काङ्गे्रसजन : आफ्नै नेतासँग होसियार !

काङ्गे्रसजन : आफ्नै नेतासँग होसियार !


special-articleकृष्णप्रसाद सिटौला लेख नै लेखेर प्रशंसा या आलोचना गर्नुपर्ने तहका नेतामा पर्नुहुन्न, नयाँ संविधान तर्जुमा गर्ने क्रममा मस्यौदा समितिको सभापतिका हैसियतले उहाँ जे–जस्ता भूमिका निर्वाह गर्दै हुनुहुुन्छ, त्यही भूमिकाले कलम चलाउन बाध्य तुल्याएको छ । ०४८ मा झापाको कलवलगुडीमा काङ्गे्रसको आठौँ महाधिवेशन आयोजना हुँदा सिटौला झापा काङ्गे्रसको सभापति हुनुहुन्थ्यो र आयोजक जिल्लाको सभापतिको हैसियतमा मञ्चमा उभिएर उहाँले बोल्न पाउनु स्वाभाविक थियो, पहिलोपटक उहाँलाई त्यही मञ्चमा उभिएका बेला देखिएको हो । रामै्र वक्तव्य दिएकोले झापाले रामै्र मानिसलाई पार्टी सभापति बनाएको रहेछ भन्ने ठानियो, अनुहारको संरचना चितुवाको जस्तो चङ्ख नभई लोखर्केसँग मिल्दोजुल्दो भएकोले टाढाबाट देख्नेहरूले उहाँलाई सोझो देखे । ०६३ को परिवर्तन अघिसम्म कृष्णप्रसाद सिटौलाजीलाई राष्ट्रियस्तरको व्यक्तिको हैसियतमा हेरिँदैनथ्यो । नेताका रूपमा स्थापित हुँदै गरेका मानिसको आफ्नै दृष्टिकोण, विचार र अडान रहने भएकोले हुनुपर्छ– गिरिजाप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय सम्पर्कमा रहेर काम गर्ने र हिंसात्मक युद्धरत माओवादीसँग निरन्तर सम्पर्क रही सङ्घर्षको योजना तथा कार्यक्रम बनाउने प्रयोजनका लागि सिटौलालाई प्रयोग/उपयोग गर्नु उचित ठाने । आफूसँगै काँध जोडेर हिँड्न खोजेका या हिँडेका मानिसभन्दा तल्लो तहका मानिसलाई जिम्मेवारी दियो भने त्यस्ता मानिसले इमानदारीपूर्वक तोकिएको कार्य सम्पादन गर्न सक्छन् भन्ने विश्वास कोइरालामा हुँदो हो । ‘सु’पुत्री सुजातालाई पार्टीको मूल नेतृत्वमा स्थापित गर्न पनि आफूपछिका पुराना कुनै नेताबाट सहयोग हुन नसक्ने बुझेका गिरिजाप्रसाद ०६३ को आन्दोलनमार्फत नयाँ नेताहरू जन्माउन चाहन्थे । त्यसैले पहिले नै पार्टीमा स्थापित भइसकेका नेताहरू कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, तारानाथ रानाभाट, डा. रामशरण महत या गोविन्दराज जोशी आदिको विकल्प तयार गर्न गिरिजाप्रसादले नियोजित रूपमै सिटौलालाई विशेष भूमिका दिएका थिए । ०६३ को परिवर्तनपश्चात् राजनीतिक जिम्मेवारीसहित गृहमन्त्रीको कार्यभार सिटौलालाई दिनुले पनि गिरिजा नयाँ परिवेशमा नयाँ पात्रलाई साथमा लिएर नयाँ खेल खेल्न र नयाँ परिणाम हासिल गर्न चाहन्छन् भन्ने बुझाउँथ्यो ।
