उथलपुथलको घडी रोकिने सम्भावना छैन । राजनीतिक बेथिति सुध्रने सङ्केत छैन । प्रकृतिले पनि मुलुकलाई थिलथिलो पारेकै छ । भूकम्पका झट्का रोकिएका छैनन् । कतै खडेरीले खेत बाँझै छन् । कतै डुबानले पिरोलेको छ । कतै पहिरोले बगाएको छ । यो अधोगतिको यात्रामा पछिल्लो राजनीतिले मुलुकभर आगो सल्किएको छ । यो आगो झोस्ने र सल्काउने काम नेताले र यिनकै कार्यकर्ताले गरे । सडकभरि कार्यकर्ता उफ्रिएका छन् । सदन र सरकारमा नेताहरू च्याँठ्ठिएका छन् । सबैले मागेका माग्यै छन् । कोसँग कसले माग्या हो कसैलाई पत्तो छैन । कसले के दिने हो त्यो पनि थाहा छैन । माग्नेहरू अग्रगामी । दिनेहरू पश्चगामी । यही सेरोफेरोमा रहेर मुलुकका जनतालाई दुई भागमा हुत्याइएको छ । यस्ता काइते परिभाषा सिर्जना गरिदिए दलनिकटका लेखकले । तिनै शब्द पछ्याए नेताहरूले । त्यसैलाई समाएर सडकभरि छरिए कार्यकर्ता । आन्दोलनको आगो सल्काउन दल खोलिए । राजनीतिका लागि दलको सपना कार्यकर्ताका लागि गजबको चौतारी बन्यो । त्यसैमा बिसाउँदै ढुङ्गा वर्षाएर जनतालाई चोट दिइरहेका छन् । चोट दिन्छन् यिनैले । मल्हम लगाउँछन् यिनैले । इतिहासलाई सराप्छन् । त्योभन्दा खराब इतिहास यिनैले बनाउँछन् । मार्न सिकाउँछन् । मर्न लगाउँछन् । तर, आफू सधैँ बाँचिरहन्छन् ।
गजबको ५ प्रदेशबाट ६ वटा बनाएर चटक देखाए । यो सुरुवात हो । वास्तविकता धेरै पर छ । तर, त्यो निकट पुग्न धेरै समय लाग्दैन । सङ्घीयता केका लागि ? प्रश्न फेरि यिनैले गर्न थालिसकेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले व्यापक अवरोध भए पाएको अधिकार पनि गुम्न सक्ने अभिव्यक्ति दिएर यसैको सङ्केत गरेका हुन् । जातीय भेदभाव हराउन थालिसकेको थियो । यिनैले जगाए । जात–जातबीचको दूरी बढाउन दलहरूले नै लगाए । धर्म–धर्मबीचको भेद गर्न दलहरूले नै सिकाए । करिबकरिब शतप्रतिशत हिन्दू मुलुक भएको नेपाललाई अन्य धर्म हुल्ने बाटो खोलिदिए । राष्ट्रिय एकताका साथ अघि बढेको मुलुकलाई चिरा पार्न सङ्घीयताको विजारोपण गरियो । न यो कार्यान्वयन हुन्छ । न पछाडि फर्कन वर्तमान राजनीति सक्छ । समस्या मात्र देखाइयो । समाधानको उपाय सुझाइएन । दलहरूले यसैमा गर्ब महसुस गरे । यस्ता अनन्तकालसम्म नरोकिने समस्या खडा गरेर दलहरू मुलुकलाई दलदलमा फसाए ।
कार्यकर्ता पनि कस्ता । नेताहरूकै चेलाजस्ता । यस्तै चेलालाई जनताको परिभाषा गरेर नेताले सधैँ दाउ खोजे । यिनै कार्यकर्ताबाटै दिक्क भएर २०४६ पछि बहुदलीय व्यवस्थाको बेथितिमा गणेशमान सिंहले जनता भेडै रहेछन् भन्ने अभिव्यक्ति झन्झन् ताजा बन्दै गयो । कार्यकर्ता ठीक हुन्थे भने नेता पनि ठीक बाटोमा सोझिन्थे । नेताले सही दिशा लिएको भए मुलुकले पनि सकारात्मक फड्को माथ्र्यो । अनि मात्र उनकै प्रशिक्षणमा तयार हुने नयाँ कार्यकर्ता मुलुकका लागि कारिन्दा बन्थे । अहिले त गलत बाटोमा कुदिरहेका नेतालाई नयाँनयाँ कार्यकर्ताले सघाइरहेछन् । नेता असल भए कार्यकर्ता पनि असल तयार हुन्थे । कार्यकर्ता इमानदार भए पो नेताले गतिला काम गर्थे । हिजो माओवादीले युद्ध गर्न सिकायो । कार्यकर्ताले सिके । लडाइँ लडे । अहिले नेता मात्र बचे । कार्यकर्ता मरे । जनताले मार्न र मर्न मात्र सिके । यो सिकाइ जातजाति, धर्म, सम्प्रदायमा फैलियो । परिवर्तन गर्ने भनियो । परिवर्तन पनि गरियो । जनता र देशका लागि परिवर्तन गरिएन । देश हरिकङ्गाल भो । सक्षम जनशक्ति बिदेसियो । खराब तत्व देशभित्रै बाँकी रह्यो । खराबैखराब बाँकी रहेपछि देश त नबन्ने नै भयो । त्यसैको परिणाम सारा मुलुकले अहिले व्यहोरिरहेको छ ।
