‘ब्रेक्जीट’बारे बेलायती संसदमा नयाँ सहमतिको खोजी

‘ब्रेक्जीट’बारे बेलायती संसदमा नयाँ सहमतिको खोजी


युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)का विषयमा बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले नयाँ सहमतिको खोजीका लागि पुनः छलफल गर्दैछन् ।

ब्रेक्जीटका बारेमा बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा ल्याइएका प्रस्ताव बेलायतको संसदले यसअघि दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनावको अवस्था सिर्जना भएको छ ।

युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरु वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा ब्रेक्जीटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जीट प्रक्रियामा सांसदहरुबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन् ।

प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियनसँग गत वर्ष नोभेम्बरमा गरेको सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली यूनियनबाट बाहिरिने सम्झौता भएको थियो ।

युरोपेली यूनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो । प्रधानमन्त्री मेद्वारा अघिसारिएको एक अर्को प्रस्तावमा संसदले ब्रेक्जीटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताएकी छन् । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् ।

यस असहमतिका बीच सरकारले अब युरोपेली यूनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नुपर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली यूनियनबाट बेलायत बिदा हुनुपर्ने छ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुने एएफपीको आँकलन छ ।

तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ ।

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली यूनियनको धैर्यता टुट्दै गएको बताए ।