गोदावरी प्राकृतिक कुण्डमा मेला लाग्ने गरेको अनुश्रुतिहरू पर्याप्त रहे पनि त्यसको अध्ययन र विश्लेषण गर्ने काम कतै–कहीँबाट भएको छैन । कुण्ड स्नान र सिद्धेश्वर महादेवको पूजा–अर्चना गर्ने सम्बन्धमा परम्परागत धारणाभन्दा वैदिक मत बढी बलशाली देखिन्छ । इतिहासलाई अध्ययन गर्ने हो भने मल्लकालको अन्त्यतिर गोदावरीलाई राजधानीको रूपमा ‘हिरापुर’ भनिने गरेकोे इतिहासमा पाइन्छ । कुण्ड स्नान र सिद्धेश्वर महादेवको स्थापना पनि मल्लकालमै भएको मान्नुपर्दछ । तत्कालीन पाटनका मल्लराजाकी रानी धार्मिक प्रवृत्तिकी भएकी र उनी पशुवाक्य बुझ्ने र गोदावरीसँगको उनको निकटताले त्यतिखेर गोदावरीको विकास भएको मल्ल वंशावलीबाट जानकारी पाइन्छ । यद्यपि गोदावरीको इतिहाससँगको सामीप्यता लिच्छविकालतिरै भएको हो । फुल्चोकीलाई ‘फुलोच्च’ एवम् तत्कालीन पाटनका राजाको शक्ति सन्तुलनको हैसियत तथा गोदावरीमाथि वर्चश्व जमाउन खोज्नुले वैदिक तथा सामरिक महत्व पनि त्यतिखेरदेखि नै थियो । ‘हिरापुर’बाट गोदावरी नामकरण भएको सन्दर्भ अनुश्रुति मात्र सार्वजनिक भएका छन् जसको तथ्यगत विश्लेषण हुन सकेको छैन । भारतको दक्षिण गोदावरीबाट अवतरित गोदावरी गङ्गाका कारण यस ठाउँको नाम गोदावरी भएको बुझिन्छ ।
हरिसिद्धि भवानी, मछिन्द्रनाथ, फुल्चोकी, विशंखुनारायण र गोदावरी कुण्डको अन्तर्सम्बन्ध रहेको कुरा वैदिक साहित्यमा भेटिन्छ । गोदावरी १२ वर्षे मेला ०३७ सालसम्म हरिसिद्धि गुठीबाट नै सञ्चालन हुँदै आएको र पछि आर्थिक व्ययभारका कारण उनीहरूले मेला सञ्चालन गर्न छोडेको हरिसिद्धिका पुजारीहरू बताउँछन् । हरिसिद्धिकै पुजारीहरूबाट गोदावरी मेलामा पूजा–अर्चनापश्चात् मेला प्रारम्भ हुने र अन्त्य गर्ने प्रचलन यद्यपि छँदै छ ।
हरिसिद्धिको ‘गठे’ पुजारीबाट मेला प्रारम्भ हुनुमा त्यसको तान्त्रिक मत बढी शक्तिशाली छ । मछिन्द्रको पूजा–अर्चनामा पनि तान्त्रिक मत बढी बलशाली देखिन्छ । आजपर्यन्त यी कुराले निरन्तरता पाइरहनु संस्कारीय र परम्परागत मतको द्योतक हो । गोदावरी कुण्डमै स्नँन्ँ गर्नु पनि वैदेशिक र परम्परागत मत रहेको तथ्य बिर्सन मिल्दैन ।
वंशावलीमा राजा पटुकको उत्तराधिकारी किराँती राजा गस्तीलाई पराजित गरी भारतको वैशाली राज्य (मुजफ्फरपुर) बाट २०० ई. तिर प्रवेश गरेका सोमवंशीहरूले गोदावरीमा नयाँ दरबार बनाई नेपालमा शासन गरेको कुरा उल्लेख छ । र, गोदावरी कुण्डभित्रको शिलालेख पनि लिच्छविकालीन प्रमाणित भइसकेको छ । इतिहासकार केपी जयसवाल, डब्लूजे कर्क पेट्रिकको सम्वत्मा मतभेद देखिए पनि गोदावरी कुण्डको इतिहास परापूर्वकालदेखि रहेको पुष्टि हुन्छ ।
