राजनीतिमा ‘शुद्र वर्ण’ हाबी भएपछि… – स्वयम्भुनाथ कार्की

राजनीतिमा ‘शुद्र वर्ण’ हाबी भएपछि… – स्वयम्भुनाथ कार्की


bicharसनातन समाजमा प्रचलित वर्ण व्यवस्था आफैंभित्र सुधारको र बाहिर आलोचकहरूको चोट खाएर समाप्तितर्पm लम्कँदै छ । श्रम विभाजनको यो व्यवस्थामा छुवाछुत र जातपात मिसाउनाले समाजमा एक कलङ्कको उत्पत्ति भयो । यस्तोमा यसले चौतर्फी आक्रमण व्यहोर्नुपर्दथ्यो र व्यहो-यो पनि । सनातनमा आरम्भदेखि नै हमेसा समयानुकूल विकास हुँदै आयो । यही क्रममा यो वर्ण–व्यवस्था पनि सुधारिने प्रक्रियामा छ । आजभन्दा चालीस–पचास वर्ष पहिलेको समाज र आज यसमा धेरै भिन्नता छ तैपनि निमिट्यान्न भने हुन अझै चेतनाको विकास आवश्यक छ ।
यो परम्परागत वर्ण व्यवस्थाको स्थानमा त्यो भन्दा कैयौँ गुणा हानिकारक ‘राजनीतिक वर्ण व्यवस्था’को विकास हुँदै छ । सम्भवतः सामान्य मानवीय कमजोरीबाट पछिल्लो पुस्ताका मूर्धन्य नेता मुक्त हुन नसकेको वा तत्कालीन आवश्यकताले यसमा पर्नसक्ने डरलाग्दो असरमा ध्यान नदिएको हुन सक्छ । यो पिँढीले क्षमतावान् नेता नपाउनाका कारण यही राजनीतिक वर्ण–व्यवस्था हो भन्न हिचकिचाउन पर्दैन । यो कुरा यसरी अमूर्त रूपमा मात्र भनिने हो भने हावा खुस्केकाको प्रलापभैँm लाग्न सक्छ । त्यसैले राजनीतिमा सक्रियहरूको सनातनी वर्ण व्यवस्थाको मापदण्डमा विवेचन आवश्यक छ ।
परम्परागत वर्ण व्यवस्थामा माथिल्लो श्रेणीमा ब्राह्मणलाई राखिएको थियो । सबै कुराको अन्तिम निर्णय गर्ने, नीति बनाउने, शिक्षा दिने र बौद्धिक रूपमा सबै समाजलाई नियन्त्रण गर्ने काम उनीहरूले गर्दथे । उनीहरूले गरेको निर्णय अपवादबाहेक अन्य सबैले बिना कुनै प्रश्न मान्नुपर्ने हुन्थ्यो । राजनीतिकर्मीहरूमा यो स्थान शीर्ष नेताहरू भनिने वर्गको छ । राजनीतिक ब्राह्मणको यो समुदायमा को आउने हो को आउन नपाउने हो त्यसको निर्णय पनि यिनीहरूले नै गर्ने गर्दछन् । तैपनि बाहुल्य आफ्नै परिवार वा आफ्ना निकटका नै हुने गर्दछ । पहिलो पिँढीमा शीर्ष नेता हुन आफ्नो ल्याकत, बर्कत र मिहिनेत चाहिएको थियो, तर अब शीर्षको प्रियपात्र एक मात्र योग्यता भएको छ ।
दोस्रो श्रेणीमा क्षेत्रीयहरू थिए, जसकोे काम रक्षा गर्नु रहेको थियो । सम्पूर्ण समाजलाई साम, दाम, दण्ड, भेद आवश्यकताअनुसार प्रयोग गरेर नियन्त्रणमा राख्नु पनि यिनैको कर्तव्य थियो । शक्तिको अभ्यास गर्ने क्षेत्रीयहरूलाई अन्य वर्गको जस्तो व्यवहार गर्न सहज थिएन । त्यसैले केही कुरामा आफूसरहको मान्यता दिइएको थियो । शास्त्रको अध्ययन गर्न क्षेत्रीयहरूलाई रोकटोक गरिएको थिएन । यो हानिकारक पनि थिएन, किनभने शस्त्रको अभ्यास र प्रयोग, समाजलाई नियमित र गतिशील राख्नुपर्ने दायित्वको निर्वाहमा शास्त्रको गहन अध्ययन सम्भव थिएन ।
