वैशाख ९ गते वामदेवले शक्ति प्रदर्शन गर्ने

वैशाख ९ गते वामदेवले शक्ति प्रदर्शन गर्ने


नेकपा (माले) ले पार्टी स्थापना दिवसको अवसर पारेर राजधानीमा आगामी वैशाख ९ गते एक भव्य घोषणासभाको आयोजना गर्ने भएको छ । काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा आयोजना गर्न लागिएको उक्त घोषणासभालाई पार्टीको केन्द्रीय घोषणासभाको रूप दिइने भएको छ । वैशाख ९ गते अर्थात् २२ अप्रिल लेनिनजयन्तीको समेत अवसर पारेर गर्न लागिएको उक्त घोषणासभामा केही महत्वपूर्ण आयोग र कार्यदलहरूको समेत घोषणा हुने भएको छ । पार्टीको केन्द्रीयस्तरले जानकारी गराएअनुसार मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा मृत्यु भएको सम्बन्धमा दासढुङ्गा आयोग सोही अवसरमा गठन गरिनेछ ।

साथै पूर्वन्यायाधीशको संयोजकत्वमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति जाँच आयोगको गठन गरी कार्यदलको घोषणासमेत गरिनेछ । सांसद र सरकारमा जानेहरूका निम्ति मासिक खर्च निश्चित गर्न कार्यदलको घोषणा पनि सोही अवसरमा हुनेछ । राष्ट्रिय स्वयम्सेवक दल र यसका केन्द्रीय कमान्डरहरूको नाम घोषणा गरी सोही दिन स्वयम्सेवक दलका कार्यकर्ताहरूले टुँडीखेलमा युनिफर्मसहित परेड खेल्ने कार्यक्रम पनि रहेको छ ।

भन्सार सुविधाका गाडीहरू त्यसै दिन केन्द्रीय सदस्यहरूले पार्टीलाई बुझाएको घोषणासमेत गरिने सो सभामा आगामी सङ्घर्षका कार्यक्रमहरूसमेत घोषणा गरिने बताइएको छ ।

(घटना र विचार साप्ताहिक २०५४ चैत १६ गते बुधबार)