न्यायपरिषद्को मंगलबार (चैत १९ गते) बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । यसरी सिफारिस गरिएकाहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ताहरू हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा तथा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा रहेका छन् । न्यायपरिषद्को यस्तो सिफारिसको न्यायिक क्षेत्रमा सर्वत्र प्रशंसा भएको छ । सिफारिसमा परेका व्यक्तिहरू स्वच्छ छविका र योग्य भएकाले न्यायपरिषद् निर्णयको प्रशंसा भएको हो ।
प्रधानन्यायाधीश नियुक्ति भएयता चोलेन्द्रशमशेरले न्यायिक क्षेत्रमा सुधारको विशेष प्रयास गर्दै आएका छन् ।
न्यायपरिषद्का सदस्य पदम वैदिक पनि सर्वोच्चको न्यायाधीश बन्न इच्छुक थिए, तर न्यायाधीश नियुुक्तिको सिफारिस गर्ने व्यक्तिलाई नै न्यायाधीश बनाउने परम्परा बसाउन नहुने तर्कका आधारमा वैदिकलाई पन्छाएको बताइन्छ । त्यसो त वैदिकबाट अनियमित व्यवहार भएको सूचनाले पनि उनको बाटो छेकेको सम्बद्ध सूत्रको दाबी छ । यसरी विवादरहित ढङ्गले न्यायपरिषद्बाट नियुक्तिको सिफारिस गराउनमा चोलेन्द्रशमशेर राणाको मुख्य योगदान रहेको बुझिएको छ । ज्ञातव्य छ, प्रधानन्यायाधीश नियुक्ति भएयता चोलेन्द्रशमशेरले न्यायिक क्षेत्रमा सुधारको विशेष प्रयास गर्दै आएका छन् ।
मंगलबार नै उच्च अदालतमा नियुक्तिका लागि सत्रजनाको नाम सिफारिस गर्ने निर्णय न्यायपरिषद्ले गरेको छ । सिफारिस गरिएकाहरूमा उच्च अदालत दिपालयका लागि अधिवक्ता नवराज थपलिया, उच्च अदालत तुल्सीपुरका निम्ति अधिवक्ता विमल सुवेदी, उच्च अदालत पोखराका लागि अधिवक्ता डालकुमार खड्का, जनकपुरका लागि अधिवक्ता उज्ज्वल शुक्ल, विराटनगरका निम्ति अधिवक्ता रेणुका शाह तथा पाटनका लागि अधिवक्ताहरू जगतबहादुर थापा र सरलाकुमारी पाण्डे रहेका छन् ।
त्यस्तै, जिल्ला न्यायाधीशहरू नागेन्द्रलाल कर्ण, बालमुकुन्द दवाडी, महम्मद जुनेद आजाद, कुलप्रसाद शर्मा, लेखनाथ ढकाल र राजेशकुमार काफ्ले तथा किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल र नीलम पौडेल पनि उच्च अदालतको न्यायाधीशको लागि सिफारिसमा परेका छन् । यसअघि सुशीला कार्की प्रधानन्यायाधीश रहँदा उनको अग्रसरतामा ८० न्यायाधीश नियुक्ति हुँदा व्यापक विवाद उत्पन्न भएको थियो । तर, यसपटक भने सिफारिसको सबैबाट प्रशंसा भएको छ ।
प्रतिक्रिया