मोजाम्बिकमा सामुद्रिक आँधीका कारण हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

मोजाम्बिकमा सामुद्रिक आँधीका कारण हजारभन्दा बढीको मृत्यु भएको आङ्शका


मोजाम्बिकमा यसै हप्ता आएको ‘इडाई’ नामक सामुद्रिक आँधीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको आशंका गरिएको छ । जिम्बाबेको छिमेकीमा रहेका नगरहरूमा सयौँको संख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई सय व्यक्ति बेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिएका हुन् ।

आधिकारिक रूपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको संख्या एक हजारभन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गरेको सम्बोधनमा जनाएका छन् ।

प्रतिघन्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह सहर बेयरामा आएको बाढीको कारण कैयौँ किलोमिटर सडक र घरहरू नै बगाएको छ । गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पुऱ्याउन थालेको थियो, तर उद्धारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।

इडाई नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताए ।

राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसको शव तैरिरहेको देखेको बताए । करिब पाँच लाख मानिस बसोवास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपुऱ्याएको कुनै एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताएका छन् ।