विदेशी लगानी आकर्षित गर्न आजदेखि सम्मेलन

विदेशी लगानी आकर्षित गर्न आजदेखि सम्मेलन


अन्तराष्ट्रिय लगानीकर्ताको लगानी मुलुकभित्र आकर्षित गर्न आजदेखि काठमाडौंमा लगानी सम्मेलन सुरु हुँदैछ । सम्मेलन अहिले बिहान ८ बजेदेखि शुरु हुँदैछ । दुई दिन हुने सम्मेलनमा सहभागी हुन विभिन्न देशका लगानीकर्ता काठमाडौं आइसकेका छन् ।

लगानी बोर्डका अनुसार भारत,चीन, इजरायल, भियतनाम, दक्षिण कोरिया, स्पेन लगायतका विभिन्न देशका झण्डै साढे चार सय लगानीकर्ता काठमाडौं आइसकेका छन् । दुई वर्षपछि हुन लागेको अहिलेको सम्मेलनले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्न उपयुक्त वातावरण भएको सन्देश दिने उदेश्यसहित गर्न लागिएको हो। तीन तहको निर्वाचनपछि आएको स्थीर सरकारले केही औद्योगिक व्यवसायिक क्षेत्रका ऐन नियमलाई समेत संशोधन गरेर लगानीमैत्री बनाउन खोजेको छ ।

बोर्डका अनुसार सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना लगायतका कम्पनीका प्रतिनिधी समेत सहभागी हुनेछन् । सम्मेलनका लागि भारतबाट निर्माण सामाग्री, लिड लाइट, हाइड्रोपावर, सडक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा लगानीकर्ता सहभागिताका लागि आएका छन् ।

इण्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका निर्देशक केसी सुन्दरम, इवाइका साझेदार आर वालाचन्दर, किङ्गर इलेक्ट्रोनिक्सका संचालक विनोद किङ्गर, इन्भारो हाइलाइट प्राइभेट लिमिटेडका निर्देशक देवेन्द्र कुमार सिंह, टेरेफिर्मा इन्टरनेश्नलका अध्यक्ष काजेम सामन्दरी, सिनर्जी इनभारोनिक्सका प्रवन्ध निर्देशक अजे पोद्दार लगायतका लगानीकर्ताको सहभागिता रहेको छ । स्पेनबाट राजदुतावासबाट चिफ इकोनोमी एण्ड कमर्सियल काउन्सिलर रेजिना सान्चा र मार्केट एनालाइस्ट’बजार विश्लेषक’ सौरवी अरोराको सहभागिता सम्मेलनमा रहनेछ ।

सम्मेलनका लागि ७७ वटा आयोजना शोकेश गरिँदैछ। विहिबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ४० देशका ६ सय बढी लगानीकर्ता आउने जानकारी दिएका थिए । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गर्नेछन् । सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, म्यानमारका लागि लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले संबोधन गर्नेछन् ।