महाधिवेशनको सम्मुख रहेको नेपाली काङ्ग्रेस अबका दिनको बाटो र कार्यभारबारे स्पष्ट हुनुपर्ने देखिएको छ । संविधानको मस्यौदा, त्यसमाथि जनताबाट आएका सुझाव, अबका निर्णय र पार्टीको अधिवेशनलाई जनताले नजिकबाट हेरिरहेको अवस्थामा काङ्गे्रसले राष्ट्रिय राजनीतिमा मात्र नभएर आन्तरिक व्यवस्थापनलाई पनि सुदृढ तुल्याउनुपर्ने भएको हो ।
पार्टी अधिवेशनको अघिल्तिर उभिएको काङ्ग्रेस त्यस किसिमले जीवन्त देखिएको छैन । अधिवेशन भन्नेबित्तिकै नेतृत्व र प्रतिस्पर्धाको कुरा आउँछ । आमकार्यकर्तालाई एकतामा बाँध्ने, क्रियाशील राख्ने र जिम्मेवारी दिने काम पनि महाधिवेशनले गर्दछ । काङ्गे्रसमा हिजोका सक्रिय र जुझारु व्यक्तिहरू ओझेलमा परेका छन् । निष्क्रिय छन् । यी सबैलाई पार्टी नेतृत्वले समेट्न सकेको छैन । तारानाथ रानाभाट, खुमबहादुर खड्का, केबी गुरुङ, मार्शलजुलुम शाक्य, गोविन्दराज जोशी, बलदेव मजगैया, पुरुषोत्तम बस्नेत, हरिबोल भट्टराई, लक्ष्मण घिमिरेलगायतका नेताहरू काङ्ग्रेसमा किनारामा परेका छन् । पार्टीका कतिपय नेता तथा कार्यकर्ताले यसबीच पार्टीले सहमति जनाएको धर्मनिरपेक्षताभन्दा हिन्दूराष्ट्र नेपाल वा धार्मिक स्वतन्त्रतासहितको नेपाल भन्ने अभिमत दिए । यस्तो अभियानमा कँङ्ग्रेसकै केही नेताहरू पनि देखिनुभयो । यी विचार राष्ट्रिय मुद्दा बने ।
अबको काङ्ग्रेसले जनताका यस्ता चाहनालाई सम्बोधन गर्नका लागि तत्परता देखाउनुपर्छ । पार्टी सभापति को हुने भन्ने प्रश्न गर्नुभन्दा पनि कसरी धेरै कार्यकर्ताका विचारलाई समेट्ने भन्नेमा काङ्ग्रेस नेतृत्वले ध्यान दिन जरुरी छ । आन्तरिक बहुलवादलाई अभ्यासमा नउतारी काङ्ग्रेसको नेतृत्वले मुलुकमा बहुलवादको विकास गर्न सक्दैन । पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हुन सकेमा उहाँ र काङ्ग्रेसमात्र होइन मुलुक नै सफल हुनेछ । कोइरालाले संविधान जारी गर्न नै अहिले आफूलाई केन्द्रित राख्नुभएको छ । यसले गर्दा उहाँको आगामी राजनीति पार्टीभन्दा माथि उठ्न सक्छ । जसको सङ्केत एमाओवादी नेताले पनि गरिसक्नुभएको छ । त्यस अवस्थामा पार्टीलाई आउने सरकारी नेतृत्वको दायित्वमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको भूमिका बढ्न सक्छ । त्यसमा पनि मिलाएर जाने हो भने सरकारको नेतृत्व गर्ने दायित्व देउवा र महाधिवेशनबाट एकमतले पौडेललाई पार्टी सभापति बनाउने हो भने काङ्गे्रसमा देखिएको खेमा मेटिएर जानेछ । पौडेललाई यसअघि नै कार्यवाहक सभापति बनाउने वचन सभापति कोइरालाले दिनुभएको अवस्थामा अबको काङ्ग्रेसको नेतृत्व व्यवस्थापनमा केही नयाँ अभ्यास गर्नैपर्छ । यसो गर्न सकेमा काङ्ग्रेस कार्यकर्ताले कोइरालालाई राष्ट्रको, देउवालाई सरकारको र पौडेललाई पार्टीको नेतृत्वमा देख्न पाउनेछन् । यस्तो राष्ट्रिय वातावरण बन्दै गएको छ, तर केही समय कसैले कुर्नुपर्छ ।
