युवा, अवसर र औजार– विनोद त्रिपाठी

युवा, अवसर र औजार– विनोद त्रिपाठी


Binod Tripathiएसीसी यू– १९ प्रिमियरमा सोमबार नेपालले मलेसियालाई आठ विकेटले पराजित गरिदियो । यही शनिबार १९ वर्षमुनिको साफ फुटबलमा इतिहासकै क्रमभङ्गता तोड्दै नेपाली युवा विजयी भए । दुवै खेलमा अल्लारे उमेरका युवाको दमदार प्रस्तुति थियो । हालसम्मका अन्तर्राष्ट्रिय खेलहरूमा कम उमेरका युवाकै प्रस्तुति गहकिलो छ । चाहे त्यो फुटबलमा विमल घर्तीमगर होस् वा क्रिकेटमा सोमपाल कामी । योभित्र गम्भीर उमेरअन्तरको महŒव लुकेको छ । यी युवाहरूको सफलतामा नेपालको राजनीतिमा चेतनाको जग पाठ बन्नुपर्छ । यो हाम्रा लागि गतिलो मार्ग पनि हो । यी दुवै मुलुकसँग हामी कुनै पनि भौतिकस्तरमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । तर, भारतजस्तो शक्तिशाली र मलेसियाजस्तो तीव्र विकासमा हुइँकिएको मुलुकसँग क्रिकेट र फुटबलमा हामी प्रतिस्पर्धी रहेछौँ भन्ने प्रमाणित गरिदियौँ । दुवै मुलुकमा हाम्रा युवाहरूले रगत र पसिना बगाएका छन् । लाखौँ युवाहरूले रोजीरोटीका नाममा आफ्ना बेटीहरू छोडेर हाम्रो शक्ति बाह्य मुलुकलाई बेच्नुपरेको छ ।
करिब ५० लाख नेपाली विदेश रहेको तथ्याङ्क बाहिर आएको छ । दैनिक १५ सयको हाराहारीमा कामकै लागि युवा बिदेसिने गर्छन् । कुनै जमाना थियो, रोजगारको एक मात्र विकल्प भारतका विभिन्न सहरहरू । अझै पनि दुर्गम र सीमावर्ती जिल्लाका लाखौँ नेपाली भारतमै श्रम बेच्छन् । प्रविधि र विश्व परिवेशले अहिले विश्वका जुनसुकै मुलुकमा नेपालीको श्रम देख्न पाइन्छ । सायद नेपालीले काम गरेको मुलुक नहोला । त्यही मुलुकमा एकथरी युवाहरूको सानदार जित र अर्कोथरी नेपाली युवाको आँसुको बलिन्द्र धाराको हाम्रो पहिचान छ । यो पीडादायक युवा शक्तिको अवमूल्यनप्रति राज्यको संवेदनहीनता प्रमुख चुनौती हो ।
२०/२२ वर्षको उमेरदेखि गगन थापाको क्रेज ह्वात्तै बढ्यो । उनको उमेर ४० को हाराहारीमा पुग्दै गर्दा कुमार घैँटेसँग सोझै जोडियो । उनकै अभिव्यक्तिले यो पुष्टि गरिदियो । युवा अवस्थामा निकै लोकप्रिय थिए, शेरबहादुर देउवा । धेरैलाई उछिनेर ०४८ सालको आमनिर्वाचनपछि उनी शक्तिशाली गृहमन्त्री बने । ४० वर्षकै सेरोफेरोमा कम्युनिस्ट नेता मदन भण्डारीले सिर्जना गरेको सिद्धान्त तत्कालीन नेकपा मालेभित्र प्रतिपादन मात्र भएन, त्यही आधारमा अहिलेसम्म नेपालको कम्युनिस्ट राजनीति घुमिरहेको छ । सानै उमेरमै भूमिगत भएर एक्कासि खुला राजनीतिमा विस्फोट भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको चामत्कारिक भूमिका तत्कालीन समयमा तारिफ गर्न लायक थियो । युवा उमेरमा कम्युनिस्ट वादशाह बनेका मोहनविक्रम सिंहको प्रभावशालिता क्रमशः विलीन अवस्थामा छ । यस्ता धेरैथरीका र अनेक व्यक्तिको भूमिका युवा अवस्थामा जति सानदार थियो, त्यो क्रमशः उमेरको गतिसँगै धमिलिन पुगेको छ ।
