सङ्घीयता तुरुन्त रोक– विनोद त्रिपाठी

सङ्घीयता तुरुन्त रोक– विनोद त्रिपाठी


Binod Tripathiपसलेले सेतो मोजा देखायो– ग्राहकले चित्त बुझाएन । फेरि कालो रंगको हे-यो । नीलो, हरियो, खैरो गर्दै सबै मोजा हे-यो । उसलाई खासै मन परेन । हैरान भइसकेको पसलेले जुक्ति निकाल्यो, ‘स्पेसल मोजा छ, लिनुहुन्छ र ?’ खै हेरौँ– ग्राहकले भन्यो । पसले भित्र गएर त्यही मोजा उल्ट्याएर ल्याएर दिँदै भन्यो– लौ हेर्नोस् । ग्राहक मोजा हेरेर मुस्कुराउँदै भन्यो, ‘हो मैले खोजेको मोजा यस्तै हो ।’ सन्तुष्टि हुँदै उसले अघिकै उल्ट्याएको मोजा किनेर निस्कियो ।
शासन व्यवस्था आफैँमा कुनै नराम्रो हुँदैन । चाहे राजतन्त्र होस् वा गणतन्त्र, जनता र देशलाई केन्द्रबिन्दुमा राखेर गर्ने शासन सबै उत्तम हुनेछन् । २००७ सालदेखि भएका आन्दोलन र परिवर्तनका रूप त्यही मोजारूपी हो र हामी त्यही बुद्धू ग्राहक हौँ । हाम्रो राजनीति परिवर्तन यही रूपमा अघि बढिरहेको छ । अन्धभक्त जनता यस्तै उल्ट्याएको मोजा किन्ने ग्राहकजस्तै भ्रममा छन् । फटाहा नेताहरू जनतालाई उपयोग गर्छन् । यिनीसँग जोडिएका कथित बुद्धिजीवी र लेखक यसमा मलजल थप्छन् । शासक वर्ग आजित भएपछि जनतालाई उही पुरानो, तर उल्ट्याएको मोजा दिएर परिवर्तनको अभ्यास गरिरहेछन् ।
सोमबारको कैलाली घटना नियोजित होस् वा आकस्मिक, यो दृश्य कहालीलाग्दो छ । राजनीतिक सुझबुझ भएका व्यक्तिका लागि यो घटना नयाँ लाग्दैन । अधुरो र अन्धभक्त राजनीति गर्नेका लागि यो घटना भयङ्कर हो । संविधान निर्माणको मैदानमा देखिएका वस्तुगत आधार केलाउँदै बुद्धिजीवीका लागि यो अकल्पनीय अझै थोरै लागेको छ । एकथरी बुद्धिजीवीको विश्लेशण छ, ‘यो सुरुवात मात्र हो ।’ तर, देशलाई बर्बादीतर्फ धकेल्न लागिपरेकाहरूका लागि यो घटना नौलो लागिरहेको छ । उनीहरू सोच्दै छन्– यो कसरी भयो वा यो कहाँबाट भयो ?
नेपालको इतिहासमा थारूले हतियार उठाएर आन्दोलन वा विद्रोह गरेको भेटिँदैन । अझ गहिरिएर केलाउने हो भने थारूले आफ्नै नेतृत्वमा स्थानीय तहको आन्दोलन पनि गरेका छैनन् । अन्य समुदाय वा जातिका व्यक्तिले थारूलाई उपयोग गर्दै आएका छन् । राजनीति होस् वा अपराधमा थारू युवालाई गलत काममा अन्य जातिले गलत ढङ्गले उपयोग गरिरहेका छन् । खासगरी, निश्चल, स्पष्ट, सोझोपन नै थारूको विशेषता हो । पछिल्ला वर्षमा थारू समुदायबाट नेता बन्ने क्रम सुरु भो । विभिन्न गैरसरकारी संस्थाका प्रशिक्षणबाट प्रेरित भएर केही आत्मविश्वासी युवाले नेतृत्व गर्न थाले । नेपालको मूलधारका राजनीतिक पार्टीमा एकाधबाहेक नेता थारू समुदायबाट निस्कन सकेको छैन । त्यस्ता नेता पार्टीको निर्णयभन्दा बाहिर निस्कन सक्दैनथे । तर, अहिले गैरसरकारी संस्था वा राजनीतिक दलकै नाममा आधा दर्जनभन्दा बढी थारूका विभिन्न निकाय सक्रिय छन् । यस्ता समूहहरूमा थारूकै युवाले नेतृत्व गर्दै आएका छन् । कुनै मूलधारका राजनीतिक दलबाट अलग भएका व्यक्तिले नेतृत्व सम्हालेका पनि छन् । यी फरक–फरक थारूका समूहको अन्य मागमा भिन्नता भए पनि एउटा माग भने समान छ, त्यो हो– थरुहट प्रदेश । कैलालीदेखि चितवनसम्म कुनै हालतमा थरुहट प्रदेश बनाउनुपर्नेमा सबै थारू एकजुट छन् । अहिले नेपालको पश्चिम तराई क्षेत्रमा चलेको थारू आन्दोलन यही मागमा केन्द्रित छ ।
