्मनिरपेक्षवादी नेताहरूको वास्तविक अनुहार उदाङ््गिएको हुनुपर्छ । त्यसकारण प्रत्येक नेपालीको मनमनमा स्थापित हिन्दूराष्ट्र नेपाल राष्ट्रिय पहिचान हो, त्यसलाई कसैले हल्लाउन नसक्ने र कसैको आत्मसम्मानमा चोट नपुग्ने गरी हिन्दूधर्मको मर्म र भावनालाई जीवन्त राख्न हिन्दूवादीहरूको काँधमा गहन जिम्मेवारी आएको छ । तर, धर्मको आडमा राजनीतिक दुनो सोझ्याउने प्रवृत्ति भने पक्कै पनि सकारात्मक मान्न सकिँदैन । यसर्थ वर्तमान अवस्था हिन्दूराष्ट्रको नेपालको पहिचानमाथि कालोबादल मडारिराखेको छ, एकताबद्ध भएर पन्छाउनैपर्छ अन्यथा नेपालीको राष्ट्रिय पहिचान धरापमा पर्ने निश्चित छ ।