त्रिशूली–३ ‘बी’ को आइपिओ आज बाँडफाँड

त्रिशूली–३ ‘बी’ को आइपिओ आज बाँडफाँड


त्रिशूली जलविद्युत कम्पनीका लागि माग गरिएको साधारण सेयर आज (बिहीबार) बाँडफाँड गरिने भएको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत आयोजनामा सर्वसाधारणलाई आइपिओ जारी गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा अपरान्ह १ बजे मन्त्रालयमै बाँडफाँड गर्ने भएका छन् । कम्पनीको सेयर किन्न १७ गुणासम्म आवेदन परेको थियो । कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमका अनुसार एक लाख ५४ हजार ६ सय २४ आवेदकलाई २०–२० कित्ताका दरले सेयर बाँडफाँड हुनेछ । सबैलाई २० कित्ता बाँडेपछि बाँकी रहेको सेयर गोलाप्रथाबाट बाँडिने भएको हो । ‘एक आवेदकले बढीमा ३० कित्तासम्म पाउने भएको बुझिएको छ ।

३५ लाख ९३ हजार ८ सय ५० कित्ताका लागि माग भएकोमा ६ करोड ४५ लाख ५२ हजार ९ सय कित्ता सेयर किन्न आवेदन परेको थियो । यसबाट ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ । कम्पनीले चैत ७ गतेबाट आवेदन दिन मिल्ने गरी नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ । बाँकी रकम आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हजार कित्ता खरिद गर्न आवेदन दिएका छन् ।