नयाँ बर्षमा शैलुङ महोत्सवको आयोजना

नयाँ बर्षमा शैलुङ महोत्सवको आयोजना


पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले रामेछापको दोरम्वा गाउँपालिकाले शैलुङ सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने भएको छ ।

नयाँ वर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म तीन दिने शैलुङ महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले जानकारी दिए । पर्यटन बोर्डको समन्वयमा गाउँपालिकाले बजेट विनियोजन गरी स्थानीय उत्पादन, धार्मिक तथा रमणीय क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको हो । महोत्सवमा रहने झण्डै ६० कक्षमा जडीबुटी तथा चौँरीका छुर्पीलगायत स्थानीय उत्पादनका सामग्री राखिनेछ । सय थुम्काले सजिएको शैलुङको अवलोकनका लागि बर्सेनी आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

पछिल्लो समय दोरम्वा गाउँपालिकाले पर्यटकहरुको भ्रमणलाई अझ अविस्मरणीय बनाउनका लागि भ्यू टावर लगायतका केही संरचना पनि शैलुङमा निर्माण गरेको छ । दोरम्वा गाउँपालिकाले योजना नै बनाएर शैलुङको विकास र विस्तार गर्ने जनाएको छ ।