नेपाली–नेपाली लडाएर कसलाई सञ्चो ? – सरोजबन्धु मगराती

नेपाली–नेपाली लडाएर कसलाई सञ्चो ? – सरोजबन्धु मगराती


bicharनेपाल भयावह र क्षतविक्षत अवस्थामा छ । पछिल्लो लगभग आधा दशकको अन्तरालमा कहिले प्राकृतिक प्रकोपले त कहिले राजनीतिक प्रकोपले नेपाललाई तहसनहस बनाउने परिपाटी नै बस्यो । अझ ०७२ सालको प्रारम्भदेखि नै यस्ता दुःखद् घटनाहरू एकपछि अर्को गरेर घटिरहे । प्रलयकारी भूकम्पका तीनवटा महाआक्रमणबाट बचेका मानिसलाई आफ्नै देशका ‘महानेता’हरूले भाइले भाइलाई मार्न लगाएर महाविनाश निम्त्याउने प्रयास गरे, गरिरहेका छन् ।
नेपाल सार्वभौमसत्तासम्पन्न देश भनेर गर्व गरिन्थ्यो । म महान् वीर नेपाली हुँ भनेर चिनाइन्थ्यो । हामी सुन्दर शान्त देशका शान्तिप्रेमी नेपाली भनेर संसारभर चिनाइन्थ्यो । यिनै हाम्रा गौरवका गाथाहरूलाई मेटाउने गरी आफ्नै देशको ढुकुटीका पैसा तलब खाँदै सडक तताएर, भाला, खुँडा, बन्चरो तथा गोली र बारुदले देशलाई तहसनहस पार्ने केही नेताहरू सङ्घीयताको नाममा भाइभाइको रगत बगाएर खुसी भएका छन् । कसैले कसैलाई मार्दा कोही पनि बहादुरी बन्दैन, तर त्यसले त शत्रु कमाउँछ । राजनीति गर्नेहरू रगत बगाएको मन पराउँछन्, तर आफ्नो रगत बगाउन डराउँछन् । यही हविगत नेपालका तराई क्षेत्रमा भयो । सङ्घीयता चाहिन्छ होला, तर सङ्घीयताको अर्थ नबुझेर हिंसात्मक आन्दोलन गर्नु उचित होइन । धर्मनिरपेक्षता के हो भनेर नबुझी गलत बयान गर्नु तथा अन्य धर्मकालाई बिनाकारण दोष लगाएर आँखाको तारो बनाउनु पनि उचित होइन ।
पार्टी भनेको निर्जीव तत्व भएकाले पार्टीलाई नभई व्यक्तिलाई नै दोष लगाउनु उचित होला । कतिपय मधेसवादी नेताहरूले नेपालको तराईमा भएका विभिन्न जातिलाई खेदेर, मारेर तथा जनताको सुरक्षा गर्नका लागि खटिएका सुरक्षाकर्मीमाथि दानवीय व्यवहार गराई देशमा रक्तपात मच्चाउने र तथा जनतालाई सडकमा लड्न र मर्न लगाएर आपूm शासन–सत्तामा रही रजाइँ गर्ने सोच नाङ्गो रूपमा दर्शाए । यी नेताहरूले खोइ त राजनीति के बुझेका रहेछन् ? यसमा निश्चित रूपमा सबै नेपालीको आँकलन छ कि यसमा पैसाको चलखेल भएको छ । पक्कै पनि बाह्य शक्तिको यसमा नाजायज चासो र चलखेल छ ।
आफ्नै देशभित्रको सीमाङ्कनको विरुद्धमा यति ठूलो हिंसा भड्काउनेहरूले आफ्नो देशलाई जोगाउनका लागि कुनै कदम चाल्न सक्छन् कि सक्दैनन् ? हाम्रो देश टुक्रिएर हाम्रै देशभित्र रहने हो, यो त अरू देशको हुने होइन । कुनै भूभाग कुनै एक प्रदेशमा समेटियो र कुनै विभाजित भयो भने पनि के यो हाम्रो देशभित्रै रहेको होइन र ? देश अखण्ड हुनुपर्छ, यदि फलानो जिल्ला, अञ्चल आदि इत्यादि अखण्ड हुनुपर्छ भनेर यति ठूलो दङ्गा भड्काउनुको सट्टा बरु हामीलाई सङ्घीयता चाहिँदैन भने पनि त हुन्थ्यो नि । सङ्घीयता चाहिने हाम्रो जिल्ला, अञ्चल तथा क्षेत्र विभाजित भयो भनेर लडाइँ गर्नेहरूले बाह्य हस्तक्षेपको विरोध गर्न किन सक्दैन ?