बहुलवादमा आधारित संसदीय प्रजातन्त्रका विरुद्ध हिंसात्मक सङ्घर्ष गरिरहेका माओवादीसँग ‘डिल’ गर्ने जिम्मेवारी कुनै स्थापित नेताहरूलाई दिएको भए संवाद र सम्झौताको प्रक्रिया त्यति सहजै अघि बढ्न सम्भव थिएन । तर, कृष्ण सिटौला गिरिजाप्रसादका हरेक आदेशको पालना गर्दागर्दै माओवादीजस्तै देखिन थाल्नुभएको थियो । कोइरालाका हरेक आदेश जस्ताको त्यस्तै पालना नगर्दा आफूलाई भूमिकामुक्त गराइन सक्छ भन्ने त्रासमा रहनुभएका सिटौला कोइरालाप्रति पूर्ण वफादार देखिनुहुन्थ्यो । गृहमन्त्रीको हैसियतमा रहेका व्यक्ति राज्यविरुद्ध भएको विद्रोहका नाइकेहरूको ‘स्कर्टिङ’ गर्नसमेत सङ्कोच नमान्नुले सिटौला गिरिजाप्रसादप्रति त्यसताक कति इमानदार हुनुहुन्थ्यो भन्ने स्पष्ट गर्दछ । बीपी विचारलाई परित्याग गरी पार्टी र देशलाई माओवादीको विचार–मार्गमा पु-याउन सर्वाधिक महŒवपूर्ण भूमिका निर्वाह गर्ने गिरिजाप्रसाद प्रजातान्त्रिक आन्दोलनका महानायक बनिरहँदा गिरिजाका आदेश पालक कृष्ण सिटौलाचाहिँ काङ्गे्रसभित्र माओवादीको हितैषीका रूपमा चिनिँदै थिए । त्यसताक माओवादीलाई धेरै ‘स्पेस’ दिनुको परिणाम देश, प्रजातन्त्र र काङ्गे्रसलाई प्राप्त भइसकेको छ । रोगले गलेका, बुढ्यौलीको थिचोमिचोमा परेका र विचारभन्दा बदलाको भावनाबाट ग्रसित गिरिजाप्रसादलाई गलत कदम नचाल्न सुझाव दिने सामथ्र्य सायद त्यसबेला सिटौलामा थिएन । गिरिजाप्रसाद आफँै माओवादी त बनेनन्, तर माओवादीको बुई चढेर ‘सम्राट’ बन्ने सपना भने उनले अवश्य देखेका हुन् । समग्रमा गिरिजाप्रसाद आत्मकेन्द्रित राजनीति गर्दै थिए, कृष्णप्रसाद सिटौलाले गिरिजाको इच्छापूर्तिमा आफ्नो भविष्य देख्नुभयो र हरतरहले गिरिजालाई खुसी तुल्याउने कर्ममा लागिरहनुभयो । त्यति गर्दागर्दै पनि प्रक्रियाप्रति विमति जनाउन आफूसमक्ष आएका नेता–कार्यकर्तासँग कोइराला भन्ने गर्थे, ‘सिटौलाहरू मेरो कुरा लगेर प्रचण्डलाई लगाउँछन् । म अस्ताउँदो सूर्य, उनीहरू उदाउँदो, त्यसैले सिटौलाहरू प्रचण्डलाई खुसी तुल्याएर आफ्नो भविष्य सुरक्षित बनाउन चाहन्छन् ।’ यसरी गिरिजाप्रसादले गलत कदम र कामको दोषको भारी सिटौलाहरूलाई बोकाउँदै थिए । अहिलेसम्म बाँचेका भए सिटौलालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्न पनि गिरिजाप्रसाद अग्रसर हुनसक्थे । मानिसलाई प्रयोग–उपयोग गर्ने मामिलामा गिरिजाप्रसाद सर्वाधिक अग्रणी मानिन्छन् । सिटौलाको भाग्यवश गिरिजाप्रसादले अलिक चाँडै देहत्याग गरे र अहिले सुशील कोइरालालाई ‘बेवकुफ’ बनाउने अवसर उहाँलाई उपलब्ध भएको छ । हुन त सुशील कोइराला कसैले ‘बेवकुफ’ बनाइरहनुपर्ने कोटिका व्यक्तिमा पर्नुहुन्न, तथापि सिटौलाको भूमिकाले उहाँलाई ‘बेवकुफ’को कोटिमा रहिरहन थप योगदान पु-याएको छ । गिरिजाप्रसाद सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहँदा माओवादीलाई कृत्रिम ढङ्गले संसद्को दोस्रो ठूलो शक्तिका रूपमा स्थापित गराउनु, तिनका हरेक इच्छा पूर्ति गराउने क्रममा काङ्गे्रसको विचार, दर्शन, नीति, सिद्धान्त र कार्यक्रमलाई समेत भुलेर व्यवहार गर्नु तथा एकप्रकारले माओवादीलाई पुलपुल्याइनु उचित होइन भन्ने आमकाङ्गे्रसजनको धारणा थियो, सिटौलाले त्यसको कुनै पर्वाह गर्नुभएन । माओवादी र गिरिजासँगको सान्निध्यले उहाँलाई गृहमन्त्रीजस्तो महŒवपूर्ण ओहोदामा पु-याइदियो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि माओवादी र मधेसकेन्द्रित समूहहरूले आफ्नो औकात देखे । एमालेले काङ्गे्रससँग टक्कर लिनसक्ने हैसियत पुष्टि ग-यो । वैचारिक दृष्टिले एमाओवादी काङ्गे्रससँग टाढा भए पनि प्रतिस्पर्धात्मक राजनीतिमा एमालेसँगको दूरी ज्यादा हुने र हुनुपर्ने ठहर आमकाङ्गे्रसजनले गरेका थिए । त्यसैले अधिकांश नेता र कार्यकर्ता जसले सुशीलसँग भेट गर्थे तिनले एमालेबाहेकलाई लिएर सरकार गठन गर्नु काङ्गे्रसका निमित उपयुक्त हुने सुझाव दिएका थिए । हिजो एमाओवादीसँग टाढा बस्नुपर्ने बेलामा नजिक रहेर काङ्गे्रस र काङ्गे्रसको विचार–मान्यतालाई ध्वस्त बनाउन आदेशपालककै भए पनि प्रमुख भूमिका निर्वाह गर्नुहुने सिटौला एमालेसँग दूरी बनाउँदा काङ्गे्रसलाई लाभ पुग्ने अवस्था आएपछि एमालेसँगै गठबन्धनका पक्षमा उभिनुभयो । एमालेसँग मिलेर सरकार बनाउँदा मात्र संविधान जारी गर्न सकिने तर्कजालमा सुशील कोइरालालाई पारेर सिटौलाले फेरि पनि काङ्गे्रसजनको भावना प्रतिकूल काम गर्नुभएको हो । यतिबेला बलजफ्ती संविधान जारी गर्न–गराउन दृश्य–अदृश्य शक्तिकेन्द्रहरूले गरेको प्रयासमा पनि काङ्गे्रसपट्टिबाट सिटौला नै अगुवा देखिनुभएको छ । संविधान स्थिरता, शान्ति, समृद्धि र कानुनी राजका निम्ति आवश्यक दस्तावेज हो । तर, अहिले बलजफ्ती जस्तो प्रकारको संविधान जसरी जारी गर्न–गराउन खोजिएको छ, यसले शान्ति, स्थिरता र समृद्धिको सट्टा तनाव, विवाद, द्वन्द्व र गृहयुद्धसम्म निम्त्याउने खतरा देखिँदै छ । जनता मारेर जनताको संविधान आउन सक्दैन र त्यस्तो संविधान दिगो हुँदैन भन्ने आमजनता तथा काङ्गे्रस कार्यकर्ता र समर्थकहरूको पनि बुझाइ छ । जबर्जस्ती संविधान जारी गरिए राजनीतिक रूपमा सबैभन्दा ठूलो क्षति काङ्गे्रसले नै व्यहोर्नुपर्ने हुन्छ र यस कुरालाई लिएर काङ्गे्रसभित्र ठूलै चिन्ता प्रकट हुन पनि थालेको छ । तर, महामन्त्रीको हैसियतमा रहनुभएका कृष्ण सिटौला ‘देश जल्छ जलिरहोस्, रगत बग्छ बगिरहोस् तर संविधानचाहिँ जारी गरेरै छोडिन्छ’ भन्ने तहको हठी भूमिका निर्वाह गर्दै हुनुहुन्छ । जतिबेला जुन कार्यनीति अवलम्बन गर्दा काङ्गे्रस र प्रजातन्त्रलाई हानि–नोक्सानी पुग्छ त्यही नीति अख्तियार गरेर सिटौलाले रोचक तर दुःखद् कीर्तिमान राख्नुभएको छ । काङ्गे्रसको उच्च तहमा पुग्न काङ्गे्रस सिध्याउने सोच बोक्नुपर्ने हो या पुगेपछि माकुराका बच्चाले माउ सिध्याएझैँ काङ्गे्रस सिध्याउने भूमिका निर्वाह गर्नुपर्ने हो यसको समीक्षा पनि हुँदै गर्ला । तर, कृष्णप्रसाद सिटौला जतिबेला जस्तो नीति लिँदा काङ्गे्रसलाई क्षति पुग्छ किन त्यही नीति लिने गर्छन् त्यसप्रति आमकाङ्गे्रसजनले खोजीनिती गर्न विलम्व गर्नै नहुने भएको छ ।