यसरी जीवन बदल्दै छ ‘गरिबसँग विश्वेश्वर’

यसरी जीवन बदल्दै छ ‘गरिबसँग विश्वेश्वर’


  • रेजिना गौतम, झापा

साबिक चारपाने–६ निवासी मेनुका खनाल मासिक पाँच रुपैयाँ बचत गर्नुपर्छ भनेपछि समूहमा आबद्ध भइनन् । ‘समूहमा बसेपछि नियम मान्नुपर्ने अनि मान्न नसके अलग हुनुपर्ने अवस्था आउला कि’ भन्ने डरले सुरुमा आबद्ध हुन नमानेकी उनी अहिले त्यही समूहमा आबद्ध भएर आर्थिक कारोबार गर्दै आएकी छन् । जम्मा गर्ने पैसा कहाँबाट ल्याउनु भन्ने डर लागेछ उनलाई, तर स्थानीय एक शिक्षिकाले ‘तरकारी किन्न जाँदा एक–एक रुपैयाँ बचाए पुग्छ, त्यसले पछि ठूलो काम गर्छ’ भन्ने सल्लाह दिएको उनलाई ‘हो त’ भन्ने लागेछ । उनै ‘मिस’ले कर गरेपछि मेनुका समूहमा आबद्ध भएकी रहिछन् ।

मासिक पाँच रुपैयाँ बचत गर्नका डरले निकै लामो ‘काउन्सिलिङ’पछि मात्र समूहमा आबद्ध भएकी मेनुकाले अहिले दुई सय रुपैयाँ बचत गर्दै आएकी छन् । समूहबाट प्राप्त रकमलाई उत्पादनमूलक कार्यमा लगाएपछि दैनिकीमा सहज हुनुका साथै आवश्यक परेका बेला रकम पनि चलाउन पाउँदा उत्साह बढेको मेनुकाले बताइन् । अति विपन्न समुदायलाई लक्षित गरी शुरु गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गतको समूहमा आबद्ध मेनुकाको दैनिकी धान्ने र सन्ततीलाई शिक्षा दिने आधार भएको छ । ‘छोराछोरी पढाउँदै छु, घर पनि बनियो, सबै त्यहीँबाट त के पुग्थ्यो अन्य काम गरेर थपथाप गरियो । तर, बाटो त्यसैले देखायो, आज पनि समूहमा छु,’ उनले थपिन्, ‘अहिले दुई सय बचत गर्न समस्या छैन । समूहबाट पाएको रकमबाट अहिले उनी कुखुरा व्यवसायी बनेकी छिन् ।’

१२ वर्षअघि गरिबसँग विश्वेश्वर कार्यक्रमको सङ्गठित समूहबाट बिउ पुँजीका रूपमा चार हजार रुपैयाँ पाउँदा पद्मा तिम्सिनाको खुसीको सीमा रहेन । त्यसअघि कहिले पनि चार हजार रुपैयाँ नसमाएकी उनलाई उक्त रकम जीवनको ‘टर्निङपोइन्ट’ नै भएको अनुभव गरिन् । उनले भनिन्, ‘पहिलोपटक त्यति ठूलो रकम हातमा पर्दा सबै दुःख हटेझैँ लाग्यो ।’

गाई पाल्ने, दूध बेच्ने सोच राखेर हातमा परेको चार हजारले किनेको गाईको बाछीले चार वर्षसम्म पनि उत्पादन दिन नसकेपछि पद्माको खुसीमा निराशा छायो । गाईको बाछो बेचिन् र बाख्राको पाठो किनिन् । उनी भन्छिन्, ‘नहुने मान्छेले गर्दा हुँदैन नै जस्तो लाग्यो, चार हजारमा किनेको बाछी चार वर्ष पालेर चारै हजारमा बेचेँ र २५ सयमा बाख्राको पाठो किनेँ, बाँकी छोराछोरीलाई भात खुवाएँ, खाने नै केही थिएन, आखिर यसै बिग्रेँ उसै बिग्रँे भन्ने लाग्यो, आजसम्म कसैलाई भनेकी थिइनँ, तर मिसकै अगाडि भनेँ ।’

