कुनै जमाना थियो प्रचण्ड नाम सुन्दा विरोधीको सातोपुत्लो जान्थ्यो भने सहयोगी र सहगोत्रीको आशा र भरोसाको केन्द्र थिए प्रचण्ड । आशालाग्दा ठानिएका प्रचण्ड पुष्पकमल दाहालमा परिणत भएपछि एकपछि अर्को रूपमा अविश्वासी भएका छन् भने विरोधीका लागि मात्र कागजी बाघ । पहिलो जनान्दोलन अर्थात् २०४६ पछि नेपाली काङ्ग्रेसले राम्रो गरेको भए यो अवस्था आउने थिएन । ०५१ को मध्यावधि र त्यसपछिका फोहोरी राजनीतिले माओवादी आन्दोलन मौलाएको हो । माओवादी आन्दोलन पहिला माओवादीकै नेतृत्वमा थियो । शान्ति प्रक्रियाको १२ बुँदेदेखि प्रचण्डको कमाण्ड नै देखिएन । पहिलो संविधानसभामा सबैभन्दा पहिलो पार्टी भएको बेला बुद्धि पु-याएर काम गर्न सकेन । चीन भारतको बीचमा रहेको नेपालको सामरिक महŒवलाई प्रचण्डले बुझ्न सकेनन् वा उनका सल्लाहकारले बुझाएनन् ।
नेपालका दुई छिमेकी मुलुकलाई सन्तुलनमा राख्न कम गाह्रो कुरा छैन । अप्ठ्यारो स्थितिको सामना गर्नबाट चुके प्रचण्ड । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतको पहिलो भ्रमण गर्ने परम्परालाई त्याग्दै चीनको भ्रमण गर्न पुगेपछि रिसाएको भारतलाई खुसी पार्न प्रचण्डले आफ्नो ‘पहिलो भ्रमण भारतकै हुने’ दाबी गरे तापनि भारत पहिले नै रिसायो । प्रचण्डको चीन भ्रमणबाट भारत रिसाएको कुरा एकपछि अर्को गर्दै मिडियाहरूमार्फत सार्वजनिक हुन थालेपछि प्रचण्डले चीनबाट फर्कनेबित्तिकै भारतको पहिलो भ्रमण गर्ने बताएका थिए । चीन भ्रमण ’राजनीतिक भ्रमण नभएको’ व्याख्या गर्दै प्रचण्डले ‘ओलम्पिकको समापन समारोहमा भाग लिन मात्र म चीन गएको हुँ । चीन भ्रमण राजनीतिक भ्रमण होइन । मेरो पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ ।’ भन्दा पनि भारतले प्रचण्डलाई साथ दिएन । प्रचण्डले तर्क तेस्र्याउँदै किन यसो भने त्यो बुझ्न कुनै गाह्रो छैन । किनभने चीन भ्रमण तय भएपछि भारत उनीसँग कति असन्तुष्ट थियो भन्ने कुरा अन्य कसैलाई भन्दा सबैभन्दा धेरै थाहा प्रचण्डलाई नै थियो । चीन भ्रमण तय हुनेबित्तिकै नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुदले उनलाई एक दिनका लागि भए पनि भारत गएर मात्र चीन गइदिन आग्रह गरेका थिए । तर, प्रचण्डले मानेनन् । खुब राष्ट्रवादी अनि भारतविरोधी देखाउनु थियो उनलाई । अनि कस्तोसम्मको स्थिति बन्यो भने प्रचण्ड चीनका लागि उड्ने क्रममा तत्कालीन राजदूत राकेश सुद विमानस्थलमा उपस्थितसमेत भएनन् भलै कारण उनी मुस्ताङ भ्रमणको क्रममा रहेको बताइयो । प्रचण्डले पहिले भारत भ्रमण गर्न गरिएको अनुरोध अस्वीकार गरेपछि सुद पनि जानाजान मुस्ताङतिर लागेका थिए । आखिर उनी पनि कूटनीतिज्ञ नै हुन् जसले पहिलो चीन भ्रमणप्रति कूटनीतिक तवरले नै असन्तुष्टि जनाए ।
नेपालजस्तो सामरिक हिसाबले महŒवपूर्ण मुलुकको राजनीतिक सत्ता सिर्फ भारत वा चीनको समर्थनले मात्र टिक्दैन, बरु दुवै देशको उत्तिकै समर्थन चाहिन्छ । दुवै देशको समर्थनको अझ त्यतिबेला माओवादीलाई बढी आवश्यक थियो । किनभने यी दुई देशले माओवादी सत्तालाई समर्थन नगरेमा अन्तर्राष्ट्रिय जगत्ले माओवादीलाई अरू अप्ठ्यारोमा पर्ने थियो । किनभने त्यतिबेला प्रचण्ड युद्धबाट आएका नेता थिए । पहिलो राजनीतिक भ्रमण भारतकै हुने उनको राजनीतिक व्याख्याले उनको राजनीतिक चतुरपना देखाएको भारतले बुझ्यो । त्यसपछि भारतले माओवादी नेतृत्वको सरकारका प्रमुख प्रचण्ड चीनतिर मात्र