घामजत्तिकै छर्लङ्ग छ । कङ्ग्रेसमा अहिले दुई खेमा (कोइराला र देउवा) छन् । यी खेमा कार्यक्रम वा सिद्धान्तले बनेका होइनन् । अवसर नेतृत्वका लागि बनेका हुन् । रामचन्द्र पौडेलले कहिल्यै पनि खेमा बनाउनुभएन । अघिल्लो पुस्ताका कृष्णप्रसाद भट्टराई जसरी समन्वयवादी देखिनुभएको थियो अहिले पौडेल त्यही अवस्था र भूमिकामा हुनुहुन्छ । यस्तो भूमिका निर्वाह गर्ने पात्र कहिले ओझेलमा पर्छ त कहिले कमजोर देखिन्छ । तर, तीवब्र धु्रवीकरणबाट पार्टीलाई जोगाउन यस्तै भूमिका प्रभावकारी देखिन्छ । विगतदेखि काङ्ग्रेसमा यस्तै भूमिकाले पार्टीलाई एकताबद्ध बनाउँदै आएको हो ।
नेपाली काङ्ग्रेसभित्र बृहत् अभियानमा लाग्नुभएका खुमबहादुर खड्काले अबको काङ्ग्रेसमा पौडेलको भूमिकाबारे बोलिसक्नुभएको छ । काङ्ग्रेसले पार्टी कार्यकर्तामा लोकप्रिय खड्कालाई उपेक्षा गर्न सक्दैन । त्यसैले उहाँले उठाएका माग तथा दृष्टिकोणलाई पनि काङ्ग्रेसको अबको नेतृत्वले समेट्न सक्नुपर्छ । त्यो भनेको पार्टीभित्रको आन्तरिक बहुलवाद हो, जसलाई पार्टीभित्र बहुलवादी नेताका रूपमा स्थापित पौडेलले विशेष उठाइरहनुभएको छ । त्यसैले काङ्ग्रेसमा आएका विविध विचार पौडेलको नेतृत्वमा समेटिन सक्ने अवस्था छ । यसबीच काङ्ग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको सक्रियताले मात्र पार्टीका गतिविधिलाई जीवन्त राख्न सक्यो । बीपी विचार यात्रा र गणेशमान बलिदानी यात्राजस्ता अभियानले मात्र काङ्गे्रसलाई क्रियाशील बनायो । पार्टीले अधिकारिक रूपमा खासै सक्रियता देखाउन सकेन । खासगरी केही समय पार्टी सभापति सुशील कोइरालाको कमजोर स्वास्थ्य र प्रधानमन्त्रीको कार्यव्यस्तताले पार्टी ज्यादै निष्क्रिय रहन पुग्यो । कार्यकर्तालाई पार्टीका गतिविधले जोड्न नसकेको अवस्थामा पौडेल नेतृत्वको प्रतिष्ठानले नेताहरू बीपी र गणेशमानका योगदानलाई अक्षुण्ण राख्ने महान् कार्य गरेको छ ।
वर्तमान पार्टी नेतृत्वको कार्यकालमा तरुण दल र नेविसङ्घजस्ता सशक्त भ्रातृ संस्थाको महाधिवेशन हुनसकेन । एउटा राष्ट्रिय दैनिकले ‘नेविसङ्घको अधिवेशनलाई जोक्स’ नामकरण ग-यो । आठपटक घोषणा गरेर पनि सो सङ्घको महाघिवेशन हुन सकेन । यसले प्रजातन्त्रवादी युवाको नेतृत्व विकास मात्र अवरुद्ध भएको छैन, काङ्ग्रेस पनि कमजोर भएको छ । यस्तो अवस्था आउनुमा पार्टी नेतृत्व जिम्मेवार छ । तर, खासमा सभापति कोइराला र देउवा खेमाको तानातानले यो अवस्था आएको हो । यस्तो अवस्थामा समन्वय गरेर पार्टी, पार्टीका भ्रातृ संस्था र कार्यकर्तालाई एकतामा बाँध्न समन्वयवादी नेतृत्वको आवश्यकता बढ्दै छ ।
