०१९ को संविधानअनुसार नेपाललाई ‘राजतन्त्रात्मक हिन्दूराज्य’ भन्न सकिन्थ्यो भने ०४७ को संविधानमा ‘संवैधानिक राजतन्त्रात्मक हिन्दू अधिराज्य’ भनी उल्लेख गरेको पाइन्छ । तर, ०१५ सालको संविधानमा हिन्दूराज्य वा अधिराज्य नभने पनि कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन भनी स्पष्टसँग धर्म परिवर्तन गराउन निषेध गरेको पाइन्छ ।
नेपालमा लिच्छविकाल, खसकाल, मल्लकाल, शाहकालमा चलेको शासनपद्धतिको मूल आधार वेदवेदाङ्ग, स्मृतिपुराण तथा नीतिशास्त्रहरू नै मानिन्थे । राजा–रजौटाहरूले उल्लिखित मूल शास्त्रीय परम्पराबाट विमुख भई स्वेच्छारितापूर्वक दिएको आज्ञा वा लालमोहर, सनद सवाल, हुकुम प्रमाङ्गीका आधारमा पनि शासन व्यवस्था चले–चलाएको पाइन्छ । १९१० मा बनेको दत्तगुठी प्रकरणको प्रथम नियम र धर्माधिकार तथा धर्म परिवर्तन गर्न नपाउने नियम १९४३ मा थपघट र परिमार्जन गर्न बनेको ऐन, १९९२ को हिन्दू धर्मसम्बन्धी व्यवस्था अध्ययन गर्दा त्यस समयमा पनि हिन्दूराज्यको हितमा भएको पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहको ‘यो फूलबारी छोटा–बडा चारै जात छत्तीसै वर्णले यो असली हिन्दुस्तान हो, आफ्ना कुलधर्म नछोड्नू’ भन्ने भनाइले पनि त्यसबखत वेदादि शास्त्रनुकूल नै शासन व्यवस्था थियो भन्ने बुझिन्छ । २००७ को अन्तरिम संविधानको राज्यको नीतिनिर्देशक सिद्धान्तहरू भन्ने भागमा परेको पन्ध्रौँ धाराले ‘सरकारले केवल धर्म, जात, जाति, लिङ्ग जन्मथातहरूका वा तीमध्ये कुनैका आधारमा कुनै नागरिकप्रति भेदभाव गर्नेछैन’ भन्ने उल्लेख भएपछि १९९२ सालमा बनेको हिन्दू धर्मसम्बन्धी ऐनको बेवास्ता भई नेपालमा क्रिश्चियनहरूको वृद्धि र पादरीहरूद्वारा क्रिश्चियन मिसनरी स्कुलहरू खोल्ने कार्यहरू बढ्दै गएको मानिन्छ । यस सन्दर्भमा ०१९ र ०४७ सालका नेपालको संविधानमा हिन्दूराज्य तथा हिन्दूअधिराज्य उल्लेख भएको कारण अब बन्ने संविधानमा पनि हिन्दूराज्य हुनुपर्छ भन्दै बहुसङ्ख्यक हिन्दूहरूको आवाज उठ्नु स्वाभाविकै हो । साथै वेदवेदाङ्ग स्मृतिपुराणहरूलाई अँगाल्दै आएको मुलुक हुनाले संविधानमै हिन्दू शब्द नराख्दा हिन्दूहरूप्रति अपहेलना र अपमान गरिएको अनुभूति भइरहेको पनि हो । यति धेरै हिन्दूहरू भारत, नेपाललगायत विश्वका विभिन्न भू–भागहरू जस्तै मोरिसस, दक्षिण अफ्रिका तथा विभिन्न अफ्रिकी मुलुकलगायत पूर्वी एसिया, क्यारेबियन द्वीप, फिजीसम्म र प्रत्येकजसो मुलुकमा धेरथोर हिन्दूहरू पाइन्छन् । जहाँसुकै पनि व्यक्तिगत निवेदन वा फर्म भर्दा धर्मको उल्लेख गर्नुपर्ने हुन्छ । हिन्दू, इसाई, इस्लाम, बुद्ध जे भए तापनि कट्टर होस् वा नरम आफ्नो धर्म नढाँटीकनै उल्लेख गर्नुपर्दछ । त्यसकारण पनि चेतनशील व्यक्तिले आफ्नो धर्मबारे ज्ञानबद्र्धक प्रवचन दिन नसके पनि पहिचान दिन भने पछि पर्नुहुँदैन ।