दोस्रो संविधानसभाको चुनावसम्म एक दर्जनभन्दा बढी जातिले जातीय पहिचानको राज्य माग गरिरहेका छन् । थारूबाहेक राई, लिम्बू, तमु, मगरलगायतको आन्दोलन त अहिले पनि जोडतोडका साथ चलिरहेको छ । सङ्घीयतासहितको संविधान बनाउने यो सम्मुख घडीमा जातीय राज्यको झिल्का हो कैलाली घटना । यो झिल्का एक दर्जन जातिमा सर्नेमा दुईमत छैन । त्यसपछि यो माग चेपाङदेखि राउटेसम्म सर्दै जानेमा कसैले रोक्न सक्नेछैन । यो क्रम यसरी लगातार चलिरहनेछ, हाल अस्तित्वमा रहेका एक सय २५ भन्दा बढी जातिसम्म फैलिने निश्चित छ । यसको विजारोपण माओवादीबाट काङ्ग्रेस, एमाले हुँदै अन्य दलबाट फैलियो । जातीय राज्यको मागबाट विजोग भएका इथियोपिया, रुवाण्डा वा नाइजेरिया पुग्नैपर्दैन, नेपाल बहुभाषिक र बहुजाति भएको मुलुक भएकाले हामीले नै त्यसको विजारोपण गरिरहेछौँ । यही गतिमा नेपाल जाने हो भने हाम्रो मुलुक तहसनहस भएको हेर्न धेरै वर्ष कुर्नुपर्दैन ।
जात होइन मुलुक
राजमो नेता चित्रबहादुर केसीले सङ्घीयताविरोधी कुरा गर्दा एकथरी कथित बुद्धिजीवीहरूले प्रतिगामीको बिल्ला भिराइदिए । कमल थापा र चित्रबहादुरलाई एकैकोटिको भनेर चित्रण गर्नेहरूले अहिले मुलुकमा रक्तपात चाहिरहेका छन् । सामाजिक सञ्जालदेखि गैरराजनीतिक युवा वर्गमा निकै लोकप्रियता कमाएका चित्रबहादुर केसीको अडान झन्झन् लोकप्रिय बन्दै गएको छ । अहिले जातीय भड्काउ सुरु गरिएको छ । यो भड्काउको घडीमा चित्रबहादुर केसीलाई सामाजिक सञ्जालमा सलाम भन्नेहरू लाखौँ छन् । तर, अन्य ठूला नेताहरूको लोकप्रियता गैरराजनीतिक क्षेत्रमा निकै खस्किएको छ । यसको मुख्य कारण भनेकै विखण्डनकारीलाई प्रोत्साहन दिने राजनीति । जातीय द्वेष फैलाउने अभिव्यक्ति । पार्टी स्वार्थको बार्गेनिङ ।
कोही माइकालालले भनोस्, ०६२/६३ सालमा सङ्घीयताको प्लेकार्ड बोकेर आन्दोलन भएको हो ? कोही हरिलालले भनोस्, धर्मनिरपेक्षताका लागि आन्दोलन भएको हो ? माओवादीबाट उछिट्टिएका उपेन्द्र यादवले त्यतिबेला गौरमा आतङ्क फैलाएपछि सङ्घीयतामा जानुपर्ने बाध्यतात्मक अवस्था ठानियो । भलै त्यसलाई मधेस आन्दोलनको रूप दिइयो । तर, त्यो नितान्त पार्टी आन्दोलन थियो । न त्यसमा कुनै थारूको सहभागिता थियो न कुनै मधेसमा बस्ने अन्य जातिको । फलस्वरूप, सङ्घीयताको यो सकस मुलुकभर फैलिएको छ । हरेक क्षेत्र र जातिमा सल्किएको यो सङ्घीयताको घेरालाई तन्काउन वा बढाउन सबैले प्रयत्न गर्नेछन् । त्यो प्रयत्न भनेको यही भड्काउ, दङ्गा, हडताल, बन्द र काटमार नै हो । अधिकार भनेको मागेर होइन लडेर लिनुपर्छ भन्ने मानसिकता नेताहरूले सोझा नेपालीको दिमागमा भरिदिए । संवादबाट ठूला अधिकार र परिवर्तन सम्भव भएको छ भन्ने उदाहरण अहिलेसम्म कसैले दिएन । यदि, थारूहरूको यो आन्दोलनपछि थरुहट प्रदेश घोषणा भयो भने त्यसको रूपान्तरण अन्य जातिमा सजिलै प्रवेश गर्नेछ । यस्तै खालको हिंसात्मक घटनाले राज्य पाइने रहेछ भन्ने अरूलाई बल पुग्नेछ । अहिले सङ्घीयता लागू गर्दा सयवटा समस्या मुलुकले झेल्नेछ । सङ्घीयता लागू नगर्दा एउटा मात्र समस्या आउनेछ ।सङ्घीयता लागू भएन भने हामीले मात्र होइन, कसैले पनि जातीय राज्य पाएनन् भन्दै हरेक जातिले चित्त बुझाउनेछन् । तर, सङ्घीयता लागू गर्दा एउटा वा केही जातिका नाममा राज्य तोक्दा सबै जातिको आन्दोलन उर्लनेछ । यो वास्तविकतालाई बुझेर वर्तमान संविधानसभा र राजनीतिक नेतृत्वले सङ्घीयतारहितको संविधान जारी गर्नुपर्छ । समग्र मुलुकले मागेको र खोजेको पनि यही हो । योभन्दा उत्तम बाटो खोज्दा गलत गन्तव्यमा पुगिन्छ भन्ने चेत यो संविधानसभालाई तुरुन्तै आओस् ।