१३औँ साग निर्धारित मितिमै : अध्यक्ष श्रेष्ठ

१३औँ साग निर्धारित मितिमै : अध्यक्ष श्रेष्ठ


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताएका छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग आयोजना गर्न सरकारले प्रतिबद्धता जनाएकाले मिति फेरबदल नहुने स्पष्ट पारे ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा तयारी समिति गठन भई सरकारले साग खेलकुदको लागि तयारी शुरु गरिसकेको भन्दै उनले भने, ‘डिसेम्बरमा गर्ने भनेर सरकारले प्रतिबद्धता जनाएको छ । मन्त्रीको नेतृत्वमा रहेको समिति तयारीमा लागिसकेको छ । अब पनि मिति सर्छ कि भनेर शंका गर्नुपर्ने अवस्था छैन, हामी निर्धारित मितिमै सम्पन्न गर्दछौँ ।’

सन् २०१६ को फेब्रुअरीमा भारतको गुहाटीमा भएको १२औँ सागको अवसरमा १३औँ संस्करण नेपालमा आयोजना गर्ने गरी तत्कालीन खेलकुदमन्त्रीलगायतबाट झण्डा लिएर आएको र २०१८ मा गर्न तयारी अपुग भएकाले दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले सन् २०१९ को अन्तिममा सारेको उनले बताए । अध्यक्ष श्रेष्ठले सागका २७ खेलमध्ये केही खेल पोखरामा खेलाइने उल्लेख गरे ।

भौतिक पूर्वाधारको उपलब्धताको कारणले महिला फुटबल, पुरुष तथा महिला भलिबल, ह्याण्डबल, आर्चरी, प्याराग्लाइडिङ र ट्रायथलनका खेल पोखरामा खेलाइनेबारे छलफल भएको उनले जानकारी दिए ।

सन् १९८४ मा नेपालले नै साग खेलकुदको परिकल्पना गरेर प्रारम्भ गरेकाले पनि साग नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ छ ।