महात्मा गान्धीका अनुसार हिन्दूधर्म धेरै सहिष्णुता भएको धर्म हो । र, अहिंसात्मक साधनद्वारा सत्यको खोजी गर्नु नै हिन्दूधर्मको व्याख्या हो । अरू विद्वान्हरूले पनि आ–आफ्नै प्रकारले व्याख्या गरेको पाइन्छ । ०१९ मा रोयल नेपाल एकेडेमीले प्रकाशित गरेको नेपाली शब्दकोशमा हिन्दू शब्दको अर्थ ‘हिन्दू वेद धर्मशास्त्र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने व्यक्ति वा धर्म मान्ने व्यक्तिलाई हिन्दू भन्ने गरिन्छ’ भन्ने उल्लेख भएको पाइन्छ । नेपाली बृहत् शब्दकोश ०४० ले पनि त्यस्तै अर्थ दिएको छ । ०४० मा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली सङ्क्षिप्त शब्दकोशमा ‘हिन्दू’को अर्थ वेद धर्मशास्त्र पुराण आदि ग्रन्थलाई आफ्नो धर्मग्रन्थ मान्ने तथा गो पूजा गर्ने धार्मिक सम्प्रदायभित्रको व्यक्ति भनी स्पष्ट गरिएको छ । ०३४ मा प्रकाशित महानन्द सापकोटाकृत ग्रन्थको पेज ४५४ मा सिन्धु शब्दमुनि हिन्दू शब्दको परिचय हिन्दू भएको र यो हिन्दू शब्द सर्वप्रथम अवेस्ता नामक पारसीको धर्मग्रन्थमा देखिएको उल्लेख छ । हिन्दूको अर्थ सिन्धु देश भन्ने उल्लेख गरिएको पनि पाइन्छ । कालक्रममा त्यस देशमा बस्नेको नाम हिन्दू भयो, अचेल श्रुति, स्मृति मान्ने सनातन धर्मको नाम हिन्दूधर्म भयो भनिएको छ । भार्गव आदर्श हिन्दी शब्दकोशमा हिन्दू आर्यातावासी वर्णश्रमधर्मी भनिएको छ । सूचना विभाग प्रकाशन शाखा उत्तर प्रदेशले सन् १९५९ मा प्रकाशित गरेको उर्दू हिन्दी शब्दकोशमा ‘हिन्दू हिन्दुस्तानका वह व्यक्ति जो मूर्ति पूजा करता हैं और वौदिक धर्मावलम्बी हैं’ भनिएको छ । सन् १९६४ मा प्रकाशित प्रथम भारतीय संस्करण चेम्बर्स ट्वान्टिथ सेनच्युरी डिक्सनेरीमा ‘हिन्दू अ ब्लिभर इन अ फर्म अफ ब्रह्मानिज्म’ भनी हिन्दू शब्दको अर्थ बुझाउन खोजिएको छ । सन् १९७२ मा प्रकाशित भारतीय संस्करणको बेन्टर्स न्यू वल्र्ड डिक्सनेरीमा हिन्दुत्वलाई ‘हिन्दुज्म एन द रिलिजन एण्ड सोसियल सिस्टम अफ द हिन्दुज डेभलपड फ्रम ब्रह्मानिज्म विद इलेमेन्टस फ्रम बुद्धिज्म, जैनिज्म’ इत्यादि भनी प्रस्ट पार्ने कोसिस गरिएको छ । १४२० वैक्राम्वादमा सङ्कलित शङ्खधर पद्धतिमा यवनहरूबाट भूमि आक्रान्त भई हिन्दूहरू विन्ध्यपर्वतका वनमा पसे, बलियो कलिले वैदिक धर्मलाई एक गाँस बनायो भन्ने उल्लेख भएबाट पनि हिन्दूहरू वैदिक धर्मावलम्बी भएको पुष्टि गर्दछ । त्यस कालमा पनि हिन्दू शब्दको प्रयोग भएको पाइन्छ ।
