विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप वृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलव ५ प्रतिशत अर्थात ३४ सेन्टले वृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो ।
अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआई)मा शून्य दशमलव ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरू मुख्य तेल उत्पादक राष्ट्रहरूले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ । यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् ।
अमेरिकी उपअर्थमन्त्री सिगेल माल्डेल्करले सिंगापुरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने बताए । अमेरिकी अधिकारी मलेसिया, सिंगापुर र अरू मुलुक गैरकानुनी इरानी तेलको कारोबार तथा प्रतिबन्ध छल्न इरानीले अपनाउन सक्ने विधिबारे पूर्ण जानकार रहेको मन्त्री माल्डेल्करले बताए । अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीलाई भेनेजुएलासँग सम्झौता कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ ।
ओपेक र यसका गठबन्धन मुलुक जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रूपमा वृद्धि हुन थालेको छ । अमेरिकी तेल उत्पादन पनि मध्यफेब्रुवरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ ।
प्रतिक्रिया