‘बलात्कार’ । म एक मधेसी समाजमा बसेकी मान्छे र मेरो समाजमा झन्डै अघोषित रूपमा प्रतिबन्धित शब्द हो यो । हो, मेरो समाजमा यो शब्दको एकदम कम प्रयोग गरिन्छ । सीमित मान्छेहरू मात्र यो शब्द उच्चारण गर्छन् । जस्तो कि एक प्रहरी वा सञ्चारकर्मी ।
केही समयअघिसम्म एक स्थानीय रेडियोमा समाचारवाचिकाको रूपमा काम गर्दासमेत आफ्नो जिल्लामा भएकाभन्दा बाहेकका बलात्कारका घटना शायद मेरा बुलेटिनमा गएनन् । गए पनि छिमेकी जिल्लाका एकाध घटना मात्र । मेरा समाचार सम्पादकले समेत अरू जिल्लाका जबर्जस्ती करणीका समाचार नदिन आफैं पनि भन्ने गर्थे । किनकि यो शब्दको उच्चारण गर्ने पनि मेरो समाजमा ‘निर्लज्ज’ हुन् । निर्लज्ज यस अर्थमा कि यो लाजको विषय हो । तसर्थ म निर्लज्ज बन्न चाहिनँ ।
आज जब बलात्कारका घटना यति बढिरहेका छन्, कहिलेकाहीँ यस विषयमा साथीहरूसँग र केटासाथीहरूसँग पनि छलफल हुन्छ । प्रायः पुरुष मित्रहरूको के तर्क हुन्छ भने, केटीहरू छोटा पहिरन लगाउँछन् र त्यसैले केटीहरूप्रति आकर्षण बढ्छ र बलात्कार हुन्छ रे । आज ‘निर्लज्ज’ भएरै यस विषयमा आफ्ना विचार राख्न चाहन्छु ।
म आफ्नो विचार भनुँ भने, मलाई केटीहरूले हट प्यान्ट वा मिनीस्कर्ट लगाएको पनि मन पर्छ । यो बेग्लै कुरा हो कि म यस्ता लुगा लगाउने गर्दिनँ । र, लुगाप्रति आकर्षणको कुरा गर्दा जब कोही केटीलाई यस किसिमका लुगा लगाएर हिँडिरहेको देख्छु, स्वतः आँखा अडिन्छ । यदि कोही विपरीतलिङ्गी वा राम्रो केटामान्छे देखेमा पनि आकर्षित हुन्छु । तर, केटा होस् वा केटी, लगाउनेलाई गाह्रो हुनेगरी हेर्ने वा बोल्ने भने कहिले गरिएन । राम्रो लाग्ने हरेक कुराले हामीलाई आकर्षित गर्छ । तर, आकर्षणको अर्थ सधैँ प्राप्ति हुन्छ ? त्यो पनि इच्छाविपरीत ? विपरीतलिङ्गीप्रति आकर्षित हुनु मानवीय व्यवहार हो, प्राकृतिक हो । तर, बलात्कार मानवीय व्यवहार होइन, आपराधिक प्रवृत्ति हो ।
यदि कसैको पहिरनले आकर्षित ग-यो भने तपाईं उसको इच्छाविपरीत यौन सम्बन्ध बनाउनुहुन्छ वा बलात्कार गर्नुहुन्छ ? कसैको इच्छाविपरीत यौन सम्बन्ध बनाउनु अपराधकै श्रेणीमा पर्छ । आकर्षणको जबर्जस्ती वा बलात्कारसँग कुनै सम्बन्ध नै छैन भन्दा पनि हुन्छ । यसको सम्बन्ध त अपराधसँग छ । तर, आकर्षित हुनु अपराध होइन, आकर्षित भएपछि आफूलाई सम्हाल्न नसक्नु र अर्कालाई नोक्सानी हुने काम गर्नु भने अपराध हो ।