नेपालका विशिष्ट र वरिष्ठ विद्वान्हरू सम्मिलित विद्वतसभा काठमाण्डू (मिति २०४०÷७÷१३) पछि प्रकाशित सन्देशमा वैदिक सनातन वर्णाश्रम धर्मलाई हिन्दूधर्म भनिएको छ । यसै सभामा सभापतिका नामले प्रकाशित हिन्दूधर्मको भ्रान्त व्याख्याबाट सावधान भनी बाँडिएको पर्चामा श्रुति स्मृति पुराणहरूले प्रतिपादन र व्याख्यान गरेको वैदिक सनातन वर्णाश्रम धर्मको नै लौकिक व्यावहारिक नाम नै हिन्दूधर्म हो भन्ने पाइन्छ । त्यस्तै फारसी भाषामा ‘स’को उच्चारण ‘ह’ हुने भएको र त्यसअनुसार पञ्जावको सिन्धु नदीको नामबाट हिन्दू भएको अनि सिन्धु नदीको पारीदेश (परवर्ती क्षेत्र) हिन्दू र त्यहाँ बसोवास गर्ने बासिन्दा हिन्दू भएका हुन् भन्ने पनि छ । अर्कोतर्क पारसीहरूले सिन्ध र सिन्धुबाट हिन्द र हिन्दू बनाएका होइनन् बरु हामीले नै शुद्ध संस्कृतिमा सिन्धु भन्दाभन्दै प्राकृत भाषामा हिन्दू भन्न थालेका हौँ भन्ने मत पनि प्रकट गरिएको छ । किनभने संस्कृतिको ‘स’ प्राकृतमा ‘ह’ हुन्छ । तर, यो तर्क पनि खण्डन गर्दै अर्कोथरीले संस्कृतको स प्राकृतमा ह हुँदैहुँदैन भन्छन् । युनानी (ग्रिस)ले सिन्धु नदीलाई इन्दस र सिन्धुका परवर्ती देशलाई इन्डिया भन्ने गर्दछन् । त्यस क्षेत्रमा आर्या, अनार्या र द्रबिड आदि अनेक जातिका बसोवास भए तापनि सबैलाई इन्डिया र इन्डियान भनी पहिचान हुन्थ्यो पनि भनिन्छ ।
त्यसैगरी सिन्धुपारिका फारसी मुस्लिमहरूको हिन्दू भन्ने शब्दको अर्थ नराम्रो हुने कालो, नराम्रो, चोर, गुण्डा फटाहा हुने भएकाले घृणावश सिन्धुपारेलाई हिन्दू भनिएको हो पनि भनिन्छ । तर, उस्तै देखिने शब्दमा मौलिक एकता छ भनेर मान्न सकिन्न । अर्को प्रमाण मुसलमान धर्मका प्रवर्तक हजरत महमदले इसाको सातौँ शताब्दीमा इस्लाम धर्मको प्रचार सुरु गरेका हुन् । त्यस हिसाबले आजको २१औँ शताब्दीमा आइपुग्दा १४०० वर्ष पुगनपुग हुन्छ । १४०० वषअगाडि यस भूमण्डलमा कहीँ पनि इस्लाम धर्म र मुस्लिम बस्ती छँदैछैन भन्ने बुझिन्छ र त्योभन्दा हजारौँ वर्षअघिदेखि फारसीहरूको ‘सातिर’ भन्ने धार्मिक पुस्तकमा हिन्द र हिन्दू भन्ने नाम भएको उल्लेख छ । त्यसकारण पनि हिन्दू शब्द मुसलमानहरूको गाली शब्द होइन भन्ने ठोकुवा गर्न सकिन्छ । अन्ततः हिन्दू भन्ने शब्दको उत्पत्ति जहाँबाट जे जसरी भएको भए तापनि हिन्दूहरूको वेदवेदाङ्ग श्रुति–स्मृति पुराणहरू नै नीतिशास्त्र भएको र हिन्दूहरू वैदिक धर्मावलम्बी हुन् भन्ने बुझिन्छ । भाषामा सनातन भने पनि व्यवहारमा समानता हुन नसक्दा हिन्दूधर्मकै आलोचना भइरहेको छ । हिन्दूधर्मभित्र छोइछिटो र पानी नचल्नेसमेतको भेदभाव भएकाले अब नयाँ पुस्ताले एउटै धर्म, एउटै जात, एउटै समाज र एउटै संस्कार भन्ने नारालाई व्यवहारमा ल्याउन पानी–पँधेरो, मठ–मन्दिर छुवाछुतरहित र भेदभावबिना खुला र प्रत्येक जातजातिबीच सराबरी गर्ने कार्य गर्नु अपरिहार्य भएको छ । पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने भनिएका तथा दलित, क्षेत्री, ब्राह्मण सम्पूर्ण जातबीच समय–समयमा सहभोजको कार्यक्रम आयोजना गर्दै सबैलाई एकताको सूत्रमा बाँध्दै अगाडि बढ्नुपर्ने देखिन्छ । त्यसपछि मात्र हिन्दूको एउटै धर्म, एउटै जात, एउटै संस्कार हुन्छ र एकताभाव पनि बढ्छ ।
प्रतिक्रिया