द्वन्द्वपीडितको समाधान नहुँदै भूकम्पपीडित समस्या भोग्नुपरेको छ । गरिबी निवारण नहुँदै झन्झन् दरिद्रता निम्तँदै छ । समृद्धितर्फ नलम्कँदै विकास निर्माण अवरोध पारिँदै छ । तैपनि दलहरूले भ्रष्टाचार गर्न छोडेका छैनन् । जनताको लासमाथि राजनीति गर्न रोकिएको छैन । कसले गतिलो काम गर्ने हो जनताले भेउ पाउन छोडिसके । सबै उस्तै प्रकारका । दलहरूका रूप फरक भए पनि गुण समान खालका । एकै सिद्धान्तका दर्जन पार्टी । एउटै कोटिका धेरै नेता । न कुनै सबै जनताको बन्न सके । न कुनै दलले देशको राजनीति ग-यो । यो उदेकलाग्दो राजनीतिक चरित्रबाट स्वतन्त्र नागरिक विस्मात छन् ।
अब फेरि अरू विभिन्न तत्व आइरहेछन् । देश बनाउने भन्दै कुर्लिरहेछन् । तर, पहिला अधिकार चाहियो भनेका छन् । पूर्वको एउटा जाति त्यही भन्छ । पश्चिमको अर्को समूह उस्तै माग्छ । मागेको पाएपछि पो देश बनाउँछु भन्नेहरू धेरै उम्रिए । उम्रने क्रम पनि रफ्तारमै चलेको छ । दिनेहरूले पनि मागेकै छन् । लिनेहरू त माग्ने नै भए । ज्ञानेन्द्र शाहले ०६३ सालमा ‘जनताको नासो जनतालाई’ नै दिए । अब त दिनेहरू नै पाखा सरे । माग्ने मात्र भए । सडकमा माग्नेहरू दलहरूकै कार्यकर्ता । सदनमा उफ्रने पनि दलहरूकै कारिन्दा । साना दल पनि सरकारमा । आफू–आफूबीचको लेनदेन गर्न नजान्नेले कस्तो अग्रगमनको कुरा गरेका होलान् । दिनेहरूको भाग सबै खोसिसकेपछि अब केका लागि मागिरहेछन् ? न पूर्वराजा ज्ञानेन्द्रसँग दिने बाँकी छ । न सरकार चलाउनेले दिन जानेकै छ । नेताहरू सरकार चलाउँछन् । कार्यकर्ता मागेको माग्यै छन् । कहिले जातिका नाममा त कहिले धर्मका नाममा माग्ने प्रथाको सुरुवात यहीँबाट भएको हो । यो चेतनाको विजारोपण भएकै छैन । जबसम्म माग्ने र दिने होइन, देशभर फल फलाउने हो भन्ने चेतनाको रोपण हुन्न तबसम्म यो क्रम रोकिने छैन ।
सङ्घीयता चाहिकै थिएन । जबर्जस्ती लादियो । परिणाम देशभर आगो सल्कियो । धर्मनिरपेक्षता आवश्यकतै होइन । बलजफ्ती प्रयोग गरियो । देश जुरुक्कै उठ्यो । आन्दोलन र असन्तुष्ट नभएको क्ष्ँेत्र बाँकी नै रहेन । हिमाल, पहाड, तराईभरि आन्दोलन सुरु भो । पूर्वदेखि पश्चिममा आन्दोलन फैलियो । सबैतिर खण्ड–खण्ड बन्द गरिए । संविधान निर्माणको यो घडीसम्म यो उत्पात देखियो । अझै कति विजोग अवस्था आउने हो अनुमान मात्र गर्न सकिन्छ । आन्दोलनका तौरतरिका बदलिन थालेका छन् । अहिले मोर्चाबन्दीको लहर नै चलेको छ । आफ्नो स्वार्थका लागि जनजाति र मधेसका मोर्चाबन्दी पनि यही कालमा देखियो । कालो काङ्ग्रेस र निरङ्कुश कम्युनिस्ट पनि मिलेको देखियो । यतिसम्म गिरेर गरिएको यो मोर्चाबन्दीले दीर्घकालीन मुलुकलाई खति पु-याउने निश्चित छ । तर, पनि यो खतरनाक दलहरूको मिलन–विछोडको रफ्तार बेजोडसँग चलिरहेको छ ।
प्रतिक्रिया