संयुक्त राज्य अमेरिका अवसरको मुलुक हो । अर्को शब्दमा भन्नुपर्दा आर्थिक स्वतन्त्रता उपयोग गर्न सकिने देशको रूपमा हामी अधिकांशलाई थाहा भएकै कुरा हो । भगवान्ले पनि ‘तँ आँट म पूरा गरिदिन्छु’ भन्छन् रे । आँट, जाँगर र इच्छाशक्ति हुँदा केही न केही व्यवसाय गर्न असम्भव पनि छैन यहाँ । वर्षौंसम्म अर्काको काम गरेर मात्रै थाकेका थुप्रै नेपाली यहाँ छन् । थुप्रै नेपालीले अर्काको काम गरेर पनि केही न केही आर्थिक हैसियत नबनाएका भने होइनन् । यो यथार्थता एकातिर छ भने अर्कोतिर आँट, जाँगर र क्षमता भएर पनि सानातिना व्यवसायका लागि चाहिने आर्थिक स्रोत नहुनु पनि अर्को महत्वपूर्ण दुःखद् पक्षको रूपमा रहेको छ । स–साना व्यवसायका लागि आर्थिक स्रोत भएर पनि आवश्यक सुझाव, ज्ञान र क्षमताको अभाव भएका नेपाली समुदाय र ज्ञान, सीप र क्षमता भए पनि आर्थिक स्रोतको अभाव भएका अर्को नेपाली समुदायको पक्षमा र उनीहरूका लागि आवश्यक पर्ने केही उत्प्रेरणाहरूबारे यस लेखमा समेट्न खोजेको छु ।
मुख्य रूपमा आफ्नो साहु आफैँ बनौँ भन्ने हो । आफ्नो साहु आफैँ बन्दा यसका थुप्रै फाइदा र सकारात्मक पक्षहरू भए पनि चुनौती प्नि त्यत्तिकै रूपमा रहेका हुन्छन् । अर्काको काम गरेर धनी हुनेहरू कमै छन् र यो असम्भव पनि छ । दुःख गरेर कमाएको धन व्यवसायमा लगानी गर्दा डुबिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक पनि हो । यसका लागि धेरै कुराको हेक्का राख्नुपर्ने हुन्छ । कुन व्यवसाय गर्ने, कस्तो व्यवसाय गर्दा लगानीको प्रतिफल चाँडै पाइन्छ भन्नेतर्फ पनि उत्तिकै संवेदनशील रूपमा ध्यान दिनुपर्ने हुन्छ नै । यदि आफूले गरेको कामसँग मेल खानेगरी व्यवसाय गरेमा केही सामान्य ज्ञान हुने भएकाले अन्य कुनै नौलो व्यवसायप्रति हुने आशङ्का भने कम हुन्छ नै । जोखिम मोल्ने आँटचाहिँ गर्नैपर्छ । आफू जसरी पनि व्यवसाय गर्छु भन्ने आत्मनिर्णय, घरपरिवारमा सल्लाह र सहमतिपछि व्यवसायको छनोट, त्यसको प्रकृति, व्यवसायको खोजी र स्थान छनोट महत्वपूर्ण पक्षहरू हुन् ।
अन्धविश्वासमा परी अन्धभक्त भएर व्यवसायको छनोट र व्यवसाय खरिद गर्नु अत्यन्त जोखिम र यो दिगो नहुन सक्छ । नयाँ वा पुरानो व्यवसाय खरिद गर्दा आफ्नो साथमा अनुभवी मानिस, भाइसाथी वा आफन्तको सुझावका साथै सरसहयोग पनि आवश्यक पर्छ । व्यवसाय छनोट वा खरिदपश्चात् आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित वकिल, भुक्तभोगी भाइसाथी वा आफन्तको सहयोगबिना व्यवसायको पहिचान र यसलाई अघि नबढाउँदा राम्रो हुन्छ । यसका लागि आवश्यक पर्ने भाषा, कानुनी ज्ञान र प्रक्रियाहरूमा अत्यन्त सजग नभएमा फस्न सकिने खतरा बढी हुन्छ । कम्पनी दर्ता तथा आवश्यक प्रमाणपत्रहरूको प्राप्तिमा पनि त्यत्तिकै झन्झटहरू छन् । तर, सहयोग भएमा त्यति कठिन पनि छैन । व्यवसाय खरिदपछि कसरी विभिन्न कानुनी पक्षहरूको पालना गर्ने तथा स्थानीय रूपमा आफूलाई समायोजन र आर्थिक व्यवस्थापनको पक्षहरू दिगो व्यवस्थापनका लागि आवश्यक पर्ने अत्यन्त महत्वपूर्ण पक्षहरू हुन् । समस्या पर्दा नआत्तिने तथा सहज र राम्रो हुँदा नमात्तिने प्रवृत्तिको विकास आफैँबाट सुरु गर्दा व्यवसायलाई दिगो बनाउन सकिन्छ पनि ।