क्रमशः हत्या, हिंसा तथा आतङ्कलाई श्रेय दिएर राजनीतिक दलका नेताहरूले भाइ फुटाउने र सत्ताको वरिपरि आपूm रमाउने नेताहरूको जालमा जनताहरू पर्नुभन्दा पनि आ–आफ्नो धर्म, संस्कृति तथा भाषाको प्रवद्र्धन र संरक्षणमा लागिरहनु असल होला । हुन त तराईबाट ठूलो सङ्ख्यामा पहाडियाहरूलाई मारियो, धपाइयो, खेदियो र धेरैजना घरबारविहीन पनि भएर भाग्नुपरेको छ । आफ्नो देशका मित्रहरूलाई समाजमा बस्न नदिने, हत्या, हिंसा र मारकाट गर्ने कार्यले देशलाई कहिल्यै पनि जोगाउन सक्दैन । हुन त कहीँ नभएको जात्रा हाँडी गाउँमा भएको छ । राजनीतिक नेताहरूको चुट्कीमै देशमा रगतको खोलो बगिरहेको छ । लोकतन्त्र, गणतन्त्र तथा प्रजातन्त्रका अन्य पर्यायवाची नाम खोजेर राखिदिए हुन्छ नेपालको नाम, किनभने लोकतन्त्र, गाणतन्त्र तथा प्रजातन्त्रको गलत प्रयोग गरेर आफ्नो अधिकार उपयोग गर्नका लागि माग राख्नका लागि अरूको अधिकार खोसेर गरिएका बन्द, हडताल तथा चक्काजामको कारण हजारौँ निर्दोष मानिस बेखर्ची, बिचल्ली मात्र भएनन्, उपचारका लागि बिरामीलाई ठीक ठाउँमा पु-याउन नसक्दा बिरामीको अकालमै मृत्युसम्म हुनसक्ने ठूलो सम्भावना छ । अब, गुन्डागर्दी, असुरक्षा, भ्रष्टाचार, अनैतिकताले यो देशलाई यसरी अत्याचार गर्ने हो भने यही देशमा बसेर राजनीतिक दलहरूले किन राजनीति गर्ने ? जनतालाई मारेर यदि आपूm बाँच्ने हो भने नेताहरूले अब भविष्य गुम्यो भनेर सोचे भएन र ?
