बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण


इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाईजहाज स्थानीय समयअनुसार मंगलबार आकस्मिक अवतरण गर्नुपरेको छ ।

यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा ६ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरू उडाउन निषेध गरिएका छन् ।

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार यात्रुरहित उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

उक्त विमान स्थानीय समयअनुसार मंगलबार अपराह्न २ः४७ बजे ओल्र्यान्डो विमानस्थलबाट उडेको र इन्जिनमा समस्या आएपछि अपराह्न २ः५८ बजे फर्किएर ओल्र्यान्डो विमानस्थलमै अवतरण गरेको थियो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ ।

यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरूले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताए ।

बोइङ ७३७ म्याक्स मोडेलका विमानको सुरक्षाका विषयमा शंका उत्पन्न भइरहेकै समयमा इन्जिनमा समस्या आएर आकस्मिक अवतरण गरेपछि पुनः सर्वत्र चिन्ता व्यक्त भएको छ । बोइङले आफ्ना विमानहरू उडानका लागि सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरिरहेकै समयमा यो घटना भएको छ ।