‘आठौँ’को मिति सर्नुमा मन्त्री विश्वकर्मा कारक

‘आठौँ’को मिति सर्नुमा मन्त्री विश्वकर्मा कारक


  • श्रीविक्रम भण्डारी

लामो समयको रस्साकस्सीपछि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति घोषणा गरिएको छ । प्रदेश ५ का विभिन्न स्थानमा आयोजना हुन गइरहेको आठौँ राष्ट्रियको मिति पटकपटक तोकिए पनि अन्तिम समयमा आएर मितिको सारणी गर्दै आएको थियो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले असामन्जस्यता कारण आठौँको मिति पटकपटक सारणी हुँदै आएको थियो । आठौँप्रति राखेप र मन्त्रालयको हेर्ने दृष्टिमा भिन्नता भएकै कारण मङ्सिरमा हुनुपर्ने आठौँ माघ, फागुन, चैत हुँदै वैशाखमा पुगेको हो । राखेप दुई वर्षकै अवधिमा राष्ट्रियको आयोजना गर्न चाहन्थ्यो भने मन्त्रालय सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भएपछि । यही कुरामा खेलकुद मन्त्रालय र राखेपबीच विभेद थियो । राखेप र मन्त्रालयको यही विभेदका कारण आठौँ राष्ट्रियको आयोजनामा समेत प्रश्नचिह्न खडा भएको थियो । तर, राष्ट्रिय प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने अडानमा अडिक रहेको राखेप अहिले आफ्नो उद्देश्यमा सफल बन्दै दुई वर्षमै निरन्तरता दिन सफल भएको छ । यसभन्दा अघिका पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा सञ्चालन भए पनि त्यसपछिका राष्ट्रिय प्रतियोगिता तोकिएको समयमा सञ्चालन हुन सकेका थिएनन् ।

अहिलेसम्म आयोजना भएका राष्ट्रिय खेलकुदको इतिहास पल्टाउँदा कुनै पनि संस्करण पूर्ण रूपमा पूर्वाधार निर्माण भएर भएको देखिँदैन र पाइँदैन । तर, यसपटक मन्त्रालयले पूर्ण पूर्वाधार निर्माण बिना राष्ट्रिय प्रतियोगिता नगर्ने कुरामा अडान लियो । खेलकुद मन्त्रालयको अडान आफैँमा राम्रो थियो, त्यो हुनु पनि पर्छ । २१औँ शताब्दीमा परम्परावादी सोचको अन्त्यका लागि यो आँटिलो शुभारम्भ पनि थियो । आखिर भयो पनि त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँको मिति तोक्दै आठौँमा ज्यान भर्दै गए, मन्त्रालयले त्यसमा होस्टेमा हैँसे गर्दै गयो । जब आठौँको भीआईपी प्यारापिटको सामग्री नेपाल भित्रियो र नेपालगञ्ज रंगशालामा दिनरात गरी जडान हुन थाले तब राखेपको बोर्ड बैठक बस्यो र आठौँको आधिकारिक मितिको घोषणा गऱ्यो । राखेप बोर्डको उक्त निर्णय आठौँको लागि सुखद समाचार पनि बन्यो । यो सुखद समाचारसँगै खेलाडी, प्रशिक्षक र पदाधिकारी मात्र नभई प्रदेश ५ मा पनि खुसियाली छाएको छ । राज्यले अहिलेसम्म आठौँको भौतिक पूर्वाधारको लागि गरेको ७५ करोड रुपैयाँको पनि सदुपयोग भएको छ ।