अमेरिकामा सबैभन्दा राम्रो पक्ष भनेको यहाँको कानुन, साना व्यवसायप्रति राज्यको सहुलियत र सुरक्षाहरू महत्वपूर्ण छन् । अर्कोतर्फ आँट, जाँगर र सीप भएर पनि आर्थिक सबलता नभएका नेपालीहरू पनि अमेरिकामा ठूलो सङ्ख्यामा छन् । अमेरिकामा सबैभन्दा महत्वपूर्ण सराहनीय पक्ष भनेको सबै काम र व्यवसायप्रति उत्तिकै सम्मान छ । जिउनका लागि गैरकानुनी कामबाहेक जे काम गरे पनि फलानोले यसो ग-यो, उसो गर्दै छ भन्ने असभ्य भाषा यहाँ हुँदैनन् पनि । यहाँ केही अपवादबाहेक मानिसलाई अर्काको बारेमा बढी चियोचर्चो गर्ने र खसालेर बोल्ने फुर्सद पनि छैन । सरसापट गरेर व्यवसाय गर्न पनि नसकिने होइन । तर, कसैले पनि कसैबाट बढी अपेक्षा गर्न सकिँदैन र गर्नुहुँदैन पनि । यी र यस्तै जीवनशैलीका महत्वपूर्ण गम्भीर पाठहरू मानिसलाई अमेरिकाले सिकाउँछ । अमेरिकामा कुनै व्यवसाय गर्न पनि बसोवास गरिसकेपछि आफ्नो बसाइको कानुनी आधार हुनैपर्छ । कानुनी आधार नभएसम्म कम्पनी दर्ता गर्ने र विभिन्न सरकारी तथा निजी क्षेत्रबाट प्राप्त गर्नुपर्ने प्रमाणपत्रहरू प्राप्त गर्न सकिँदैन । सङ्घीय सरकार र राज्य सरकारबाट प्राप्त हुने प्रमाणपत्र, करको नियम र अवसर प्राप्तिका लागि आफ्नो कानुनी कागजात हुनैपर्छ । कानुनी आधार बनाइसकेपछि आर्थिक अनुशासनमा रहेर विविध खर्चको बक्यौताहरू समयमा तिरेको छ कि छैन भन्ने कुरा जुनसुकै संस्थाहरूले पनि आफ्नो अनुमतिमा हेर्न सक्नेछन् । यदि आर्थिक अनुशासन र बिल बक्यौताहरू समयमा तिरेको सफा पृष्ठभूमि भएमा विभिन्न वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न सक्दछन् । यहाँ सरसापट र ऋण लिएर व्यवसाय गरिरहेका नेपालीहरू ठूलो सङ्ख्यामा छन् । अमेरिकामा नेपालीको पहुँच भनेकै साना व्यवसायमा रहेको छ । ग्यास स्टेसन, ग्रोसरी स्टोर, ट्राभल एजेन्सी, कानुनी सेवा, निर्माण र रेस्टुरेन्ट, आयात–निर्यात र खुद्रा व्यवसाय आदिमा अधिकांश नेपाली व्यवसायीको लगानी रहेको देखिन्छ । नेपालीको बस्तीमा वृद्धिसँगै भएका स्रोत, साधन, सीप र ज्ञानलाई लगानीमा ढाल्नेतर्फ नेपालीको अग्रसरता बढिरहेको देखिन्छ । आवश्यक समयमा आवश्यक सुझाव, सहयोग र स्रोतको आदान–प्रदान गर्न नसक्ने, गर्न नचाहने र समुदायप्रतिको उत्तरदायित्वको आवश्यकता महसुस कम भएको हो कि भन्ने देखिन्छ । तर, केही वर्षयता नेपालीको विभिन्न व्यवसायप्रति बढ्दै गइरहेको आकर्षण, लगाव, लगानी र उत्साहजनक सहभागितालाई हेर्ने हो भने यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । भएका स्रोत, साधन र ज्ञानलाई आफ्नो समुदायका लागि सहयोगी बन्ने र सामूहिक प्रगतिको धारणालाई अगाडि बढाउनुपर्ने देखिन्छ । बढ्दै गइरहेको नेपालीको लगानीको सकारात्मक प्रभावलाई नेपालको आर्थिक सम्मुनतिसम्म जोड्न हामी सबैको उत्तरदायित्व र प्रतिबद्धताको खाँचो पर्दछ ।
अमेरिकाको विभिन्न राज्यमा नेपालीले जोखिम मोलेर भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन् । यिनै नेपाली व्यवसायीको पहिचान, तथ्याङ्क र उनीहरूको समस्या र चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकताको महसुस बढ्दै गइरहेको छ । भएका स्रोत, साधन, ज्ञान र क्षमतालाई सामूहिक रूपमा अघि बढाउन सकेमा अमेरिकाको व्यावसायिक क्षेत्रमा नेपाली व्यवसायीहरूको थप प्रभाव र सङ्ख्यात्मक हिसाबले नयाँ पिँढीको आकर्षण बढ्दै जाने देखिन्छ । यसका लागि एकरूपता, एकजुट हुने ज्ञानको आदान–प्रदान हुने आवश्यकता टड्कारो रूपमा देखिन्छ ।
प्रतिक्रिया