ढल्किएको आशङ्का ग-यो । प्रचण्ड सत्ताको अन्त्य त्यहीँबाट भारतले खोज्यो । माओवादीभित्र पार्टी विभाजनको विजारोपण ग-यो । त्यसपछि प्रधानसेनापति रुक्माङ्गत कटुवाल काण्डमा सट्टा सहयोगी एमाले नेता झलनाथ खनालले खुट्टा छोड्दा प्रचण्डले आत्तिएर प्रधानमन्त्री पदबाटै राजीनामा दिए । आफूले पाएको अवसरलाई सदुपयोग गर्न नसक्ने कायर नेतामा दर्ज भए प्रचण्ड । यो कुरा सजिलै बुझेका देशी विदेशी शक्तिले गर्दा माओवादी विभाजनको डिलमा पुग्यो यो कुरा प्रचण्डले थाहा पाएर पनि निरीह बन्नुको कुनै अर्का विकल्प भएन ।
पहिलो संविधानसभासम्म आशा लाग्दा देखिएका प्रचण्ड यतिबेला निचोरिएको कागतीजस्ता भएका छन् । अहिले उनको पार्टी एकीकृत नेकपा माओवादी टुक्रा–टुक्रा भएको छ । हिजो उनीसँग मिल्न उनको पार्टी एमाओवादी पार्टीमा बिलाए हुनेहरू विकल्प खोज्ने अभियानमा लागेका छन् । प्रचण्ड किन यसरी ओरालो लागे ? कारण के होला ? किनकि प्रचण्ड परिवारवादमा फसे । उनका सल्लाहकार गतिला भएनन् र थिएनन् पनि । संसदीय व्यवस्थाको विरोध गर्दागर्दै उनी संसदीय दलदलमा फसे । उनको अलग भिजन पनि रहेनछ भन्ने प्रमाणित भयो र उनी आफ्नो अडानमा पनि रहन सकेनन् । लगातार २५ वर्षसम्म सधैँ चर्चामा रहेका प्रचण्डबाट पार्टी रूपान्तरण हुँदैन भनेर निष्कर्षमा पुगेकाहरू उनलाई छोडेर अलग पार्टी बनाए भने कोही राजनीति छोडेर पलायन भए । माओवादी आन्दोलनले दिन केही सकेन मात्र २० हजारभन्दा बढीको बलिदान फोकड सावित भयो । यतिबेला टुक्राटुक्रा भएको एमाओवादी पार्टी विघटनको सङ्घारमा पुगिसक्यो, यसको औपचारिक रूपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ यो पार्टी र अब कहिल्यै पहिलेको अवस्थामा आउने छैन । जनताको बलिदानबाट उदाएका नेताको त यो हालत छ भने अरूले के गर्न सक्छन् र ? भनेर सबैजसोको एउटै आवाज छ ।
परिवर्तनको आशा गरेका जनता निराश भएका छन् । क्रान्तिकारी आन्दोलनको कम्युनिस्ट धारा नै अब विघटन भयो भने हुन्छ । नेपालमा अब कम्युनिस्ट आन्दोलन असफल भइसकेको मान्न सकिन्छ । पुनसङ्गठित गर्ने र पहिलाजस्तो माओवादी आन्दोलन हुने सम्भावना अब छैन । जनतालाई यतिबेला शान्ति, समुन्नत नेपाल चाहिएको छ । त्यो नेपाल बनाउन विधिको शासन आवश्यक छ, तर संविधान बन्दैमा अनि एकथान संविधान मात्र जारी गर्दैमा नेपाल बन्ने होइन । नेपाल बनाउन जनताले विश्वास गरेका भरासिला नेता आवश्यक हुन्छ । त्यस्तो दूरगामी नेता अहिले कोही देखिएको छैन । आशा र भरोसा गरेका प्रचण्ड बिचरा भएका छन् । विश्वको कम्युनिस्ट आन्दोलनलाई हेर्दा चीनबाहेक कम्युनिस्ट पार्टीले देशलाई सम्पन्न बनाएको कहीँ उदाहरण छैन । नेपालमा पनि कम्युनिस्टले समाजको रूपान्तरण हुने सम्भावना देखिएन । अब प्रचण्ड, बाबुराम भट्टराई वा एमालेका केपी ओली, माधव नेपाल वा अरू कुनै कम्युनिस्ट नेतृत्वमा रूपान्तरणको सम्भावना छैन । काङ्ग्रेसको त के कुरा गर्नु पटकपटक अवसर पाएर पनि काम नगर्ने पार्टीले के गर्ला ? कसले गर्छ त नेपाललाई समुन्नत र विकासको बाटोमा पु-याउने कुन पार्टी होला को नेता होला ? यी प्रश्नको जवाफ अब हुने ठूलो आन्दोलनले सबैलाई पछि पार्दै नयाँ युगको नयाँ पार्टी नयाँ नेता अवश्य हुन्छ भन्ने मलाइ लाग्दै छ । त्यसका लागि यहाँ ठूलो आन्दोलन जरुरी छ । अबको आन्दोलन पहिलाका आन्दोलन जस्तो होइन, रूप, स्वरूप र प्रकृति नै फरक खालको आन्दोलन भएरै छोड्छ ।
प्रतिक्रिया