आकर्षण भन्नुको अर्थ विपरीतलिङ्गीप्रतिको आकर्षण भन्न खोजिएको हो भने के केटीहरू केटाप्रति आकर्षित हँुदैनन् ? केवल भित्र लगाउने वस्त्र वा भेस्ट लाएर हिँड्दा, हाफ प्यान्ट लगाएर हिँड्दा कति केटाको बलात्कार भयो ? नेपालमा बलात्कृत भएँ भन्दै कति पुरुषले उजुरी दिए ? सङ्ख्या शायद शून्यबराबर होला । यसको अर्थ, के उनीहरूप्रति कोही केटी आकर्षित भएनन् ? आकर्षणको अर्थ बलात्कार वा विपरीतलिङ्गीप्रति आकर्षित हुनेबित्तिकै बलात्कार हुने भए त ती केटाहरूलाई पनि केटीहरूले बलात्कार गर्थे होला नि । यसको अर्थ छोटा लुगा लगाउने केटाहरूलाई हेरी कोही केटी आकर्षित भएनन् । नत्र ‘छोटा लुगा लगाउँदा विपरीतलिङ्गीले बलात्कार गर्ने सिद्धान्त’ त्यहाँ पनि लागू हुन्थ्यो होला नि ।
अर्को कुरा, केटीहरूले आफूतिर आकर्षित गर्न छोटा लुगा लगाउँछन् भन्ने पनि छन् । मान्छेले वा भनौँ कुनै केटीले यदि कसैलाई आकर्षित गर्न छोटा लुगा लगाउँछे भने अर्थात् यौन सम्बन्धको लागि ‘इन्भाइट’ गर्छे भने दुवैबीच शारीरिक सम्बन्ध रहन्छ न कि महिलाको बलात्कार हुन्छ । प्रस्ट भन्नुपर्दा कसैले जानाजानी आफूतिर आकर्षित गर्छ भने त्यहाँ बलात्कार हुँदैन । त्यहाँ त दुवैको इच्छामा यौनसम्बन्ध हुन्छ । र, यौनसम्बन्ध अनि बलात्कार भिन्न कुरा हुन् ।
शृङ्गार गर्नु वा आफूलाई राम्रो वा आकर्षक बनाउनुलाई बलात्कारको कारण मान्दा, फोहोरी मागेर खाने आइमाई, सडकमा बस्ने, मानसिक अवस्था ठीक नभएकीहरू किन अन्जानको गर्भ बोकेका भेटिन्छन् ? केले उनीहरूलाई बलात्कारीको नजरमा आकर्षक बनाउँछ ? उनीहरूका कस्ता छोटा लुगाले ?
अहिले सङ्क्रमणकाल अर्थात् कोही राजनीतिक व्यक्तित्वको भनाइमा ‘बलात्कारको सिजन’ । अहिलेको समयमा महिलाभन्दा पनि बालिकाहरू असुरक्षित छन् । बारा जिल्लामा भएका घटना मात्र हेर्दा पनि बालक आशीष गुप्तासहित, बालिकाहरू कञ्चन ठाकुर, पूजा साहलाई अपहरण गरी, बलात्कारपछि हत्या भएको छ । कसैको योनिमा बाँसका भाटा कोचिएको हुन्छ कसैको टाउको कुच्याएर बलात्कारपछि हत्या गरिन्छ । बलात्कारले शायद पुग्दैन अपराधीलाई । जे भए पनि, उनीहरूले के लगाएका थिए बलात्कार हुँदाको बखत ? अन्य विभिन्न स्थानमा बालिका र महिला बलात्कृत हुन्छन्, के लगाएका हुन्छन् उनीहरूले ? खोजी हुनु जरुरी भइसक्यो ।
भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’को बलात्कार विशेष शृङ्खलामा एक्सन एड नामक संस्थामा आबद्ध एक समाजसेवीले अध्ययन प्रस्तुत गरेकी छिन् । जसअनुसार भारतमा बलात्कारको समय बुर्का वा सारी ४८ प्रतिशतले, ४१ प्रतिशतले कुर्था सुरुवाल र बाँकी करिब १० प्रतिशतले फ्रक वा स्कर्ट लगाएका थिए । फ्रक वा स्कर्ट लगाउनेहरूमा पनि अधिकांश १३–१४ वर्षसम्मका बालिका थिए । यो अध्ययन हेर्दा निष्कर्ष यो निकाल्न मिल्छ कि बुर्का, सारी वा कुर्थासुरुवाल लगाउने ९० प्रतिशत बलात्कृत भए, त्यसैले महिलाले यी तीनैबाहेक अरू नै लुगा लगाउन सुरु गर्नुप-यो । होइन र ?
