उमेर पुगेका र नेपाली राजनीतिलाई अध्ययन गर्नेहरूले मात्रै होइन अब सानासाना स्कुले नानीबाबुहरूले पनि बुझिसके कि नेपाल सम्पूर्ण रूपले परनिर्भर भएको छ । २१औँ शताब्दीको यो आधुनिक युगमा मुलुकभित्र रायो र मुलाको साग उत्पादन गरेर मात्र आत्मनिर्भर बन्न सकिँदैन । अन्य धेरै चिज उत्पादन गर्नुपर्छ । विश्व यतिबेला हतियार उत्पादन गर्ने, हवाईजहाज उत्पादन गर्ने, कम्प्युटर र मोबाइल उत्पादन गर्ने र अर्को कोणबाट हेर्दा जलविद्युत् र अन्न उत्पादन गर्नेहरूको कब्जामा छ । यी तोकिएका सामग्रीमध्ये सबै सामग्री उत्पादन गर्नेहरू त शक्तिशाली हुने नै भए कम्तीमा एक वा दुई सामग्री मात्रै उत्पादन गरे पनि बाँच्न र धानिन सक्ने अवस्था बन्दो हो, तर नेपाल आज कुनै पनि सामग्री उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाल र नेपालीलाई चाहिने सम्पूर्ण सामग्री विदेशीसँग मागेर र किनेर ल्याएको छ । किन्नका लागि नेपाली युवायुवतीले विदेशमा श्रम बेचेर पठाएको रेमिट्यान्स प्रयोग भएको छ । यसरी आफूले दान दिएर बचाएको मुलुक भन्ने बुझेपछि विदेशीले राज्यसञ्चालनको केन्द्रबिन्दु जो राजनीति हो– यसमाथि सशक्त ढङ्गले हमला गरे, हस्तक्षेप बढाए । कुनै राष्ट्रले सीधा हस्तक्षेप गरे, कुनैले घुमाएर गरे, तर धेरैथोरै हस्तक्षेप हैसियतअनुसार थुप्रैले गरे । यो क्रम आज पनि रोकिएको छैन । सीधा हस्तक्षेप गर्न मिल्दा सीधै गरे, नमिल्ने अवस्थामा राजनीतिक दलका उपल्ला नेताहरूलाई आपसमा जुधाउने काम गरे । नेपाली राजनीतिमा विदेशी अनावश्यक चासो र हस्तक्षेप भएको तथ्यसँग मिल्दोजुल्दो एउटा पुरानो कथा यस्तो छ ।
घना जङ्गलमा थुप्रै जीवजन्तु थिए । जीवजन्तुमा पनि कसले कसलाई कजाउने भन्ने प्रतिस्पर्धा हुने नै भयो । अरू प्राणी सोझा र शारीरिक बनोटका हिसाबले कमजोर थिए । कमजोरलाई अरूले कजाउने वा शासन गर्ने भोक पलाउने कुरै भएन । जो बलियो र धूर्त हुन्छ उसैलाई अरूमाथि शासन गर्ने भोक जाग्ने हो । जङ्गलमा सबैभन्दा बलियो बाघलाई मानिन्थ्यो । उसले जङ्गलको एक भाग कब्जा गरेर शासन गरेको थियो । बाघको क्षेत्रका जीवजन्तुले उसको आदेश मान्नुपथ्र्यो । अर्को भाग कब्जा गरेर बँदेल बसेको थियो । बँदेलको शासन सहन अर्को भागका जीवजन्तु बाध्य थिए । जेनतेन जङ्गलको शासन व्यवस्था चलेकै थियो । एक भाग बाघ र अर्को भाग बँदेलले चलाएका थिए । मृग, खरायो, कछुवा, मयुरलगायतका जीवजन्तु जता गए पनि शासित नै हुनुपथ्र्यो । यो भागमा बसे बँदेलको शासन, ऊ भागमा बस्यो बाघको शासन । उनीहरूका लागि कुनै छनोट थिएन । तर, त्यही जङ्गलमा एउटा धूर्त स्याल पनि थियो । ऊ कहिले बाघको शासन क्षेत्रमा जान्थ्यो कहिले बँदेल क्षेत्रमा । जता गए पनि उसलाई उकुसमुकुस हुन्थ्यो । उसको मनमा अरूको शासनमा बस्ने नभई आफैँ शासन गर्ने भोक जागेको थियो । त्यो सजिलो थिएन । त्यसका लागि उसले बाघ र बँदेल दुवैलाई समाप्त पार्नुपथ्र्यो । उसले उपाय रच्यो ।