देशका कुनै पनि अप्ठ्यारो अवस्थामा जीवनलाई खतरामा राखेर जनताकै लागि मरिहत्ते गर्ने नेपाल प्रहरीमाथिको साङ्घातिक आक्रमण र भाला, बन्चरो प्रहार गरी निर्मम हत्था गरेको तथा जिउँदै पेट्रोल खन्याएर आगो लगाई मारेको घटना अनि बिचरा नेपाल प्रहरीको त्यति सानो र अबोध नानीलाई गोली हानी मार्ने कार्य सम्झिँदा, भर्खरै गएको महाभूकम्पको बेला नेपाल प्रहरीले दिएको जीवन बलिदानी सेवा तथा धेरैपल्ट खोलानाला, बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा दिएको त्यागलाई बैगुनी मानिस ले चाँडै बिर्सनेरहेछन् भन्ने लाग्छ । जुनसुकै बेलामा सुरक्षाका लागि, सेवाका लागि अनि मानवअधिकारका लागि परिचालित हुने नेपाल प्रहरी दङ्गा दबाउन पनि प्रयोग हुन्छन् । यही क्रममा गोली लागेर मध्यपश्चिमको सुर्खेतमा तीनजना नेताको होइन, तर सर्वसाधारणको मृत्यु भयो, रौतहटको गौरमा एकजना सर्वसाधारणको मृत्यु भयो भने सप्तरीमा पनि एकजनाको मृत्यु भयो । यो पनि नेताको होइन, तर सर्वसाधारणको मृत्यु भएको हो । किनभने नेताहरू त पछाडि बस्छन्, कि त घरमा नै बस्छन्, आन्दोलनमा जाँदैनन् । के कुनै नेतालाई प्रहरीको गोली लागेको रेकर्ड हामीलाई थाहा छ ? यो विभिन्न पार्टीका नेताहरूको फोहोरी खेल मात्र हो, जनताको रगतको खोलो बगाएर नेताहरूले आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् ।
तर, टीकापुर घटनापछि मधेसवादी नेताहरूको अभिव्यक्ति सुन्दा सबै नेपालीले थाहा पाएका छन्, कि उनीहरू के चाहन्छन् ? आपूmसम्बद्ध मानिसले अरूलाई यसरी निर्मम प्रकारले हत्या गरेपछि यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ भन्नु जायज हो त ? मानिसलाई आन्दोलनमा मारिनेलाई यति लाख दिन्छु भनेर मानिसलाई उत्तेजित तुल्याउँदै मानवहत्यामा संलग्न गराउने अनि सरकारलाई आरोप लगाउँदै ढाडिने रितले देश नाङ्गियो, बाङ्गियो अनि बिग्रियो । नेताहरू यस्तो हत्यालाई रोक्दैनन्, मानवहत्या रोक्नका लागि पहल गर्नुभन्दा पनि अझ उल्टै आतङ्कपूर्ण गतिविधि बढाउन लज्जास्पद अभिव्यक्तिहरू दिन्छन् । नेपालमा गणतन्त्रका लागि गरिएको आन्दोलन दबाउन सयौँ मानिस को निर्मम हत्या गर्न पछि नहट्ने नेताहरू मानव र पशुको अर्थ पनि नबुझ्ने धरातलमा ओर्लिसकेका अनुभूति हुन्छ । यस्ता नेताहरूलाई भोट दिएर सत्तामा पु-याउनु नै नेपालका लागि हामीले दुर्गति निम्त्याउनु हो भनेर अहिले अधिकांश नेपाली पछुताइरहेका छन् ।
यसरी नेपाललाई जोगाउन र सार्वभौम देश बनाउनका लागि तथा जनतालाई सार्वभौम बनाएर नेपाली हौँ भनी गर्व गर्न–गराउनका लागि आफ्नै देशभित्रको सीमा तथा प्रदेशको विरुद्धमा कदम उचाल्नु सरासर मूर्खता हो, गल्ती हो । हामी नेपाली हौँ भनेर बुझ्न सकिन्छ भने ६, ७ या ८ जतिवटा प्रदेश बनाए पनि आखिरमा राष्ट्र नेपाल नै हो । प्रदेश फरक भए पनि यहाँ त बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक र बहुसांस्कृतिक राज्य बनाउने पहल सबैले गर्ने हो भने कसैको डर, त्रास र कुनै पनि नकारात्मक कुरा यी प्रदेशको नाममा आउन सक्दैनथ्यो । स्मरण रहोस्, प्रदेश, जाति, भाषा, धर्म तथा संस्कृति र पहिचान जाति धेरै भए तापनि हाम्रो देश एउटै हो । सुन्दर, शान्त र न्यायिक देश बनाउन हामी सबैले पहल गर्नुपर्छ । आफ्नो अधिकार खोज्नलाई अरूको अधिकार खोस्नु कति मानवीय कार्य हो ? अब फेरि यस्तो नरहत्या, विध्वंस र अन्याय यस देशले नभोगोस्, यी नकारात्मक कुराले जनता र देशको भलाई कदापि गर्दैन ।
[email protected]