जसले जतिसुकै गुड्डी हाँके पनि यो मुलुकको राजनीतिक नेतृत्व काङ्ग्रेसले नै लिँदै आएको छ र फेरि पनि त्यो अभिभारा संविधान जारी गरेर काङ्ग्रेसले नै पूरा गर्दै छ । त्यसको पुष्टि गर्न पनि काङ्ग्रेसका तीन नेताले मुलुक र मुलुकवासीमा एकता र राष्ट्रिय नेतृत्वको सङ्केत देखाउनुपर्छ । त्यो भनेको एकताबद्ध नेतृत्व प्रस्तुति हो । पटकपटक प्रधानमन्त्री हुनुभएका नेता देउवाले पार्टीको सभापति हुने इच्छा राख्नु अस्वाभाविक होइन, तर यसो गर्दा काङ्ग्रेसभित्रको शक्ति सन्तुलन र सम्भावना बिग्रन सक्छ । अहिले काङ्ग्रेसमा कोइराला, देउवा र पौडेलले क्रमशः राष्ट्र, सरकार र पार्टीको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको छ । यो सम्भावनालाई नधमिल्याउन पनि देउवाले पार्टी सभापतिमा पौडेललाई सहयोग र समर्थन गर्नुहुने चर्चा चलेको छ । सभापति सुशील कोइराला यसअघि नै आफू एकपटक मात्र पार्टी सभापति हुने उद्घोषका साथ पौडेलको समेत सहयोगमा निर्वाचित हुनुभएको हो । आफ्ना प्रतिबद्धताविरुद्ध कोइराला सभापतिमा उठ्ने सम्भावना छैन, तर कोइरालालाई पुनः पार्टी सभापति बनाएर आफूहरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने मानसिकता कोइरालाका वरिपरि नभएका होइनन् । तर, यसले स्वयम् कोइराला र पार्टीको हित गर्दैन । कोइरालाले पार्टी सभापतिमा पौडेललाई ‘तयारी गर्न’ सङ्केत दिनुभएको कोइरालाको ज्यादै निकटस्थ स्रोतले बताएको छ । यस अवस्थामा पौडेलले कोइराला परिवारभित्रको प्रतिस्पर्धालाई पनि व्यवस्थापन गर्न आवश्यक देखिएको छ । सुझारु नेतृ सुजाता कोइराला, कार्यकर्तामा लोकप्रिय डा. शेखर कोइराला र बीपीपुत्र शशाङ्क कोइराला मात्र होइन उहाँहरूसँग जोडिने विभिन्न सम्भावना र चुनौतीलाई पनि पौडेलले समन्वयमा लाउनुपर्ने अवस्था छ । पौडेलले कोइराला र देउवा धारमा बाँडिएको काङ्ग्रेसलाई मात्र नभएर कोइराला परिवारभित्रको असहजतालाई पनि व्यस्थापन गर्न सक्नुहुन्छ । त्यसैले पौडेल सबैको साझा उम्मेदवारका रूपमा पार्टी सभापतिको तयारीमा हुनुहुन्छ । नेपाली काङ्ग्रेसमा भिन्न प्रकारको वैचारिक अभियानमा लाग्नुभएका नेता खुमबहादुर खड्कादेखि देउवा, कोइराला तथा कोइराला परिवारको नेतृत्व व्यवस्थापनका लागि पौडेलको समन्वयकारी भूमिका थप आवश्यक ठहरिँदै गएको छ । नेता पौडेलले पनि पार्टीभित्र विगतमा देखिएका तेरोमेरोको अन्त्य गर्न विशेष पहलका साथ विश्वास दिनुपर्छ । अहिले किनारामा परेका जुझारु नेताहरूलाई काङ्ग्रेसको मूलधारमा ल्याउन पौडेलले स्पष्ट पहल गर्न आवश्यक छ । यति भएमा राष्ट्र, सरकार र पार्टीको नेतृत्वमा काङ्ग्रेसको सम्भावनालाई कसैले छेक्न सक्दैन । यो सम्भावना मूलतः तीन नेताको सुझबुझ र एकतामा निर्भर रहन्छ ।
प्रतिक्रिया