बाख्राले भने पद्मालाई केही राहत दियो । किनेको केही समयमै ब्याएको बाख्राबाट आम्दानी हुँदै गर्दा सङ्गठित समूहले नै बाख्रा दिने भएपछि आफूसँग भएका बाख्रा बेचिन् र व्यावसायिक रूपमा कुखुरा पाल्न थालिन् । अहिले उनी बाख्रा र कुखुरा दुवैबाट भएको आम्दानीले दुई छोराछोरीलाई बोर्डिङ पढाउँदै छिन् भने बस्ने घरको छानो फेरिएको छ । बाँसको खाँवा र खरको छानो थियो अहिले कैँची बटम गरेर टिनको छानो छ, छोराछोरी बोर्डिङ पढ्दै छन् । अरू के थियो र ? सबै त्यसैबाट हो ।’

गाईको बाछो थारिएपछि चार हजार कसरी तिर्ने भन्ने चिन्तामा परेकी पद्माको आम्दानी बढ्दै गएसँगै कार्यक्रममार्फत नै पाएको ५० हजार बिउ पुँजी पनि कुखुरामै लगानी गरिन् । त्यसबेला पनि ५० हजार कसरी तिर्ने भन्ने चिन्तामा परेकी उनको अहिले ऋण खाने क्षमतामा पनि वृद्धि भएको छ । उनी भन्छिन्, ‘५० हजार ऋण लिन डराउँथेँ, तर अब पाँच लाखसम्म ऋण दियो भने खान र तिर्न सक्छु, व्यवसाय बढाउँछु ।’ पद्मा १२ वर्षअघि गरिबसँग विश्वेश्वर कार्यक्रमकोे समूहमा आबद्ध भएकी हुन् ।

अर्काको अधियाँ खेती र मजदुरी गरेर १२ जनाको परिवार धान्दै आएका साबिक जलथल–९ का वकिल सोरेनलाई यतिबेला दैनिकी चलाउन सहज भएको छ । पाँच वर्षअघि गरिबसँग विश्वेश्वर कार्यक्रममा आबद्ध भएसँगै उनको दैनिकीमा सहजता आएको हो । कार्यक्रममा आबद्ध भएसँगै बाख्रा पैँचो पाएका उनले बाख्रापछि सुँगुर पैँचोका रूपमा पाए, त्यही बढाएर जीविकोपार्जन तथा सन्ततिको पढाइमा खर्च गरे । त्यसमा बिउ पुँजी पनि सहयोगी बन्यो ।
०५७ सालदेखि गरिबसँग विश्वेश्वर कार्यक्रममा आबद्ध विष्णुमाया तामाङले आफ्नो दैनिकीको आधार नै त्यही भएको बताइन् । श्रीमान् र दृष्टिविहीन छोरा–बुहारीसहित ४ जनाको परिवार बाख्राकै आम्दानी र समूह बचतबाट नै चलिरहेको उनको भनाइ छ । सोरेन र तामाङ दुवैले बिउ पुँजी वृद्धिको माग गरेका छन् ।

गरिबसँग विश्वेश्वर कार्यक्रमलाई आधार बनाएर जीवनस्तर बदल्ने यी प्रतिनिधि पात्र मात्र हुन् । साबिक चारपानेमा १२ वटा समूहमा १३५ घरका १३९ जना आबद्ध छन् । कार्यक्रममार्फत प्राप्त रकम परिचालन गर्ने क्रममा जोडकोष, आन्तरिक कोष र बिउँ पुँजीसहित तीनवटा कोष परिचालन गर्दै आएको सङ्गठित समूहको गत आर्थिक वर्षमा १८ लाख बढीको कारोबार भएको गरिबसँग विश्वेश्वर कार्यक्रमकी सहजकर्ता अस्मिता अर्यालले जानकारी दिइन् । शुरुमा खासै महत्व नदिएको सङ्गठित समूह चारपानेको नेतृत्वका लागि गत वर्ष अधिवेशन नै भएको बताउँदै अर्यालले भनिन्, ‘रकम बढ्दै गएपछि नेतृत्व लिन पनि घम्साघम्सी हुने गरेको छ ।’

