बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु

बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु


संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदै छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरू अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुंग्याउने प्रयत्नस्वरूप केही महिनादेखि दुवै देशका वरिष्ठ अधिकारीहरूको वार्ता घनीभूत रूपमा अगाडि बढेको छ ।

अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ आइसकेका छन् । अमेरिकी प्रधिनिधिमण्डलले चिनियाँ उपप्रधानमन्त्री एवं वरिष्ठ आर्थिक अधिकारी लिउ हेसँग वार्ता गर्नेछ । चीनको जनकंग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुंगिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखरवार्ता गर्न आफू प्रतीक्षारत रहेको बताए । तर, वार्तामा केही मूलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुवै देशका प्रतिनिधिहरूले बताए पनि विस्तृत विवरण दिइएको छैन ।

बेइजिङमा हुने वार्तापछि वासिंटनमा पुनः वार्ता हुनेछ । तर, लाइटिजरले यसै साता भनेका छन्, ‘मैले आशा मारिसकेको छैन, वार्तामा ठोस सहमति नभए हामी दोस्रो योजनाका साथ अघि बढ्नेछौँ ।’

अमेरिका र चीनले एक–अर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलरबराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् ।

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरूका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरूलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा ६ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाइ छ ।

तर, चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरू बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरू संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।

चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजुरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्वबजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै संकट उत्पन्न हुन थालेको बताएको छ ।