एक दिन बाघको शासन क्षेत्रमा गयो र बाघलाई प्रशंसा गर्न थाल्यो । ‘कति सुन्दर छाला हजुरको, कति बलियो ज्यान हजुरको, आँखा पहेँला रातिमा बत्ती नै नचाहिने जस्तो’ आदि–आदि । पहिले स्यालले बाघलाई प्रशंसाको पहाडमा चढायो र पछि एउटा प्रस्ताव राख्न अनुमति माग्यो । बाघले अनुमति दिएपछि भन्यो, ‘यस्ता महान् बाघज्यूसँग मितेरी साइनो गाँस्न पाए म सीधै स्वर्ग पुगेको ठान्थेँ ।’ प्रशंसा सुनेर होस् गुमाएको बाघले तुरुन्तै ‘हुन्छ नि’ भन्यो । बाघ र स्यालले मितेरी साइनो गाँसे । केही दिनपछि स्याल बँदेलको क्षेत्रमा प्रवेश ग-यो । बँदेललाई भेटेर सुहाउँदो तरिकाले प्रशंसा ग-यो । त्यसरी नै मितेरी साइनो गाँस्यो । कहिले एउटा मीतको शासन क्षेत्रमा डुल्यो कहिले अर्कोको क्षेत्रमा । एक दिन स्यालले बाघलाई भन्यो, ‘मीतज्यू, त्यो उतापट्टि बसेर शासन गरिरहेको बँदेल बजियाले हजुरलाई हेप्छ, आफूभन्दा निकै कमजोर र बुद्धि नभएको भन्छ ।’ स्यालको कुरा सुनेर बाघ बँदेलसँग रिसायो । यही पाराको कुरा बँदेलकहाँ गएर पनि सुनायो । बँदेल पनि बाघसँग खुब रिसायो । दुवै एक–आपसमा रिसाएको थाहा पाएपछि एक दिन फेरि बाघलाई गएर बँदेलले खुला चौरमा लडाइँका लागि ललकारेको खबर सुनायो । त्यही खबर बँदेललाई पनि सुनायो । रिसले चुर भएका बँदेल र बाघ एक–आपसमा लड्न तयार भए । जब बाघ र बँदेल लड्नका लागि आमनेसामने भए त्यही बेला स्यालले रूख पछाडि छेलिएर भन्यो, ‘म छु मीतज्यू, चिन्ता नलिनुस् ।’ बाघ र बँदेलको लडाइँ सुरु भयो । लड्दै गर्दा स्याल बेलाबेलामा भन्थ्यो, ‘ठोक्नुस् मीतज्यू ठोक्नुस् ।’ स्यालले ठोक्नुस् मीतज्यू भनेर आफूलाई तागत दिएको दुवैले सोच्थे । तिनलाई दुवैसँग स्यालले मितेरी नक्कली साइनो गाँसेको कुरा पत्तो हुने कुरै थिएन । यसरी स्यालले जोस्याएर दुवैलाई धेरैबेरसम्म जुधायो । अन्तिममा बँदेल म-यो । बाघ सिकिस्त घाइते भयो । त्यही सिकिस्त घाइते भएको मौका छोपी स्यालले बाघलाई आक्रमण गरेर मा-यो । दुवै क्षेत्रको शासन आफ्नो हातमा लिएर छट्टु स्यालले आफ्नो शासक बन्ने इच्छा पूरा ग-यो ।
नेपालका राजनीतिक दलका नेताहरूलाई यही तरिकाले विदेशीले जुधाइरहेका छन् र नेपाली राजनीतिलाई जहिलेसुकै धमिल्याइरहेका छन् । स्यालले बाघ र बँदेललाई प्रशंसा मात्रै दिएको थियो, तर विदेशीले नेपालका राजनीतिक दलहरूलाई सीधा वा घुमाएर पैसा दिएको छ । चुनाव लड्न पैसा दिएको छ । भौतिक विकास गर्न पैसा दिएको छ । नेताका छोराछोरीलाई विदेशमा पढाउन छात्रवृत्ति दिएको छ । घर किनिदिएको छ । गाडी किनिदिएको छ । उच्च भौतिक सुविधा दिएको छ । यिनीहरूमध्ये जुन पार्टी सरकारमा गए पनि मनग्य दान–दक्षिणा दिएको छ । भौतिक विकासका लागि नगन्य ब्याजमा पैसा दिएको छ । यसरी दिन मिल्ने चिजजति सबै दिएर विदेशीले नेपाली नेतालाई कजाएको छ । स्यालले बाघ र बँदेललाई जुधाएजसरी जुधाएको छ । एकथरी विदेशीले अनेक आश्वासन दिएर तत्कालीन राजा ज्ञानेन्द्रलाई माओवादीविरुद्ध कडा हुन अह्राए । त्यो कुरा थाहा पाएपछि अर्को विदेशीले माओवादीलाई बलियो बनाउनतर्फ लागे । राजाले सके दल र माओवादीलाई लडाउने, माओवादीले सके दल र राजालाई लडाउने, तत्कालीन संसदीय दलहरूले सके माओवादी र राजालाई लडाउने खेल खेलिएको अवस्थामा विदेशीले नेपाली राजनीतिक शक्तिहरूलाई नै आपसमा लडाए । राजाले हारे । एकलट संसदीय दलहरू र माओवादीले जिते । अर्कोपटक फेरि लडाए । त्यो लडाइँमा काङ्ग्रेस–एमालेलगायतका दलहरू हारे । माओवादीले जित्यो । विदेशीले फेरि लडाए । काङ्ग्रेस–एमालेले जिते, माओवादीलाई हराए । यसरी विदेशीले आफ्नो धन र शक्तिको तागतमा नेपाली राजनीतिक शक्तिहरूबीच मात्रै लडाइँ चर्काएनन् दलभित्रै पनि खेले । प्रचण्ड र वैद्यबीच घुसेर पार्टी फुटाइदिए । बाबुराम र प्रचण्डबीच सधैँभरि किचलो खडा गरिदिए । विदेशी एमालेभित्र छिरे । किचलो मच्चाए । काङ्ग्रेसभित्र धेरै लामो समयअघि छिरेर स्थायी रूपले बसेका छन् । अन्य साना–साना दलहरूभित्र पनि हुँलडो मच्चाइरहेका छन् । पैसा लगानी गरेर कहिले जातको कुरा गर्न लगाउँछन्, कहिले क्षेत्रको, कहिले नयाँ संविधानमा धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्न आइपुग्छन् त कहिले के भन्छन् कहिले के ।
यसरी विदेशीले हाम्रा राष्ट्रिय राजनीतिक शक्तिहरूलाई आपसमा लडाइरहेका छन् । राष्ट्रिय मेलमिलाप कायम गर्नुपर्छ, मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने आत्मीय भावना प्रचण्ड, सुशील, केपीहरूमा नभएको होइन । तर, बाध्यता यही हो ‘विदेशीले मिल्न दिँदैनन् ।’ यदि मिल्ने हो भने विदेशी सहायता लिन बन्द गर्नुपर्छ । मुलुकलाई हरेक कोणबाट आत्मनिर्भर बनाउनुपर्छ । जबसम्म मुलुकलाई चाहिने सामग्री उत्पादन गर्नतर्फ यो देशका राजनीतिक दल र जनता लाग्दैनन् त्यतिबेलासम्म विदेशीले नेपाली छातीमा लात्ती हिर्काइरहनेछन् । नेपाली राजनीतिक दलहरूले त्यतिबेलासम्म जनताको पक्षमा हुनेगरी संविधान पनि बनाउन सक्ने छैनन् । बनाए पनि विदेशीले फेरि कुनै नेपाली आन्दोलनकारी शक्ति उत्पादन गर्नेछन् र फेरि नेपाललाई यही अवस्थामा घुमाइरहनेछन् । अरूको मिहिनेतमा खाने बानी नेपालीलाई धेरै अघिदेखि लागेको छ । यही बानीका कारण नेपाली–नेपालीलाई आपसमा जुधाउन विदेशीलाई धेरै सजिलो भएको छ । फेरि आपसमा जुध्दा जुध्नेहरू सधैभरिका लागि कमजोर हुन्छन् र गन्तव्यमा पुग्न सक्दैनन् भन्ने सत्य खासगरी राजनीतिक क्षेत्रमा आबद्धहरूले बुझ्नैपर्छ । सत्य महसुस गर्ने बेला अरूको भन्दा ठूला भनिएका राजनीतिक दलका नेतृत्वपङ्क्तिको हो र आफूलाई रूपान्तरित गर्ने बेला पनि यही हो । जसले जताबाट हेरे पनि रूपान्तरित हुनुपर्ने अनुहारमा खासगरी तीन ठूला दल नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीहरूकै नेताका अनुहारहरू देखापर्छन् । वैशाख १२ को भूकम्पले यसपटक नेपाललाई नराम्रोसँग थला पारेको छ । यो अवस्थाबाट मुलुकलाई चाँडोभन्दा चाँडो तङ्ग्य्राउनुपर्छ । विश्वयुद्धमा पराजित भएर जापानले चेत्यो । पटकपटकको भूकम्पको क्षतिले पनि उसको आँखा खुल्यो र जापानी जनता जापान बनाउन कम्मर कसेर लागे । त्यसको परिणाम आज जापान संसारका दुःखी–गरिब राष्ट्रलाई चन्दा दिने हैसियतमा पुगेको छ । अब हामी नेपालीले पनि यो भूकम्पको क्षतिलाई मुुलुक बनाउने अवसरको रूपमा प्रयोग गर्नुपर्छ । फेरि पनि यसका लागि राष्ट्रिय एकताको खाँचो छ । यसका लागि नेताहरू हरहालतमा एकढिक्का हुनैपर्छ, दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नतर्फ लाग्नैपर्छ, आपसको छुद्र द्वन्द्व बन्द गर्नुपर्छ । अब जे गर्छन् सुशील, केपी, प्रचण्ड, गच्छदार, उपेन्द्र, राजेन्द्र, पशुपति र कमल थापाहरू नै गर्छन् । आगे यिनकै मर्जी ।
प्रतिक्रिया