युुवा उमेर बाल्यकालको उच्चतम रूप हो । तेज स्मरणशक्ति, निष्पक्ष भूमिका, स्पष्ट अडान, नयाँ शैली, नयाँ विचार र कुटिलताविहीन चरित्र युवाकालको चित्रण हो । यो क्रमशः धमिल भूमिका, अस्पष्ट शैली, कपटपूर्ण व्यवहार, भद्दा कामुकता, भ्रष्ट आचरणमा बदलिन थालेपछि प्रौढको रूप धारण गर्छ । निकै कम व्यक्ति मात्र यो वास्तविकताबाट टाढा हुन्छन् र आफूलाई गतिशील योगी बनाउँछन् । तर, अधिकांश युवाबाट प्रौढमा प्रवेश गर्नेबित्तिकै यो खराब दलदलको चरित्र बाहिर आइहाल्छ । भ्रष्टाचारको चर्को विरोध गर्ने नै युवा अवस्था पार गरेपछि एकाएक धनाढ्य बन्छ । निष्कलङ्क बनेको युवाकालमा चार दशक उमेर काटेपछि बैंसालु उमेर फर्काउँछ । समाजप्रति कञ्चनभावप्रति समर्पित युवा उमेर जब ढल्कँदो जीवन सुरु हुन्छ अनि अनेक हर्कतमा प्रवेश गर्छ । यो सदाबहार र समानता अधिकांश व्यक्तिमा लागू हुन्छ । त्यसैले, बाल्यकाल र युवाकालमा हरेक मानिस कञ्चन, निष्पक्ष र सत्यमा आधारित भूमिकामा देखिएको हुन्छ । यी सबैको पुष्टिका सप्रमाण हाम्रो शासन व्यवस्था र समाजमा कसरी प्रदर्शन भइरहेको छ, एकपटक केलाऊँ ।
नेपालका अधिकांश सरकारी सेवामा प्रौढहरूको बाहुल्य छ । तर, गैरसरकारी संस्थामा युवाहरूको भूमिका छ । सरकारी बैंकमा करिब वृद्ध अवस्थामा पुगेका कर्मचारी छन् । निजी बैंकहरूमा युवाको सङ्ख्या शतप्रतिशत छ । हामीले सरकारी र गैरसरकारी निकायको भूमिका राम्रोसँग अनुभव गरेकै छौँ । छिटोछरिटो कामको ग्यारेन्टी युवा कामदारबाट जति हुन्छ, प्रौढहरूको छलकपट, घुसखोरी, नातावाद, कृपावादमा चलेको छ । प्रविधिलाई पछ्याउने खुवी प्रौढ कामदारमा हुँदैन । आधुनिक सेवा–सुविधाका विषयमा युवा कामदारमा जोडदार ज्ञान हुन्छ । विषयवस्तुको अध्ययन हुन्छ । कामको आधारमा महŒवको पहिचान हुन्छ । विवेक र मानवीयता भन्ने तŒव ज्ञान युवा वर्गमा हुन्छ । प्रेम र मिलापको पाठ सिकेका हुन्छन् । तर, प्रौढहरूमा अगतिशील अनुभवको चाङ हुन्छ । पुरातन अध्ययन हुन्छ । कामचोर प्रवृत्तिको पारिवारिक हौसला मिलेको हुन्छ । घुस खानुपर्ने इष्टमित्रको सल्लाह पाएका हुन्छन् । व्यक्तिको स्वार्थलाई मुख्य केन्द्रबिन्दुमा राखेका हुन्छन् । यो कुराको उमेरअनुसारका व्यक्तिको भिन्नता, बैंक, सरकारी कार्यालय, विमानस्थल, अस्पताल, स्कुल, कलेजमा स्पष्ट देख्न सकिन्छ । यसको सम्पूर्ण सिकाइको प्रयोगशाला नेपालको राजनीतिक क्षेत्र हो । यसैबाट निर्देशित र सञ्चालित मानिस सरकारका सबै निकायमा छरिएका छन् । फलस्वरूप दलहरूको आशयबमोजिमका सम्पूर्ण क्रियाकलापमा यिनै कर्मचारीको भूमिका स्पष्ट देख्न पाइन्छ ।
