बर्डफ्लुका कारण २८ फार्मका ५० हजार कुखुरा नष्ट

बर्डफ्लुका कारण २८ फार्मका ५० हजार कुखुरा नष्ट


बर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । बर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त संख्यामा कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि नष्ट गरिएको छ । जिल्लामा देखिएको बर्डफ्लु नियन्त्रणमा उच्च प्राथमिकता दिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

बर्डफ्लुु नियन्त्रणका लागि पशुचिकित्सकले जारी गरेको प्रमाणपत्रका आधारमा मात्र जिल्लामा कुखुराको चल्ला भित्रिन दिने र कुखुरा र कुखुराजन्य सामग्रीको बिक्री पनि प्रमाणपत्रका आधारमा नै गर्न दिइने व्यवस्था मिलाइएको उनँले जानकारी दिए । बर्डफ्लु संक्रमण नियन्त्रण युनिटका डा. सुशीला श्रेष्ठका अनुसार हालसम्म मकवानपुरका ३२ किसानको फार्ममा तीन चरणमा संक्रमित कुखुरा नष्ट गरिएको बताए ।

यसैबीच मकवानपुरको हटिया र कमानेमा पनि बर्डफ्लुुको संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । बर्डफ्लुुका कारण हेटौँडामा कुखुराको मासु बिक्री–वितरणमा कमी आएको व्यवसायीले जनाएका छन् ।