धरान झिलमिल, विराटनगर पिलपिल– विनोद त्रिपाठी

धरान झिलमिल, विराटनगर पिलपिल– विनोद त्रिपाठी


Binod Tripathiबिजुलीले हैरान पा-यो, विराटनगरका व्यवसायी गणेश भगत वाक्क हुँदै भन्दै थिए, ‘मिनेटैपिच्छे विद्युत् बन्द हुन्छ ।’ विद्युत्को विकराल भोगेको छ यतिबेला पूर्र्वेली क्षेत्र । कुनैबेला मजजुर आन्दोलनले चर्चा पाएको विराटनगर विद्युत् आपूर्तिको चरम समस्याबाट ग्रस्त छ । प्रजातान्त्रिक व्यवस्थाका धरोहरको केन्द्रबिन्दु विराटनगर अस्तव्यस्त छ अहिले । काङ्ग्रेस राजनीतिको किल्ला विकासका पूर्वाधारबाट निकै ओझेलमा परिससकेको छ । कोइराला परिवारको राजनीतिक साख करिबकरिब शून्यमा झरिसकेको रहेछ । गिरिजाप्रसाद कोइरालाको मृत्युपछाडि बिराटनगर अँध्यारो बनिसकेको रहेछ । न विद्युत् प्राधिकरणका कर्मचारीले आप्mनो कर्तव्य पालना गरेका छन् न नगरपालिका कर्मचारीले । आएको बिजुली पनि निकै कम भोल्टेजमा आपूर्ति हुँदोरहेछ । पङ्खा घुम्न पनि धौधौ हुनेगरी ।
यो उखरमाउलो गर्मीले तराई निकै तातेको छ । रूख, जमिन, ढुङ्गामाटो, हावापानी आदि प्राकृतिक वस्तु पनि तातेकै छन् । चराचुरुङ्गी, जीवजन्तु यो तातोबाट बच्न अनेक तरिका अपनाउँछन् । मानिसका लागि तातो वा चिसोबाट बच्ने उपाय भनेकै कृत्रिम साधन र स्रोत हुन् । प्राकृतिक विपत्तिबाट बच्न अन्य जीवजन्तुको भन्दा हाम्रो जीवनशैली नितान्त फरक छ । मौसम प्रतिकूलताबाट बच्न विकसित देशले कन्डिसनका विभिन्न बाटो अवलम्बन गरेका हुन्छन् । नागरिक स्वास्थ्य राख्न स्थायी रूपमा वाताअनुकूल संरचना तयार गरिएको हुन्छ । यो सरकारकै प्रमुख दायित्व हो । यसको कर्तव्य अधिकांश सरकारले निभाएका हुन्छन् । यो भनेको गाँस, वास र कपासभित्र पर्छ । हुन त यसैसँग जोडिएको शिक्षा, स्वास्थ्य र मनोरञ्जन पनि राज्यकै दायित्व हो । तर, पहिला बाँच्ने कुरा गरौँ । अनि अरू विषय आउला । तराईका अधिकांश जिल्लाको तापक्रम ४० डिग्री सेन्टग्रेडको वरपर छ । ३७ देखि ४२ डिग्री तापक्रममा यहाँको जीवनयापन चल्छ । लोडसेडिङको कुरा गर्न खोजिएको होइन । लोडसेडिङ हाम्रो बाध्यता हो । यो सबै नागरिकले बुझेकै छन् । तर, नियमित प्रक्रियामा चल्न पाउनु नागरिकको अधिकारको कुरा हो । यति बजे विद्युत् आउँछ वा जान्छ भन्ने तालिका नागरिकलाई दिइनुपथ्र्यो । तर, विद्युत् प्राधिकरणले कुनै मतलब गर्दैन । गुनासो राख्ने फोन नम्बर पनि उठ्दैन । मुख्य बजार क्षेत्रले क्षणक्षणमा विद्युत् समस्या भोगेकै छ । ग्रामीण क्षेत्र त झन् अत्यासलाग्दो रहेछ । कहिलेकाहीँ त यहाँका गाउँमा महिनौँसम्म विद्युत् अवरोध गरिन्छ । मर्मतका नाममा हुने यसप्रकारको विद्युत् अवरोध अहिले पूर्वेली सहरमा विकराल समस्या बनेको छ ।
अर्को यो क्षेत्रको समस्या हो, यातायात । राजधानीमा पूर्वतर्फ सोझिने लामा र ठूला सवारी देख्दा लाग्छ– ओहो यी सवारीमा हुइँकिँदा साँच्ची नै पूर्वेली जनजीवन आरामदायी होला । धेरैको अनुमान हो यो । तर, जब पूर्वका सबैजसो बजारमा देखिने छोटो वा लामो दूरीको यातायातको अवस्था भोग्नुपर्छ, त्यतिबेला लाग्छ ओहो यति कष्टकर यात्रा कहीँ छैन होला । इटहरीदेखि विराटनगर जाने बसले यात्रु तानातान गरेर सताउँदा यो रुट हिँड्नै नपरे हुन्थ्यो भन्ने लाग्छ । इटहरी बजार पूर्वको मुख्य यातायात केन्द्र हो । धरान–धनकुटा होस् वा झापा–इलाम । पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्छ । तर, सुनसरी प्रशासनले यहाँको अस्तव्यस्ततामा कुनै ध्यान पु-याउन सकेको छैन । हुन त सुनसरी मात्र होइन, झापा, इलाम, मोरङलगायतका जिल्लामा यातायातको अवस्था उस्तै छ । सार्वजनिक बस चढ्न हरेक यात्रुले दलालकै भर पर्नुपर्ने बाध्यता छ । चोकमा नयाँ व्यक्ति देख्नेबित्तिकै तानातान सुरु भइहाल्छ । झन् महिला यात्रु देख्दा त पछ्याएर हैरान बनाउँदा रहेछ । निर्धक्क कुनै महिला यात्रा गर्ने अवस्थाको कल्पनै गर्न सकिन्न । यात्रुलाई सवारीका कर्मचारी र दलालले एकैचोटि झम्टिँदा हरेक यात्रुले नरकको यात्रा गरेको आभास पाउँछ ।