राजनीतिमा पनि युवाकाल शानदार मात्र होइन, सदाचार भूमिकाबाट व्यतीत गरेको व्यक्ति वृद्ध उमेरमा प्रवेश गर्नेबित्तिकै भोगविलास लालसामा रूपान्तरण हुन्छ । यसका केही उदाहरण हेरौँ । पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको कदममा जुन–जुन राजनीति गर्नेहरू व्यक्ति परे, ती सबै ५० वर्ष उमेर पार गरेकै छन् । उनीहरू पार्टीको युवा नेतृत्व हाँकेको बेला निकै कलङ्करहित थिए । पार्टीभित्र त सदाचारको उदाहरणीय बनेका पनि थिए । आज ती सबैजसो नेताको क्रेज जीवनको उत्तराखण्डमा कति धमिलिन पुगेको हुन्छ । निजामती सेवामा लागेका कर्मचारी पनि काममा नियुक्ति हुनेबित्तिकै निकै पवित्र हाउभाउ प्रदर्शन गर्छ । जब बूढो हुँदै जान्छ, अनि सुरु गर्छ, घुसखोर र कामचोर । भ्रष्टाचार प्रमाणित भइसकेका, आरोप लागेका र असक्षम देखिएका ९९ प्रतिशत कर्मचारी प्रौढ छन् । शतप्रतिशत वृद्ध नेताहरू कुनै न कुनै खराब आचरणमा जोडिएकै छन् । साना–ठूला सबै पार्टीमा यी खालका दुर्गन्धित वृद्ध नेताहरूको बाहुल्य छ । चित्रबहादुर केसीसहित एकाध वृद्ध नेताहरू यो दुर्गन्धबाट टाढा छन् । तर, उनीहरूलाई देश निर्माण र अधिकार जिम्मा दिनबाट रोक्न ठूला पर्खाल खडा गरिएका छन् । बाल्य र युवाकालमा जो पनि सुन्दर र सदाचार हुन्छ । त्यसैले हरेक मानिसको अन्तिम परीक्षा अन्तिम घडीमै हुन्छ । अन्तिम परीक्षामा पनि जो व्यक्तिमा सदाचारिता प्रकट हुन्छ त्यो नै राष्ट्र र समाजका लागि सधैँ युवा हो । होइन भने भ्रष्टाचार र व्यभिचार आचरणबाट ग्रसित भएका कर्मचारी हुन् वा राजनीतिकर्मी यो मुलुकका लागि बिच्छी हुन् । यिनको अन्त्य नभएसम्म देशको मुहारमा चमक कहिल्यै आउने छैन । तर, यिनलाई अन्त्य गर्ने भनेको ६० वर्ष उमेर पुग्दै गर्दा सम्पत्ति जाँच, चरित्र जाँचदेखि सकारात्मक सक्रियताको जांँच लिनुपर्छ । वर्षौंदेखि यो समाजले देखाएको बाटोमा यिनले यो परीक्षा पास गर्न सक्दैनन् र यिनीहरू भूमिकाविहीन हुनेछन् । यसको परिणाम सम्पूर्ण युवावर्गको जिम्मामा देशको राजनीति र कर्मचारीतन्त्र आउँछ । अनि मात्र हामीले देखेको सुन्दर नेपालको सपना, समृद्ध मुलुकको परिकल्पना र स्थायी राजनीतिको उद्देश्य साकार हुनेछ ।