ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राति भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।
एक यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको उद्धारकर्मीले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्वारमा भएको थियो ।
उक्त शहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको छ । यस दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् ।
त्यस दुर्घटनामा करिब ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेलाई स्थानीय अस्पताल पुऱ्याइएको बताइएको छ ।
दुर्घटनापछि ट्रकचालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ ।
मध्यअमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटना सामान्यजस्तै भएका छन् । सवारीचालकहरूले ट्राफिक नियमको उल्लंघन गर्ने गरेका छन् ।
यहाँका सार्वजनिक सवारीचालकले पनि ट्राफिक नियम उल्लंघन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् । पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटना यही कारणले पनि बढ्ने गरेको बताइन्छ ।
प्रतिक्रिया