गोदावरी कुण्डसँगको अन्य मठमन्दिरको अन्तरसम्बन्ध अनि कुण्ड स्नानबारे त्रेतायुगका विश्वभू बुद्धले ‘अनुपम’ भन्ने स्थानबाट आएर नागहद (नागदह) लाई घेर्ने पर्वत शृङ्खलामध्ये ‘फुलोच्च’ नामको पर्वतबाट स्वयम्भूज्योतिको दर्शन गरी रूखबाट झरेको एक लाख फूलले स्वयम्भूको पूजा गरेको र गोदावरी कुण्डमा स्नान गरेको हुनाले उनी बसेको पर्वत फूलोच्च नामले प्रसिद्ध भयो । हालको उपत्यकामा जमेको पानी निस्कने बाटो आफ्नो प्रिय शिष्यहरूलाई बताएर आफ्नो देश फर्केको कुरा इतिहासमा भेटिन्छ ।
यिनै विश्वभू बुद्धको समयभन्दा केही पछि चीन देशबाट मञ्जुश्री बोधिसत्व स्वयम्भूज्योतिको दर्शन गर्न भनी पहाडी कुना गोदावरी (दक्षिणतर्फ) मा आई स्नान गरी उनैले आफ्नो दुई शक्तिमध्ये ‘वरदा’लाई फुलोच्च (फुल्चोकी)मा स्थापित गराएर चोभारको गल्छी खड्गले काटी पानी उपत्यका कटाएको त्यसबखत बागमतीको पानी जोडसँग बग्दा कैयन नागहरू बाहिरिएपछि वर्कोटक नागलाई मञ्जुश्रीले अनुरोध गरी टौदहमा बास दिई राखेको प्रसङ्ग पनि इतिहासमा पढ्न पाइन्छ ।
यी सबै कुराको विश्लेषण गरी गोदावरी त्यही बेलादेखि धार्मिक, प्राकृतिक एवम् सामरिक महत्वको स्थान थियो भन्ने कुरा बुझिन्छ ।
मल्लकालको सुरुवात अरिमल्लदेव राजा हुँदा नै कर्नाट राजा नान्यदेवको दबाब झेलिरहेको अवस्थामा थियो । मल्लकालमा प्रायशः उपत्यका तीन राज्यको रूपमा नै स्थापित भएको थियो । कान्तिपुर र भादगाउँबाट पाटनमा आक्रमण हुँदा गोदावरी आश्रयस्थलको रूपमा प्रयोग हुने र गोदावरीलाई सानो राजधानी ‘हिरापुरको’ रूपमा विकास गरेको पनि वंशावलीमा उल्लेख छ । सिद्धिनरसिंह मल्ल विद्वान् र धार्मिक राजा भएको कारणले गोदावरीमा मेला ‘पर्वको’ रूपमा यिनले नै सुरुवात गरेको हो भन्ने कुरा गोदावरीमा अद्यापि वंशावलीमा उल्लेख छ । आचार्यहरूको कागेश्वरीमा श्रापपछि त्यहाँबाट गोदावरी आउने जयभद्रका पिता यिनै राजाका पुरोहित र पछि जयभद्रसमेत पुरोहित भई गोदावरी क्षेत्र दानको रूपमा प्राप्त गरेको र गोदावरी कुण्डमा मेलाको सुरुवात भएको आचार्य वंशावलीमा उल्लेख गरिएको छ ।
बाँडेगाउँमा रहेको बुद्धमूर्ति, फुल्चोकी पाई, नवदुर्गा भवानी भक्तपुरसमेतको आस्था रहेको गोदावरी क्षेत्रको अन्तर्सम्बन्ध पुष्टि हुने थुपै्र वैदिक आधारहरू छन् । भक्तपुर, ठिमीलगायतका स्थानीयहरू २० को दशकसम्म पनि गोदावरी कुण्डको स्थान र फुल्चोकी पाईको गुफा प्रवेशलाई निकै श्रद्धा र भक्तिले हेर्ने गरेको अहिले पनि उनीहरू सम्झन्छन् । यद्यपि त्यसपछिका