यही शैलीमा केही बाहुबली, केही व्यवहार कुशल, केही असरदार राजनीतिकर्मीहरू छन् । शीर्ष नेताहरू यस्ताको मान राख्छन् । आवश्यकता पनि पूरा गर्छन्, तर आफ्नो वर्णमा आउन भने दिँदैनन् । यस्ता राजनीतिकर्मीहरू असन्तुष्ट भए अर्को दल खडा गर्दछन् । तर, उनीहरूमा शीर्ष नेताको आकर्षण र निरन्तरता हुँदैन । त्यसैले छिटै यी राजनीतिक क्षेत्रीय कि त पुरानै दलमा घर फर्केको भनेर समाहित हुन्छन् कि अर्को दलमा समाहित हुन्छन् । कथं अलग अस्तित्व राखे भने पनि राजनीतिक ब्राह्मण भएका दलहरूमध्ये कहिले यसको वा कहिले उसको गोटी बन्न पुग्छन् । एकपटक विद्रोह गरिसकेपछि जे गरे पनि पहिलेको गति र स्थानमा पुग्न हम्मे–हम्मे पर्दछ ।
तेस्रो श्रेणीमा वैश्यहरू जसको काम उत्पादन तथा व्यापार गर्नु रहेको थियो । सम्पूर्ण समाजको उत्पादन तथा व्यापार यिनैको हातमा रहेकाले महत्व त थियो । तर, यो वर्णले अन्य सबैसँग सुमधुर सम्बन्ध राखेर आफ्नो फाइदा हेर्नुपर्ने आवश्यकता थियो । बाहिर फैलिएको कारोबारको रक्षा नै यही सुमधुर सम्बन्ध राख्नुमा रहेकाले यो वर्ग हमेसा शक्तिको पुुजारी रह्यो, शक्तिको आकाङ्क्षी रहेन । न शक्तिभन्दा टाढा न शक्तिको नजिक हुनुमा नै भविष्य सुरक्षित गर्ने उपाय थियो ।
बुद्धिजीवी, उच्चपदस्थ कर्मचारी, सामाजिक अगुवा आदि राजनीतिक वैश्यको वर्णमा गर्ने गर्दछन् । पद, प्रतिष्ठा जो सत्तामा आए पनि त्यसबाट हासिल गर्दछन् । राजनीतिक नियुक्ति, समाजमा आफ्नो प्रभाव कायम आदि द्वारा आफ्नो भविष्यको सुरक्षाको निमित्त शीर्षनेताहरूको नजिक रहन चाहन्छन् । शीर्ष नेताहरू पनि आफ्नो स्वार्थ पूरा गर्न सक्नेहरूलाई काखी च्याप्ने गर्छन् । यिनबाट राजनीतिक ब्राह्मण वर्णलाई कुनै खतरा छैन किनभने यी त्यो स्थानमा पुग्ने चाहना नै राख्दैनन् ।
चौथो वर्ण शुद्र हुन्, जसको काम सेवा गर्नु भन्ने तोकिएको थियो । पछिल्लो समयमा आएर यिनीहरूलाई ज्ञान बर्जित गरियो । आफ्नो कामसँग सम्बन्धित सीप र ज्ञानबाहेक अरू ज्ञानको अधिकार खोसियो । सेवकमा ज्ञान भएमा विद्रोह गर्दछ भन्ने सोच हुनसक्छ । तर क्षमता, सीप कौशलमा शुद्र कुनै वर्णभन्दा कम थिएन । त्यसैले यिनमा तुच्छ व्यवहारले हीन भावना भरिन्थ्यो । शान्तिकालमा सम्पूर्ण समाजको बोझ शुद्रहरूकै काँधमा हुन्थ्यो ।
वास्तविक मिहिनेत गर्ने, सबैको तारो भएर काम गर्ने, तर हमेसा अन्य तीन वर्णको उच्चताको सम्मान गर्ने कार्यकर्ता तहका राजनीतिकर्मीहरू राजनीतिक शुद्रसरह छन् । दलको अनुशासनको डण्डाले तर्साइएका यो वर्ण आफूभन्दा माथिकाले जे भन्यो त्यसलाई नै अन्तिम सत्य मान्दछ । त्यसैले जहाँ टाउको गन्ती गर्नुपर्ने हुन्छ यस्तैको प्रतिनिधित्व गराइन्छ । आफ्नो अन्तरआत्माले गल्ती देखेको कुरामा पनि सही थाप्न यो वर्ण बाध्य छ ।
न कुनै निर्णय गर्न यो वर्णलाई सोधिन्छ न निर्णय गर्ने तहसम्म पहुँच नै छ । यो निर्णय किन भनेर सोध्ने यसको अधिकार छैन । भित्रभित्रै मुुर्मुरिन्छ, तर नेताको आदेशमा गन्तीको निमित्त आफ्नो टाउको पेस गर्दछ । जनताबाट गलत निर्णयप्रतिको आक्रोश पनि यही वर्णले झेल्छ । लाग्छ– राजनीतिक शुद्र वर्णले आफ्नो यो नियति स्वीकार गरिसकेको छ । जबसम्म यो वर्णले आफ्नो यो नियति स्वीकार गरिरहन्छ तबसम्म राजनीतिक ब्राह्मणको वर्चश्व कायम रहन्छ र जनताले दुःख पाइराख्छन् ।