आँधीबाट सात सयको मृत्यु, पाँच लाख विस्थापित

आँधीबाट सात सयको मृत्यु, पाँच लाख विस्थापित


आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरूले उनीहरूलाई औषधि, खाना, पाललगायतका सहायता सामग्रीहरू उपलब्ध गराएका छन् ।

आँधीसँगै आएको अत्यधिक वर्षा, हावाहुरी र बाढीले झन्डै सात सयजनाको मृत्यु भएको छ भने अरू थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ ।

आँधीबाट प्रभावित भएकामध्ये झन्डै तीन हजार १२५ बर्गकिलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरूले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)द्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार आँधीबाट प्रभावित तीन देशका झन्डै पाँच लाखजना विस्थापित भएका छन् ।’

यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भीषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरूले बताएका छन् ।