वर्षहरूमा विभिन्न कारणले हट्दै गएको एक आर्किटेक्ट इन्जिनियर बताउँछन् । सहकालका देवता मानिने मछिन्द्रनाथ रथ निर्माणका लागि आवश्यक पर्ने धेरैजसो काठ फुल्चोकी जङ्गलबाट नै लाने परम्परा थियो । र, हालका वर्षमा पनि केही काठ शुल्क तिरेर लैजाने गर्दछन् । भनिन्छ मछिन्द्रनाथमा चढ्ने नागहरू गोदावरी कुण्ड स्नानका लागि आउने गर्दछन् । मछिन्द्रनाथ, नागदह, टौदहलगायत थुपै्र आस्थाका धरोहरहरूसँगको गोदावरी कुण्डको अन्तर्सम्बन्ध पर्गेल्ने जिम्मा विद्वान् महानुभावहरूलाई नै छाडौँ । यो एउटा विषय उठानको पाटो मात्र हो । जसबाट केही गर्छु भन्नेहरूका लागि घचघच्याउने आशय हो यो लेखको ।
गोदावरी क्षेत्रमै रहेको अघोरनाथ नित्य गोदावरी कुण्डमा स्थान गरी विशंखुनारायण भेट्न जाने गरेको भनाइ पनि गोदावरीमा प्रचलित नै छ । उनी भिक्षा माग्न बस्तीमा आउने गरेको, तर भिक्षा लिएर नगएको कुरा गोदावरीमा चर्चा हुने गर्दछ ।
गोदावरी तीर्थ निकै पवित्र मानिन्छ त्यो कुरा वैदिक साहित्यहरूमा जताततै भेटिन्छ । गोदावरीको ऐतिहासिक कालखण्ड पनि जुन प्रकारको भौगोलिक बनावट छ त्यस्तै रहस्यपूर्ण छ । पाटनका राजा लडाइँमा हारेपछि भागेर लुक्ने स्थान गोदावरी क्षेत्र नै हो । गोदावरीलाई पाटनका राजाले आफ्ना अधीनमा राख्न यहाँका जनताको बालीसमेत लुट्न लगाउने तत्कालीन राजाहरूको बारेमा आचार्य वंशावलीमा समेत प्रकाशित छ ।
ब्रिटिस साम्राज्यले भारत कब्जा गरेपछि नेपालतिर अगाडि बढ्न प्रयोग गरेको ‘तिनपाने’ भञ्ज्याङ भौगोलिक विकटताकै कारण अङ्गे्रजहरू त्यहाँबाट धपाइएका थिए । तिनपानेदेखि फुल्चोकीसम्मको भाग ज्यादै चिसो र विकट क्षेत्र मानिन्छ । पछि राणाहरूको समयमा पनि गोदावरीको विकास भएको र गोदावरी कुण्ड संरक्षणका लागि केही धर्मशाला निर्माण गरिएका थिए । त्यसको अस्तित्व प्रायः लोप भइसकेको छ ।
वैदिक साहित्य, इतिहास, विभिन्न अनुश्रुतिहरू साक्षी बसेको पवित्र धार्मिकस्थल गोदावरी कुण्डको स्थान गर्न नपाउनु पक्कै पनि भक्तजनहरूका लागि राम्रो र सुखद हुँदै होइन । यसपालि पनि १००१ मूल समारोह समिति बन्यो, खल्तीका मान्छे सदस्य बने । ललितपुरका प्रजिअ अध्यक्ष बसे, टहरा, पार्किङ, जुत्ता ठेक्का लगाइयो । केही बाँस तल बिजुली बनाउन जम्मा गरेको पोखरीमा गाडियो, त्यसलाई स्नानघाट भनियो । भदौ १ देखि मेला सञ्चालन भयो । भक्तजनहरू आउन सुरु भयो । मेलामा विभिन्न अव्यवस्था देखियो । आजसम्म आउँदा एक हप्ताभन्दा बढी भयो । हिजो जे थियो त्यस्तै वा भनौँ त्योभन्दा पनि खराब व्यवस्थापन यसको जिम्मा कसले लिने ?