केन्द्रीय तहबाटै बजेट विनियोजन हुने उक्त कार्यक्रममा गत आर्थिक वर्षसम्म स्थानीय तहबाट पनि बिउँ पुँजीमा केही रकम छुट्टिँदै आएको थियो । तर, चालू आवमा भने आफ्नै कमजोरीका कारण बजेटमा समेट्न नसकेको अर्यालले स्वीकार गरिन् ।

जलथलमा लक्षित समुदाय आबद्ध १० वटा समूह छन् । ०५५ देखि सुरु भएको कार्यक्रमअन्तर्गत ०५७ सालदेखि झापाका १२ वटा साबिकका गाविसमा सञ्चालन हुँदै आएका छन् । स्पष्ट नीति र अनुभवको अभावमा शुरुवातमा छनोट गरिएका परिवारमा गरेको लगानीको केही हिस्सा जोखिममा परे पनि इमानदार र मिहिनेतीका लागि भने जीविकोपार्जनमा ठूलो भूमिका खेलेको उप्रेतीले बताइन् । कार्यक्रममार्फत जलथलमा मात्रै २७० परिवार लाभान्वित भएका छन् ।

अति विपन्न समुदायको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले अढाइ दशकयता सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रम झापाका साबिकका १२ वटा गाविसमा सञ्चालित छ । ती गाविसमा कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा कुल २४ लाख बजेट आएको कार्यक्रम संयोजक प्रकाश उप्रेतीले बताए ।

झापाका जलथल, बालुबारी, चकचकी, दुवागढी, ज्यामिरगढी, शान्तिनगर, सतासी, पाँचगाछी, गौरादह, जुरोपानी, गरामनी र चारपानेमा ०५७ सालदेखि सामाजिक परिचालकमार्फत कार्यक्रम सञ्चालन हुँदै आएको छ । अति विपन्न समुदायमा परिचालित उक्त कार्यक्रममार्फत ५ प्रतिशत ब्याजमा दिइने बिउ पुँजी बुझाएपछि ब्याज फिर्ता गर्ने गरेको संयोजक उप्रेतीले बताए । कार्यक्रमको शुरुवात भने ०५५ सालदेखि नै भएको बताइन्छ ।

अति विपन्नलाई समेटिने उक्त कार्यक्रममार्फत गरिएको लगानीको २० लाख बिउ पुँजी जोखिममा परेको छ भने झन्डै सात लाख रुपैयाँ साबिक जिल्ला विकास समितिको खातामा रोकिएको छ । राज्य पुनर्संरचनामा गएसँगै जिविसका सबै खाता सञ्चालनमा रोक लाग्दा उक्त कार्यक्रमको बजेट पनि रोकिएको हो ।
हल्दिबारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुँडालले अति विपन्न समुदायको दैनिकीसँग जोडिएको कार्यक्रमलाई आगामी बजेटमा समेट्न प्रयास गर्ने बताए । उनले भने, ‘मैले उठाएको कुरा बहुमतका कारण कति सुनुवाइ हुन्छ भन्ने हो, वडाबाटै समेटेर लाने प्रयास गर्छु ।’

कार्यक्रममार्फत जिल्लाका १२ गाविसका तीन हजार परिवार लाभान्वित हुँदै आएका छन् । कार्यक्रम सञ्चालन भएका ठाउँमा कम्तीमा आठदेखि बढीमा १३ वटासम्म समूह बनाइएका छन् । ती समूहमा तीन हजार परिवार आबद्ध रहेको बताइएको छ ।

कतिपय स्थानीय तहमा काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको नाम रहेका कारण आस्थाका आधारमा बजेट विनियोजनमा अल्पमत र बहुमतको हिसाब गरिने गरेको पनि जानकारहरूको बताउँछन् । तर, जनताको दैनिकीसँग जोडिएको कार्यक्रमलाई जुनसुकै सरकार आए पनि प्रभावकारिता र आवश्यकतालाई मध्यनजर राखेर बजेट व्यवस्थापन गर्न जरुरी छ ।