मुलुकको अन्य भागभन्दा पूर्वेली क्षेत्र चेतना, शिक्षा र आर्थिक अवस्थाले बलियो बनाएको थियो । यहाँको जीवनशैली केही उन्नत भएको पनि थियो । तर, अहिले यहाँ सुदूरपश्चिमको पिछडिएको जीवनशैलीभन्दा निकै खस्केको अनुभव गर्न पाइन्छ । उच्च खानदान र प्रतिष्ठित परिवार राजधानीमै आश्रित छन् । राजनीति वा व्यापारको लागि मात्र यस क्षेत्रलाई प्रयोग गर्छन् । बाँकी अन्य जीवनयापन र परिवारका लागि काठमाडौंमा स्थायी बसोवास बनाएका छन् । फलस्वरूप पहुँच भएका र केही गर्न सक्नेजति पूर्वका क्षेत्रबाट बाहिरिएको सजिलै अनुमान गर्न सकिन्छ । पूर्वको तराई समथर भूभागमा बसेकाभन्दा पहाडी क्षेत्रका बासिन्दाको जीवनशैली निकै भिन्नता छ । धरान, धनकुटा, उदयपुरको खुला समाज देख्दा काठमाडौं, पोखरा र चितवनकै झल्को दिने गरेको छ । धरानको रमझमबाट विराटनगर नियाल्दा औँसीको रात फर्केको आभास गराउँछ । धरानबाट इटहरी निहुरिएर हेर्दा अँध्यारो मात्र देखिन्छ । यहाँका पहाडी बजार र व्यापारिक केन्द्रमा जनस्तरबाट धेरै सामाजिक काम भएका छन् । तर, राज्यको तर्फबाट कुनै काम भएकै छैन । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाकै पहलमा निर्माण भएका मुख्य संरचनामा स्थानीयको ठूलो साथ मिलेको रहेछ । तर, अहिलेको कर्मचारीतन्त्र यसप्रति कुनै जिम्मेवारबोध देखिँदैन । राजनीति गर्नेहरूले आफ्नो कर्तव्य कहिल्यै पालना गरेनन् । स्थानीय जनप्रतिनिधिको अभावमा विकास निर्माणमा ज्यादा व्यवधान निम्तिएको छर्लङ्ग छ ।
गुट–उपगुट र क्षेत्रीय दलहरूको दलदलमा फसेको छ पूर्वेली क्षेत्र । माग र अधिकारभन्दा उनीहरू अरू कुरै जान्दैनन् । आफ्नो दायित्व निर्वाह गर्न बाटो बिराएका छन् । सर्वसाधारण चन्दा दिनुपर्ने अवस्थाबाट पीडित छन् । सर्वसाधारणले न कुनै राज्य माग गरेका छन् न कुनै क्षेत्र । जुनसुकै जाति होस् वा समुदाय सबैले नेपाली भाषा मात्र प्रयोग गर्छन् । जनजाति भएरै पनि लिम्बूको भाषा राईले बुझ्दैन । तामाङको भाषा गुरुङले नबुझ्ने भएकाले सबै सर्वसाधारणले नेपाली भाषा मात्र उपयोग गर्छन् । राजनीतिका नाममा खुलेका जातीय र क्षेत्रीय दलहरूले गैरसरकारी संस्थाको जस्तै कमाइ खाने भाँडो मात्र बनाएको अधिकांश सर्वसाधारणको मुखबाट सुन्न पाइन्छ । ठूला दलहरू काङ्ग्रेस, एमाले, एमाओवादीलगायतका दलहरू नै काफी भएको बेला अनावश्यक माग उरालेर जन्मिएका नयाँ क्षेत्रीय पार्टीप्रति कुनै पनि सर्वसाधारण जनताको भरोसा देखिँदैन । भाषाका नाममा, धर्मका नाममा, जातका नाममा र क्षेत्रका नाममा राजनीति गरेर काम गरेर खाने जनतालाई कष्ट मात्र भएको सानासाना व्यवसायी खुला रूपले गुनासो गर्छन् । चन्दा र सुरक्षाको डरले ठूला व्यवसायी भने चुपचाप देखिन्छन् । बन्दको मारले पीडित बनेका पूर्वेली जनताले संविधानमै व्यवस्था हुनेगरी बन्द–हडताल गर्नेलाई कारबाहीको अपेक्षा गरेका छन् । न राज्यको आँखा सबै क्षेत्रमा पुग्न भ्याएको छ न नागरिकस्तरबाट सुधारका प्रयास थालिएका छन् । टाठाबाठा र बुझ्ने भनिएकाहरू नागरिकलाई नै फुट ल्याउनेगरी व्यक्तिस्वार्थका लागि राजनीति गरेको देख्न पाइन्छ । ग्ल्यामरमा रमाएको धरानसँग विराटनगर र इटहरीको कष्टपूर्ण दैनिकी झन्झन् टाढाटाढा हुँदै गएको छ । यो विविधताबीच पनि पूर्वेलीहरूको राजधानी बस्ने मोह भने समान छ । अस्तव्यस्त पूर्वेली क्षेत्रलाई उन्नतस्तरमा उठाउन ठूलो लगानी होइन, सरकारको इच्छाशक्तिको मात्र खाँचो छ ।