पाँच गाविसको एक नगरपालिका बनेको छ । गाविसको १० जना जम्मा गरेर ५० जनाको बीचमा समेत छलफल गरिएको छैन । स्थानीय बासिन्दा मेलाका लागि शरणार्थीझैँ बनाइएका छन् । मेला सञ्चालन स्थानमा एउटा एम्बुलेन्स छैन । राम्रो र भरपर्दो सूचना केन्द्र छैन । टहराहरू दोस्रो पक्षलाई बेचिएका छन् । २५–३५ हजारसम्ममा । सार्वजनिक रुटका भ्यानहरूले सय रुपैयाँ प्रतिव्यक्ति उठाइरहेछन् । यो अव्यवस्थाका बीच सञ्चालन भइरहेको मेलामा उपस्थित भक्तजनहरू ३० प्रतिशतले पनि गोदावरी कुण्डको दर्शन गर्न सक्नुभएको छैन । तसर्थ हामीले आस्था मार्ने काम गरिरहेका छौँ । यो कसैको लागि हितकर छैन ।
यो मेलामा आउने भक्तजनहरूका लागि सबैभन्दा महत्वपूर्ण कुरा स्नान हो जसको व्यवस्थापनबिनाा पूर्वतयारी कुनै वैदिक मन्त्र उच्चारणबिना एउटा पोखरीमा स्नान गर्न बाध्य पारिएको छ । कुण्ड स्नान नै यसको वैदिक महत्व रहँदारहँदै ठूलो र अक्षम्य अपराध भएको छ व्यवस्थापन समितिका कारण । व्यवस्थापनको काम नै भक्तजनहरूलाई व्यवस्थित बनाएर स्नान र दर्शन गराउनु हो । भीडसँग भागेर, डराएर व्यवस्थापन हुने भए गोदावरी खोला धेरै लामो छ । कुण्डमा किन धाइरहने ? गोसाइँकुण्डको पानी पाइपलाइनबाट धुन्चेमा झार्ने, मानसरोवर किन जाने ? दूधकुण्ड, सूर्यकुण्ड किन धाउने ? यस्ता कैयन तीर्थ र धामहरू छन् सबै सहरकेन्द्रित र सजिलो ठाउँमा बनाए भएन ?
अन्त्यमा, गाउँपरिषद् भयो । नगरपरिषद् भयो । एक रुपैयाँ सो मेलाका लागि छुट्याइएको छैन । को–कति इमानदार भन्ने कुरा यसबाट पुष्टि हुँदैन र ? मेलामा खर्च पारदर्शी हुनुपर्छ भन्ने कुरा नगरपालिकाले भन्दा मेला व्यवस्थापनसँग अलग बसेको छ गोदावरी नगरपालिका, योभन्दा विडम्बना अरू के हुनसक्छ ? यो मेला भनेको धरोहर जोगाउने कि मेटाउने भन्ने सवाल महत्वपूर्ण हो । हामी धर्म बेचिरहेछौँ, मूर्ति बेचिरहेछौँ, मठमन्दिर र मानिसका आस्थाहरूलाई ठेक्का लगाइरहेका छौँ । अहिले गोदावरी कुण्ड पुग्दा त्यस्ता आस्था बिक्री गर्ने केन्द्रहरू ठूला–ठूला त्रिपाल टाँगेर बसेका छन् । पैसा चन्दाबाकसमा खाँदिरहेछन् मलाई पके र ओएमजी फिल्म झलझली आँखामा आइरहेछ ।
प्रतिक्रिया