यही जुलाईको २६ र २७ तारिखमा सम्पन्न सार्क जेन्डर पोलिसी एड्भोकेसी ग्रुपको पहिलो बैठकमा भाग लिन पाकिस्तानको राजधानी इस्लामावाद जानुअघि बैठकको एजेन्डा र आफ्नो प्रस्तुतिबाहेक खासै केही सोचिएको थिएन । तत्कालीन युनिफेम (हाल यूएन विमेन) की नेपाल प्रमुख संगीता थापा अहिले इस्लामावादमा हुनुहुन्छ भन्नेबाहेक अरू कोही नेपाली त्यहाँ छन् भन्ने थाहा पनि थिएन । स्वाभाविक रूपमा राजदूतावास र दूतावासका पदाधिकारीहरू त हुने नै भए । उहाँहरू पनि कसैसँग सम्पर्क भएको थिएन । यात्रामा कहिलेकाहीँ नसोचेको कुरा हुन्छन्, प्रायः यस्ता नसोचेका कुरा नकारात्मक अर्थ र परिणाम दिने प्रकारका हुने भए पनि यसपटकको इस्लामावाद यात्रामा भने छोटो यात्रामा धेरै राम्रा कुराहरू भए । सार्क जेन्डर पोलिसी एड्भोकेसी ग्रुपको औपचारिक कार्यक्रममा सहभागिता, पाकिस्तान सरकारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवलोकन, सार्क राष्ट्रका लैङ्गिक विज्ञहरूसँग औपचारिक–अनौपचारिक भेटघाट र छलफल, पाकिस्तानमा रहेर विभिन्न अन्तर्राष्ट्रिय संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका नेपाली व्यक्तित्वहरूसँग अन्तत्र्रिmया, विभिन्न ऐतिहासिक ठाउँहरूको भ्रमण ।
बितेको समय कति हो भन्दा पनि त्यो समय कसरी बिताइयो भन्ने कुराले मानिसको जीवनमा निकै अर्थ राख्छ । सार्क मुलुक भनेर के गर्नु ? डाइरेक्ट फ्लाइट नहुँदा पाकिस्तान, श्रीलंका, माल्दिभ्सजस्ता देशहरू जानका लागि अमेरिका पुग्ने समय खर्च गर्नुपर्छ । काठमाडौंबाट दोहा या बैंकक हुँदै जानुपर्ने यी मुलुकहरूमा प्रायः रातिका फ्लाइटहरू हुनाले पनि यात्रा बोझिलो हुने गर्छ । इस्लामावादमा त झनै सुरक्षाको कारणले दिउँसो कुनै पनि अन्तर्राष्ट्रिय उडान हुँदैन ।
कार्यक्रमको सुरुमै पाकिस्तान राष्ट्रिय महिला आयोगकी अध्यक्ष खवार मुमताजको भनाइले माहौललाई संवेदनशील बनाएको थियो । उनले भनेकी थिइन्, ‘मान्छेलाई मान्छेबाट कसरी जोगाउने भनेर नीतिहरू बनाउनुपरेको छ ।’ नेपाल सरकारको तर्फबाट महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालको प्रस्तुति महत्वपूर्ण रह्यो । सबै देशले आ–आफ्नो मुलुकको तर्फबाट प्रस्तुतिहरू गरे, जसमा धेरै मुद्दाहरू समान थिए । सार्क जेन्डर पोलिसी एड्भोकेसी ग्रुप सार्क राष्ट्रहरूबीच नीतिगत परिवर्तनका लागि सदस्यराष्ट्रहरूले खडा गरेको संयन्त्र हो जसले प्रत्येक वर्ष महिलाका मुद्दामा भएका उपलब्धि र हुन नसकेका कुराहरूको लोखाजोखा गर्छ । पहिलो बैठकले महिलामाथिको हिंसा, महिला र स्वास्थ्य तथा गरिबीको लैङ्गिकीकरणलाई विशेष महत्व दिएको छ । गरिबीको लैङ्गिकीकरणमा आर्थिक सशक्तीकरणको कुरा आउँछ । आर्थिक सशक्तीकरणमा कृषिदेखि आयआर्जनका विभिन्न कामहरूका महिलाको सहभागिता र भूमिका महत्वपूर्ण छ ।
पूर्णतः औपचारिक भए पनि यसपटकको पाकिस्तान भ्रमण अफिसियल एजेन्डामा मात्र सीमित रहेन । इस्लामावादमा रहेका विभिन्न क्षेत्रका विज्ञ नेपालीहरूसँगको भेटघाट र कुराकानी यात्राको महत्वपूर्ण पाटोको रूपमा रह्यो । ‘नेपालीहरू जो जहाँ भए पनि आफ्नो देशको बारेमा सोची नै रहेका हुन्छौँ । के भइरहेको छ, जान्ने इच्छा हुन्छ । मुलुक संविधानमय भएको छ भन्ने सुनिन्छ, अप डेट हुनका लागि हामी यहाँ जम्मा भएका छौँ ।’ यो पङ्क्तिकारको परिचयसहित संगीता थापाले यसो भन्दै गर्दा मेरा आँखा भने आगन्तुकहरूका साथै उहाँको बैठक कोठामा राखिएको नेपाली झन्डामा थिए । हामी नेपाली जो जहाँ गए पनि, रहे पनि मन र भावनाभरि देश बोकिरहेका हुन्छौँ । मुलुकमा रहँदा बैठक कोठामा झन्डा कहाँ राखिन्छ र ? तर देशबाहिर हुँदा मुलुकप्रतिको माया र चासो बढी हुने रहेछ । कतिपय मानिस मुलुकबाहिर बसेर देशमा भएका हरेक गतिविधिको आलोचना मात्रै गर्छन् । तर, इस्लामावादमा बस्ने नेपाली भने मुलुकमा के–के कुरा राम्रा छन् भनेर त्यसको वर्णन गर्न मन पराउँदा रहेछन् । नेपालमा रहँदा महिला मन्त्रालयको स्थापनादेखि नै संलग्न रहेर नीतिगत परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी संगीता थापा अहिले पाकिस्तानस्थित यूएन विमेनको उच्च तहमा हुनुहुन्छ । उहाँकै निवासमा आयोजित भेटघाट कार्यक्रममा मुलुकमा भएका राम्रा कुराका साथै मस्यौदा संविधानमाथि लामै छलफल भयो । राम्रो संविधान बनेर मुलुक विकासको गतिमा अगाडि बढोस् भन्ने समान चाहना थियो सबैको ।
‘नेपालमा राम्रा मान्छे धेरै छन्, विभिन्न पेसा र व्यवसायमा छन्’ भन्दै केही ट्राफिक प्रहरी र अन्य पेसा व्यवसायमा भएका राम्रा मानिसका बारेमा कुराकानी भए । अन्य विभिन्न मुलुकमा भेटिने नेपाली र इस्लामावादमा भेटिएका नेपालीबीचको ठूलो अन्तरचाहिँ आफ्नो मुलुकलाई हेर्ने दृष्टिकोण नै रह्यो । विशेषगरी अमेरिकामा बस्ने धेरैजसो नेपालीले देशमा यो भएन त्यो भएन, खत्तमै भयो भन्ने गरेको सुनिन्छ । तर, इस्लामावादमा रहनेहरू भने मुलुकको छवि अझ कसरी बढाउने भन्ने कुरामा केन्द्रित भएको पाइयो । पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले अफ्गानिस्तानजस्ता मुलुकहरू हेर्नुपर्ने र दलालका कारण नेपाली कहिले कहाँ कहिले कहाँ अप्ठ्यारोमा परिरहने भएकाले प्रायः सधैँ नै कुनै न कुनै तनाव झेलिनै रहनुपर्दो रहेछ । रेडक्रसमा कार्यरत शेषकान्त काफ्ले, संयुक्त राष्ट्रसङ्घमा कार्यरत पुष्कर वैद्य र सूर्य थापा, युनिसेफमा कार्यरत उज्ज्वल प्रधानाङ्ग, एडीबीमा कार्यरत पवन कार्की, आईसीआरसीमा कार्यरत एशोदा गौचन, मिल्ट्री एट्याची कर्णेल नीरज पौडेल र उहाँकी पत्नी मीना, दूतावासका डेपुटी तीर्थ अर्याल र उहाँकी पत्नी माया, कराँचीस्थित यूएनएफपीएमा कार्यरत श्रुतिधर त्रिपाठी, आईओएमका मुकुन्द बस्नेत सबैसँगको भेट एउटा सुखद संयोग थियो भन्न सकिन्छ । यी नामहरूले आफ्नो कामसँगै मुलुकलाई पनि चिनाइरहेका छन् भन्दा मन गर्वले भरिएर आउँछ । यस्ता एक से एक अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदमा नेपालीको उपस्थिति र कमाण्ड आफैंमा महत्वपूर्ण कुरा हो । पराइ मुलुकमा बसेर त्यहाँका उच्च सरकारी अधिकारी र सर्वसाधारण जनतासँग काम गर्दाका सबैका आ–आफ्ना अनुभवहरू छन् । ती अनुभवहरूले भन्छ— नेपालले गर्नुपर्ने कुराहरू धेरै छन्, राष्ट्रियताको सवालमा, राष्ट्रिय सुरक्षाको सवालमा, विदेशी चलखेल र वैदेशिक सहयोगको सवालमा । मुलुकले अपनाउनुपर्ने सतर्कता र सचेतताहरू धेरै छन् । उहाँहरू र उहाँहरूजस्ता विभिन्न देशमा बसेर काम गरिरहेका अन्य धेरै नेपालीका अनुभव देशका लागि अवश्य नै उपयोगी हुनेछन् । जसरी मुलुक चलिरहेको छ त्यसलाई हेर्दा ती अनुभवहरूको सदुपयोग मुलुकले कहाँ, कसरी र कहिले गर्ने हो भन्नेबारेमा भने यसै भन्न सकिन्न । जेहोस्, पराइभूमिमा नेपालीको नाम, शान, एकता र आफ्नोपन देखेर भेटघाटकै राति एयरपोर्टतर्फ लाग्दै गर्दा मनले भनिरहेको थियो– आखिर हामी नेपाली जो–जो जहाँ भए नि आफ्नै…।
प्रतिक्रिया