आठौँको मिति सर्ने थिएन, तर अहिले बोर्ड बैठकको निर्णयका कारण वैशाख ५ मा सरेको छ । यदि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अमेरिका भ्रमणको कार्यक्रम नपरेको भए चैत २७ गते नै आठौँको आयोजना हुन्थ्यो । मन्त्री विश्वकर्मा यही चैत २३ गते युवासम्बन्धी कार्यक्रममा सहभागिता जनाउन अमेरिका जाँदै छन् । यदि चैत २७ गते आठौँको उद्घाटन गरे मन्त्री विश्वकर्मा अनुपस्थित रहने हुँदा उनको भ्रमणलाई दृष्टिगत गर्दै उनी फर्किएपछि मात्रै आठौँको उद्घाटन कार्यक्रम राख्ने तय भएको मन्त्रालय स्रोतबाट थाहा भएको छ । आफ्नो कार्यकालमा आयोजना हुन गइरहेको आठौँ राष्ट्रिय प्रतियोगितामा मन्त्री विश्वकर्माले आफ्नो उपस्थितिको चाहना राखेपछि बोर्ड बैठकमा उपस्थित अन्य पदाधिकारीहरूले त्यसमा सहमति जनाएका थिए । सोहीअनुरूप राखेपको १११औँ बोर्ड बैठकले वैशाख ५ गतेदेखि ११ गतेसम्म आठौँ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको थियो । अब नेपालगञ्जको उखरमाउलो गर्मीबीच आठौँ राष्ट्रियको आयोजना हुने कुरामा लालमोहर लागेको छ । जसको राष्ट्रिय खेलकुद परिषद्ले चैत १६ गते शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ । साथै आठौँ राष्ट्रियलाई उपलब्धिमूलक रूपमा सफल पार्न सम्पूर्ण निकायलाई तयारीमा जुट्न आह्वान पनि गरेको छ ।

लामो समयपछि राष्ट्रिय खेलकुद परिषद्को १११औँ बोर्ड बैठक चैत १५ गते शुक्रबार बसेको थियो । खेलकुदमन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको उक्त बोर्ड वैठकले आठौँ राष्ट्रियको मिति तोक्नुको साथै उक्त प्रतियोगितामा ३५ खेलहरू सहभागी गर्ने निर्णय गरेको थियो । साथै प्रतियोगितामा समावेश कतिपय खेलहरू चैत २७ गतेदेखि सञ्चालन हुने निर्णय गरेको थियो । त्यस्तै आठौँको उद्घाटन र समापन समारोहको आयोजना नेपालगञ्ज रंगशालामा भव्यताका साथ गर्ने निर्णय गरेको छ । त्यस्तै आठौँको आयोजनाको समयमा नेपालगञ्जमा हुने प्रचण्ड गर्मीलाई मध्यनजर गर्दै प्रायजसो सबै खेलका प्रतियोगिता बिहान र बेलुका इन्डोर हलमा आयोजना हुनेछन् भने फुटबल, क्रिकेट र हक्की भने आउटडोरमा । आठौँ राष्ट्रियका खेलहरू बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा आयोजना हुनेछन् ।

प्रतियोगितामा ३५ खेलहरू फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्यान्डबल, बुद्धिचाल, सफ्टटेनिस, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्यास्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्की रहेका छन् । यी खेलहरूमा पाँच हजार २ सय ११ जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३ सय ८६ महिला खेलाडीको सहभागिता रहनेछ । त्यस्तै प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ वटा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी प्रतियोगितामा टोली प्रशिक्षक ६४० र टोली व्यवस्थापक ४६१ को सहभागिता रहनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरी जम्मा एक हजार ३९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियलसमेत गरी १० हजारको सहभागिता रहने राखेपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदकविजेता खेलाडीलाई सातौँ राष्ट्रिय खेलकुदमा रु. १० हजार व्यवस्था गरिएकोमा आठौँ राष्ट्रिय खेलकुदमा यसमा वृद्धि गरी १५ हजार र सामूहिक स्पर्धातर्फ सातौँ राष्ट्रिय खेलकुदमा पाँच हजार व्यवस्था गरिएकोमा आठौँमा त्यो रकम वृद्धि गरी सात हजार पुऱ्याइएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही रु. २५ हजार प्रदान गरिनेछ । त्यस्तै व्यक्तिगत र सामूहिकतर्फ स्वर्ण पदक जित्नेले कुल १ करोड ३२ लाख नगद खर्च हुने राखेपले जनाएको छ ।

आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रसन्नता प्रकट गर्दै यो प्रतियोगिता राष्ट्रिय खेलकुदको इतिहासमै सर्वोत्कृष्ट हुने बताए । प्रतियोगिताको लागि स्थानीय, प्रदेश र केन्द्र सरकार जसरी गम्भीरतासाथ प्रस्तुत भए र सहयोग गरे त्यो आफैँमा उदारणीय बनेको बन्दै उहाँहरूको मिहिनेत र लगानीको प्रतिफल आठौँ राष्ट्रियमा देखिने खुलासा पनि गरे ।