जुन देशमा कथित छोटा लुगा लगाउनु सामान्य हो त्यस देशमा कति बलात्कार हुन्छन् वर्षेनी र जुन देशमा संस्कार र संस्कृति भनेर केवल केटीहरूलाई ढाक्ने चलन छ त्यहाँ कति हुन्छन् बलात्कार ? खोजी गरियोस् । र यसमा ती देशहरूको बलात्कार सम्बन्ध कानुनलाई पनि ध्यान दिइयोस् ।
भारतीय नायिका करिना कपुरको एउटा चलचित्रमा उनको संवाद याद आउँछ जुन अहिलेको परिप्रेक्ष्यमासही देखिन्छ ‘अकेली लडकी खुली तिजोरीकी तरह होती है ।’ हिजोआज यही प्रवृत्ति देखिन्छ समाजमा । एक्लै हिँड्नु, घुम्नुको अर्थ बलात्कार गर्न उत्प्रेरित गर्नु हो भने यसबाट प्रस्ट छ, केटी वा महिला मान्छे होइनन् किनकि मानवअधिकारभित्र पर्ने अधिकारसमेत उनलाई छैन । केटी भनेका सम्पत्ति हुन् । हो, उनीहरू मानव होइनन्, सम्पत्ति हुन् । वा भोगका वस्तु हुन् । मानव भए त घुम्न पाउनु, आफ्नो इच्छाअनुसारको लुगा लगाउन पाउनुजस्ता अधिकारबाट टाढा रहनुपर्ने थिएन होला ।
महिलाको पहिरनको मामिलामा हेर्दा मान्छेपिच्छे फरक विचार पाइन्छ । एउटा मुस्लिमका लागि छोटो कुर्थासुरुवाल लगाउनु वा टाउकोमा सल नराख्नु पनि छाडाजस्तै हो भने केहीका लागि बिकिनी पनि सामान्य हो । जसले जे लगाए पनि उसको स्वतन्त्रता हो । मैले यसबाट भन्न खोजेको के हो भने लुगा लगाउनु मान्छेको स्वतन्त्रताको विषय हो, यसलाई लिएर कसैलाई नोक्सानी हुने वा दुःख हुने काम गर्नुहुन्न ।
एक दिन म काम गर्ने संस्थामा एउटी केटी आइन् । सहकर्मीकी साथी । उनले जिन्स पहिरिएकी थिइन्, जुन टाइट पनि थिएन । कपाल भने अगाडि थाइकट थियो । जिन्समाथि बेल्ट लगाउने ठाउँमा, डिजाइन भएको सिक्री थियो । उनको पहिरनमाथि हाम्रै कार्यालयका एक तल्लोस्तरका कर्मचारीको प्रतिक्रिया थियो, ‘देख्नुभो यी केटीलाई, सिक्री हेर्नुस् न झन् । यस्तै केटीहरूको त रेप हुन्छ नि ।’ म यो बुझ्न सक्दिनँ कि एउटी केटीलाई बलात्कृत हुन ‘उनको के–के’ले आकर्षित गर्छ । यदि कोही केटी वा महिलाले केही उतार्नु अर्थात् खोले भने पनि उनको बलात्कार हुने अरे, र केही लगाए जस्तो कि चश्मा वा कम्मरमा सिक्री भने पनि बलात्कार हुने ? अहिलेसम्म मैले बलात्कार हुन आवश्यक एक मात्र कुरा भेटेकी छु । भन्नुको अर्थ बलात्कारको कारण, त्यो हो– महिला वा स्त्रीलिङ्गी हुनु ।
अब प्रहरी र विभिन्न सम्बन्धित निकायका भनाइलाई हेरौँ । बलात्कारका घटना बढेकोभन्दा पनि बलात्कारका घटना अब बाहिर आउने क्रम बढेको भनाइ पनि छन् । मलाई एउटा कुरा सोध्न मन लाग्यो, यस्तो के गरिदियो राज्यले वा सम्बन्धित निकायले कि भटाभट जनता ममाथि बलात्कार भयो भनेर खुलिरहेछन् ? के बलात्कारीलाई कानुनी दायरामा ल्याउन छानबिन प्रक्रिया चुस्त बनायौ ? वा अदालती प्रक्रिया छोट्यायौ ? वर्षौँदेखि बलात्कारको मुद्दाको फैसला नहुँदा बेकार उजुरी दिइछु भन्नेहरूले पश्चात्ताप मान्न छोडे ? वा सञ्चारमाध्यममा आएका केही घटनामै भए पनि कतिलाई फैसला सुनाइयो ? के बलात्कार पीडितहरूले खोजेकोजस्तो कानुन ल्याउन सक्यौ ? जब केही गर्न सकेनौ अनि यस्ता घटना बढेको कुरा छोप्न किन यस्ता घटना बाहिर आउने क्रम बढेको भनिँदै छ ?
एउटा संस्थाको सार्वजनिक गरिएको तथ्याङ्क हेर्दा नेपालमा प्रत्येक दिनमा दुई महिला बलात्कृत हुन्छन् । सञ्चारमाध्यमहरूमा आएका समाचारहरूलाई हेर्दा दुई–तीन वर्षीया बालिकादेखि एक सय दुई वर्षकी हजुरआमासमेत बलात्कृत भएका छन् । यिनीहरूमध्ये बलात्कारको बेला कतिले मिनीस्कर्ट वा हट प्यान्ट लाएका थिए अनि कतिले सारी–चोलो भनेर अध्ययन हुनु आवश्यक छ । बलात्कार त बालिकाहरूको पनि धेरै भइरहेको छ । उनीहरूले कस्ता लुगा लगाएका थिए, त्यसको पनि विश्लेषण गरिनुप-यो । अन्यथा आफ्नो राक्षसी प्रवृत्ति लुकाउन अरूको लुगाको सहारा नलिऊँ । छोटा पहिरन वा आकर्षण होइन, बलात्कारको कारण भनेको आपराधिक मानसिकता, संस्कारको कमी, दम्भ र झुटो पुरुषार्थ सिद्ध गर्न चाहनु अनि कानुनको र समाजको डर नहुनु नै हो ।
प्रतिक्रिया