कसले देखायो सपना ?

कसले देखायो सपना ?


nisedhएकादेशमा एकजना राजकुमार रहेछन् । आफ्ना बाबु महाराजको मृत्युपछि उनले खोलाकिनारमा गएर तर्पण दिन लाग्दा एकैपल्ट तीनवटा हात अगाडि आएछन् । अचम्म मानेर उनले तीनवटा अलग–अलग हात कसरी आए ? यसको अर्थ के हो ? भनेर वरिपरि हेरेछन् । कोही बूढापाकाले यसको अर्थ खोज्नका लागि नदीकिनारमा बस्ने सेतै कपाल फुलेकी बूढीआमाकहाँ जान सुझाव दिएछन् । सोही किनारमा दशकौँ बिताएकी ती बूढीआमासामु गएर घटना विवरण दिँदै राजकुमारले सोधेछन्– यो के भएको आमा ? के मेरा तीनवटा बाबु थिए ? ती आमाले राजकुमारलाई तिमीले पाखुरामा बाजु लगाएका छौ ? भनेर सोधिछन् । राजकुमारले ‘छ’ भन्दै बाजु देखाएपछि आमाले भनिछन्– हो राजकुमार, तिम्रा तीनवटा बाबु थिए । ती आमाको जवाफपछि छक्क पर्दै राजकुमारले तपाईं कसरी यस्तो भन्न सक्नुहुन्छ ? तपाईंसँग के प्रमाण छ ? भनेर सोधेछन् । आमाले भनिछन्– त्यसको प्रमाण म आफैं हुँ, म नै तिम्री त्यो अभागी आमा हुँ ।
राजकुमारको हात पक्रिएर उनले कहानी बताइन्– म किशोरी थिएँ, म हुर्किएको देशको राजकुमारलाई ठूलो मुद्दा लागेकाले उनलाई मृत्युदण्डको घाषणा गरियो । जेलमा मृत्युदण्ड दिनुअघि अन्तिम इच्छाबारे उनलाई सोधिएछ । उनले विवाह गर्ने र कसैलाई जिन्दगीमा एकपल्ट आफ्नी पत्नी बनाएर मर्ने इच्छा व्यक्त गरेछन् । फाँसी हुन लागेको राजकुमारलाई कसले पो छोरी दिन्थ्यो र ? मेरो परिवार गरिब थियो । बाबु–आमा निर्धन थिए । गाउँमा कसैले राजकुमारलाई छोरी दिए जिन्दगीभर सुखी हुने कुरा मेरो बुबा र परिवारलाई बताएछन् । सम्पत्तिको लोभमा हत्कडी लागेका राजकुमारसँग मेरो विवाह भयो । विवाह त भयो, तर हामीलाई सँगै बस्न दिइएन । राजकुमार र म फलामको बार वारिपारि बस्थ्यौँ । त्यत्तिकैमा दिन बित्दै गए, उनको मृत्युदण्डको दिन पनि आयो । हामी सँगै बस्न नसके पनि फलामे बारको प्वालबाट एक–अर्काको हात समाउन भने सक्थ्यौँ । मृत्युदण्ड दिनु अघिल्लो रात राजकुमारको हात समाएर म खुव रोएँ । आखिर यो सब जान्दाजान्दै तपाईंले किन विवाह गर्नु भो ? मैले अब कसरी जिन्दगी बिताउनु ? भने । उनले मसँग माफी मागे । मलाई एउटा बाजु, सुनको सिक्का र बहुमूल्य जुहारतहरू दिँदै भने– तिमी यो बेच र राम्रो घर किन । एकजना यस्तो मान्छे खोज जसले तिमीसँग एकपल्टलाई शारीरिक सम्बन्ध राखोस् र त्यहाँबाट बिदा होस् । उसको मुख थुन्नका लागि तिमीले उसलाई सम्पत्ति देऊ र कहिल्यै फर्किएर नआउने वाचा गराऊ । त्यसपछि तिमी गर्भवती हुनेछौ, छोरा जन्मिनेछ । ऊ हाम्रो छोरा हुनेछ । यो बाजु बच्चालाई लगाइदेऊ, आमा–छोरा सुखका साथ जीवन बिताऊ ।
राजकुमारलाई मृत्युदण्ड भयो, मैले उनले भनेझैँ गरेँ । तर, त्यो मान्छे बेइमान निस्कियो । तिमी जन्मिएपछि त्यो आयो, मैले अपनाउने कुरै थिएन । हामी आमा–छोराको संसार बर्बाद नगर भनेर सम्झाउँदा लागेन । जबर्जस्ती गरेपछि मैले त्यसलाई मारिदिएँ, घरको मझेरीमा गाडेँ र तिमीलाई बोकेर त्यहाँबाट भागेँ । हिँड्दै जाँदा नदी भेटेँ र किनारमा तिमीलाई छोडेँ । परबाट आउँदै गरेका यो देशका राजाले तिमी रोएको सुने । उनका सन्तान थिएनन्, उनले तिमीलाई गोद लिए र राजकुमार बनाए । यसरी तिम्रा तीनवटा बाबु भए । सबै कुरा सुनिसकेपछि राजकुमारले आमालाई प्रश्न गरे– त्यसो भए, मेरा असली बाबु को हुन् ? मैले अब तर्पण कसलाई दिने त ? तिमीलाई जस–जसले जे गरेका भए पनि तिमी उही राजकुमारको अवधारणा हौ जोसँग मैले विवाह गरेकी थिएँ । यदि उनले त्यसो नभनेका भए तिमी अहिले यो संसारमा हुने थिएनौ । अवधारणा सबैभन्दा ठूलो कुरा हो बाबु, तिमीले ती राजकुमारलाई नै आफ्ना पिता मान्नुपर्छ । तिमीले उनैको श्राद्ध गर, तर्पण देऊ ।
कुनै बेला यो मुलुकमा विभिन्न जातजाति, समुदायलगायतले आफ्नो क्षेत्रैपिच्छे राज्य हुनुपर्छ भनेर आफ्नै ठाउँ बन्द गर्दै हिँड्लान्, आफ्नै ठाउँका मान्छेले यति धेरै दुःख पाउलान् भनेर सोचिएको थिएन । जनतालाई टुक्रे राज्य होइन समृद्धि चाहिएको थियो । शिक्षा, समृद्धि, विकासलगायतका कुराले गाउँघर, सहरबजार, क्षेत्र, समुदाय सबैलाई सुसज्जित बनाउन पाएको भए या त्यसप्रकारको अवधारणा ल्याउन पाएको भए मुलुकको अवस्था फरक भइसकेको हुने थियो । माओवादी आन्दोलनका नाममा जनतालाई उकास्न गलत आश्वासन दिँदै हिँड्ने माओवादीको नेतृत्व यसका लागि दोषी छ । जनताले केसम्म प्राप्त गर्न सक्छन्, के सक्दैनन् भन्ने कुरा थाहा नपाएर होइन थाहा पाई–पाई सस्तो लोकप्रियताका लागि त्यतिबेला यसप्रकारको सपना बाँडिएको थियो । एक सयभन्दा बढी जातजातिको बसोवास भएको देशमा जातैपिच्छे तिमीले राज्य पाउँछौ भन्नु झुटको ठूलै खेती थियो, तर गरियो । जातजातिबीच कुनै प्रकारको विभाजन नभएको समाजलाई भाँड्ने काम गरियो । अचम्म त के भने यसरी भड्काउनेमा कुनै जनजाति, दलित, मधेसी या पिछडिएको वर्ग–समुदायका मानिस थिएनन् । कम्युनिस्टहरूले जातको त के क्षेत्रको पनि कुरा गर्दैनन् । तर, हामीकहाँ जात, क्षेत्र मिल्ने जति सबै प्रकारको विभाजनको कुरालाई जोड दिइएको छ । ता कि कुनै जात या क्षेत्रविशेष भएर जन्मनुमा मानिसको आफ्नो कुनै योगदान हुँदैन । राजनीतिको मूलप्रवाहमा आएपछि कोसीबाट खहरेमा परिणत भइसक्दा पनि यहाँ सबै जातजातिलाई राज्य भन्दै नेताहरू हिँडिरहेका छन् ।
विगतमा देखाइएका धेरै सपना टुटेर गए । तर, राज्यको सपना भने संविधानका नाममा यत्तिका वर्षसम्म देखाउन छोडिएन । स्वायत्त प्रदेशको नाममा कर्णाली बन्द भएको हप्ता दिनभन्दा बढी भयो । मधेस बन्द नै छ । मधेसको ठेकेदार ठान्नेहरू बडो गर्वका साथ मधेस अझै अनिश्चितकालका लागि बन्द हुन्छ भनिरहेका छन् । मधेस, पहाड जताततै बन्दका कारण अलग राज्यका नाममा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । अहिले नै यस्तो छ, सुझबुझका साथ सङ्घीयतामा जाने कुराको निक्र्योल गरिएन भने भविष्यमा यो देशका जनताले के–के भोग्नुपर्ने हो यसै भन्न सकिन्न । आगामी दिनमा जस–जसले जे–जे गरे पनि जसका कारणले जनताले दुःख पाए पनि यस्तो टुक्रे राज्यको नाममा विषवृक्ष रोप्ने कुराको अवधारणा भने माओवादीकै हो । माथि उल्लिखित राजकुमारको कथाअनुसार अवधारणाका अगाडि अहिले कार्यान्वयन कसले गरिरहेको छ ? या किन यस्तो भयो ? भन्ने कुराले कुनै अर्थ राख्दैन । सपना देखाउन जति सजिलो छ यसको व्यवस्थापन गर्न त्यत्ति नै गाह्रो छ । त्यसैले उत्तरदायी बन नेताहरू !